दशैमा टीका लगाउने क्रममा नयाँ नोट दिने प्रचलन पुरानो हो । नोट मैलो र फोहोर हुने नै मूख्य सिजन नै दशैं हो । दशैंको मुखमा म्याग्दीका बैंक तथा वित्तिय संस्थामा नयाँ नोट लिनेको भिड नै लागेको छ । हरेक बर्ष म्याग्दीमा दशैंमा सर्वसाधारणलाई वितरण गर्ने गरी नयाँ नोट भित्रिने गरेको छ। म्याग्दीका निजी तथा सरकारी वित्तिय संस्थाले प्रति ब्यक्ति १८ हजारको दरले वितरण गर्ने गरेपनि सर्वसाधारणले प्रयाप्त नपाउने गरेको गुनासो गर्छन् । चाडपर्वमा वित्तिय संस्थाबाट लगेको नयाँ नोट चाडपर्वपछि वित्तिय संस्थामा जम्मा हुदाँ धेरैमा रातो रंग पोतिएको हुन्छ ।
नयाँ नोट सटही गर्ने बेलामा वित्तिय संस्थाका प्रतिनिधिले ग्राहकलाई सचेत बनाउने गरेका छन् । गरिमा विकास बैंक बेनी शाखाका प्रबन्धक नारायणहरी शर्माले टिका लगाउँदा र पुजाआजा गर्दा रंग लाग्ने, पानी तथा दुधले नोट बिग्रने तथा च्यातिएको अवस्थामा समेत नोट बैंकसम्म आउने गरेको बताउनुभयो । ’एकै महिनामा कामै नलाग्ने अवस्थामा पनि आउँछ, हामीले काउन्टरबाटै सुरक्षित प्रयोग गर्न अनुरोध गर्ने गरेका छौ‘ प्रबन्धक शर्माले बेनीअनलाइनलाई भन्नुभयो ।
दशैँ–तिहारका बेला नयाँ नोटहरु निकै प्रयोग हुने गरेकोमा नोटलाई कच्याककुच्चुक तथा पोको पार्दा आयु घट्ने भएकाले जतन गरेर प्रयोग गर्ने,जमिनमा नफाल्ने,पूजा गर्दा मैलो हातले नछुने, अबिर, अक्षता, माटो, तथा पानीबाट बचाउने लगायतका उपायमा ध्यान दिनुपर्ने बैंकर्स संघ म्याग्दीका अध्यक्ष नारायण सापकोटाले बताउनुभयो । नेपाल सरकारले अरवौंको लगानी गरी छापिएका नोट जारी हुनासाथै काम नलाग्ने बन्न बाट जोगाउन म्याग्दीका वित्तिय संस्थाले नयाँ नोटसँगै सचेतनामुलक जानकारी सहितको पर्चा समेत वितरण गर्ने गरेका छन् ।
‘नोट हाम्रो सम्पत्ति हो, नोट सभ्यताको प्रतिक हो, नोटलाई जतनसाथ प्रयोग गरौँ’ भनेर सूचना सहित नयाँ नोट वितरण गर्ने गरिएको संघका अध्यक्ष सापकोटाको भनाई छ । नोट फोहोर, थोत्रो र मैलो हुने कारण मात्रै राज्यलाई अतिरिक्त ब्ययभार थपिनुका साथै नेपाली अर्थतन्त्रमा नै असर गर्ने जानकारहरु बताउँछन् ।
पछिल्लो समय डिजिटल प्रविधिको प्रयोगलाई प्रोत्साहन गरिएपनि चाडपर्वमा नयाँ नोटलाई नै प्राथमिकता दिने गरिएको छ । टीका लगाउने क्रममा पैसा देखाएर हातबाट हातमै दिने चलनले डिजिटल प्रयोगमा कम चासो हुने गरेको छ। दशैंमा नेपाल बैकमार्फत प्रति सर्वसाधारण नयाँ नोट ५, १०, २०, ५०,५ सय दरका नयाँ सटही सुविधा दिँदै आएको छ । नयाँ नोटको संरक्षण गर्न सके नोटको जतन हुनुका साथै राष्ट्रलाई पर्ने ठूलो आर्थिक भारबाट पनि बचाउन सकिन्छ ।










