६५ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर म्याग्दीको बेनी बजारस्थित नारी जागृती महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले कास्कीको लुम्लेमा २ दिने सहकारी शिक्षा तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ ।

संस्थाका सञ्चालक, लेखा सुपरीवेक्षण समितिका पदाधिकारी तथा सदस्यहरु, उपसमितिका सदस्यहरु र कर्मचारीहरुलाई सहकारी ऐन नियम र व्यवसायका बारेमा जानकारी दिई थप शसक्त बनाउने उद्देश्यका साथ तालिम आयोजना गरिएको संस्थाले जनाएको छ । महिलाहरुलाई आर्थिक तथा सामाजिक रुपमा सक्षम बनाउने, योजना निर्माण गरेर व्यावसायिक तरिकाले अगाडि बढ्नका लागि तालिम सहयोगी भएको संस्थाका अध्यक्ष चिना बानियाँले जानकारी दिनुभयो ।

आवासीय रुपमा सञ्चालन गरिएको तालिममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसीले सहजीकरण गर्नु भएको थियो । तालिममा सहकारीका मूल्य मान्यता, सिद्धान्त, वित्तीय साक्षरता, सञ्चालक र लेखा सुपरीवेक्षण समितिको काम कर्तव्य र अधिकार तथा कर्मचारीको भूमिकाका बारेमा जानकारी गराइएको थियो ।

संस्थाका सल्लाहकार जमुना आचार्यले सहकारी अभियानलाई प्रभावकारी रुपमा अगाडि बढाउनका लागि सञ्चालक र कर्मचारीहरुबीचको प्रभावकारी सहकार्य आवश्यक रहेको बताउनुभयो ।सहकारीका मूल्य मान्यता र आदर्शलाई आत्मसाथ गर्दै रणनीतिक योजना निर्माण गरेर संस्थालाई थप प्रभावकारी रुपमा अगाडि बढाउने प्रतिवद्धता सञ्चालकहरुले गरेका छन् । कार्यक्रम संस्थाका अध्यक्ष चिना बाँनियाको अध्यक्षता, उपाध्यक्ष दिलमाया बिटालुको स्वागत र सचिव दुर्गा केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply