---Advertisement---

डिजिटल ठगी : लोभ, लापरवाही र कमजोर सचेतनाको परिणाम

On: September 5, 2026 10:37 AM
Follow Us:

तुलसी राम आचार्य

डिजिटल प्रविधिको विस्तारसँगै हाम्रो दैनिक जीवन निकै सहज बनेको छ। बैंकिङदेखि किनमेल, सञ्चारदेखि आर्थिक कारोबारसम्म अधिकांश काम घरमै बसेर गर्न सकिने भएको छ। तर प्रविधिको यही सहजतासँगै डिजिटल ठगी र साइबर स्क्यामका घटना पनि तीव्र रूपमा बढिरहेका छन्।

नेपालमा पछिल्लो समय विभिन्न बहाना बनाएर गरिने डिजिटल ठगी, आर्थिक स्क्याम तथा भावनात्मक ठगीका घटना निरन्तर सार्वजनिक भइरहेका छन्। यस्तो अवस्था देख्दा एउटा गम्भीर प्रश्न उठ्छ—के हामी छिट्टै धनी बन्ने लोभमा परिरहेका छौँ, कि हामीमा अझै पर्याप्त वित्तीय तथा डिजिटल साक्षरता विकास हुन सकेको छैन?

सामाजिक सञ्जालमा भाइरल हुने एउटा भनाइ छ—‘मलाई एक हप्तामै लास्टै धनी हुनुपर्नेछ। कसरी हो मलाई थाहा छैन, तर लास्टै धनी हुनुपर्नेछ।’* कतै हामी पनि यही मानसिकताको प्रभावमा परेर छिट्टै पैसा कमाउने आशामा आफ्नो भएको रकमसमेत गुमाइरहेका त छैनौँ?

वास्तवमा हामीमध्ये धेरैजना वित्तीय रूपमा केही हदसम्म साक्षर छौँ। तर लोभ, हतार, भावनात्मक कमजोरी र सामान्य सावधानी नअपनाउँदा शिक्षित तथा वित्तीय क्षेत्रमा काम गर्ने व्यक्तिसमेत ठगीमा पर्ने गरेका छन्। यसले के देखाउँछ भने डिजिटल ठगीबाट जोगिन केवल ज्ञान भएर मात्र पुग्दैन, त्यसलाई व्यवहारमा उतार्न पनि आवश्यक छ।

कसरी सुरु हुन्छ डिजिटल ठगी ?

ठगहरूले सामाजिक सञ्जाललाई आफ्नो मुख्य माध्यम बनाएका छन्। फेसबुक, ह्वाट्सएप, म्यासेन्जर, टिकटक लगायतका माध्यमबाट अपरिचित व्यक्तिसँग सम्पर्क स्थापित गर्ने, भावनात्मक रूपमा नजिक हुने र विश्वास जित्ने कामबाट ठगीको सुरुवात हुने गरेको पाइन्छ।

कहिले ठूलो रकमको चिठ्ठा परेको भन्दै, कहिले विदेशमा रहेको व्यक्तिले अपुतालीको सम्पत्ति दिन लागेको भन्दै, त कहिले महँगो उपहार पठाएको भन्दै सम्पर्क गरिन्छ। सुरुमा सानो रकम मागिन्छ। त्यसपछि कर, भन्सार, कुरियर शुल्क, प्रहरी वा विमानस्थलमा रोकिएको सामान छुटाउनुपर्ने जस्ता विभिन्न बहाना बनाउँदै रकम माग्दै जाने गरिन्छ।

पीडितले पैसा पठाउँदै गएपछि मागिने रकम पनि क्रमशः बढ्दै जान्छ। यसरी ठगहरूले व्यक्तिको आर्थिक क्षमता परीक्षण गर्दै अन्ततः ठूलो रकम असुल्ने प्रयास गर्छन्।

ठगहरूले अपनाउने केही सामान्य तरिका

पछिल्लो समय डिजिटल ठगीका विभिन्न स्वरूप देखिएका छन्।

* आफूलाई बैंकको कर्मचारी भन्दै केवाईसी अपडेटका लागि ओटीपी माग्ने।

* राष्ट्रिय परिचयपत्र अपडेट गर्न भन्दै शंकास्पद लिंक पठाउने।

* कनेक्ट आईपीएस ब्लक भएको भन्दै लिंकमा क्लिक गराउने।

* अनलाइन सपिङको भुक्तानी फिर्ता गरिदिने भन्दै भिडियो कल वा स्क्रिन सेयर गराएर ओटीपी प्राप्त गर्ने।

* विदेशमा रहेको व्यक्ति बनेर महँगो उपहार, सुनचाँदी वा रकम नेपाल ल्याइरहेको भन्दै कर तथा भन्सार शुल्कका नाममा पैसा माग्ने।

* अनलाइन गेम वा चिठ्ठामा पुरस्कार परेको भन्दै पुरस्कार लिन कर तथा अन्य शुल्क माग्ने।

* साथीभाइ वा आफन्तको म्यासेन्जर तथा ह्वाट्सएप ह्याक गरेर तत्काल पैसा आवश्यक परेको भन्दै रकम माग्ने।

* अरू व्यक्तिको खाताबाट सामानको भुक्तानी गराएर आफूलाई कानुनी झन्झटमा पार्ने।

यी सबै घटनामा एउटा कुरा समान देखिन्छ—ठगले पहिले विश्वास निर्माण गर्छ, त्यसपछि लोभ वा भावनाको प्रयोग गर्छ र अन्ततः आर्थिक लाभ लिन्छ।

किन हामी ठगीमा पर्छौँ ?

डिजिटल ठगीको मुख्य कारण केवल प्रविधिको दुरुपयोग मात्र होइन। हाम्रो आफ्नै व्यवहारले पनि ठगलाई अवसर दिइरहेको हुन्छ।

लोभ—छिट्टै धेरै पैसा कमाउने चाहना।

भावनात्मक प्रलोभन—अनलाइनमा भेटिएको अपरिचित व्यक्तिलाई विश्वास गर्दै भावनात्मक सम्बन्ध बनाउनु।

जानकारीको कमी—बैंक वा अन्य आधिकारिक संस्थाले ओटीपी, पासवर्ड तथा संवेदनशील विवरण माग्दैनन् भन्ने सामान्य जानकारी नहुनु।

लापरवाही—सन्देश, फोन वा लिंकको सत्यता परीक्षण नगरी विश्वास गर्नु।

सबैभन्दा महत्वपूर्ण कुरा, आफूले गर्दै नगरेको काम, आफूले नचिनेको व्यक्ति वा आफूलाई जानकारी नै नभएको विषयमा कसैले बनावटी कुरा गर्दैमा त्यसलाई सत्य मानेर विश्वास गर्नु नै ठगीको ठूलो कारण बन्न सक्छ।

डिजिटल ठगीबाट कसरी जोगिने?

डिजिटल ठगीबाट जोगिन केही सामान्य सावधानीले ठूलो क्षति रोक्न सकिन्छ।

१. ओटीपी, मोबाइल बैंकिङ पिन, पासवर्ड तथा अन्य संवेदनशील विवरण कसैलाई नदिनुहोस्।

२. बैंकको नाममा फोन आएर ओटीपी वा अन्य गोप्य विवरण मागेमा विश्वास नगर्नुहोस्। आवश्यक परे सम्बन्धित बैंकको शाखा वा आधिकारिक सम्पर्क माध्यमबाट आफैँ सम्पर्क गर्नुहोस्।

३. अपरिचित व्यक्तिले ठूलो रकमको चिठ्ठा, अपुताली वा उपहार परेको भन्दै सम्पर्क गरेमा विश्वास नगर्नुहोस्।

४. अनलाइन कुराकानीकै आधारमा अपरिचित व्यक्तिलाई आफ्नो नजिकको वा विश्वासिलो व्यक्ति नठान्नुहोस्।

५. सामाजिक सञ्जालमा देखिएका भिडियो, फोटो वा कागजात वास्तविक नै हुन् भन्ने भ्रममा नपर्नुहोस्। आवश्यक परे स्वतन्त्र रूपमा सत्यापन गर्नुहोस्।

६. अपरिचित व्यक्तिबाट प्राप्त हुने उपहार, चिठ्ठा वा रकम लिनका लागि कर, भन्सार वा कुरियर शुल्कका नाममा पैसा नपठाउनुहोस्।

७. शंकास्पद लिंकमा क्लिक नगर्नुहोस्।

८. कुनै आर्थिक कारोबार गर्नुअघि परिवार, आफन्त वा विश्वासिलो तथा जानकार व्यक्तिसँग परामर्श गर्नुहोस्।

९. एटीएम कार्ड, मोबाइल बैंकिङको पिन, कनेक्ट आईपीएसको युजर आईडी तथा पासवर्ड, चेकबुक लगायतका विवरण सुरक्षित राख्नुहोस्।

१०. ओटीपी आफ्नो प्रयोजनका लागि मात्र हो। फोन गरेर कसैले मागे पनि नदिनुहोस्।

११. साथीभाइ वा आफन्तको म्यासेन्जर/ह्वाट्सएपबाट पैसा मागिएको अवस्थामा तत्काल विश्वास नगर्नुहोस्। पहिले फोन गरेर वास्तविकता पुष्टि गर्नुहोस्। विशेषगरी अर्कै व्यक्तिको बैंक खातामा पैसा पठाउन भनिएको छ भने थप सतर्क हुनुहोस्।

ठगी भइहाल्यो भने के गर्ने?

सावधानी अपनाउँदा अपनाउँदै पनि कुनै व्यक्ति डिजिटल ठगीमा पर्न सक्छ। यस्तो अवस्थामा डराएर वा लुकाएर बस्नु हुँदैन। आफूले रकम पठाएको बैंक खाता तथा कारोबारसम्बन्धी विवरण सुरक्षित राख्दै नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरी घटनाबारे उजुरी दिनुपर्छ। ठगीसँग सम्बन्धित म्यासेज, फोन नम्बर, बैंक कारोबारको विवरण, स्क्रिनसट तथा अन्य प्रमाण सुरक्षित राख्दा अनुसन्धानमा सहयोग पुग्न सक्छ।

डिजिटल ठगीमा परेपछि रकम फिर्ता ल्याउन जटिलता हुन सक्छ। त्यसैले ठगिइसकेपछि समाधान खोज्नुभन्दा ठगी हुनै नदिनु सबैभन्दा उत्तम उपाय हो।

प्रविधि आफैँ खराब होइन। यसको सही प्रयोगले हाम्रो जीवन सहज बनाउँछ। समस्या प्रविधिको दुरुपयोग र हाम्रो असावधानीमा छ। त्यसैले डिजिटल युगमा वित्तीय साक्षरतासँगै डिजिटल साक्षरता, सचेतना र व्यवहारिक सावधानी पनि उत्तिकै आवश्यक छ।

ठगहरूले नयाँ–नयाँ तरिका अपनाइरहन्छन्। आजको स्क्याम भोलि फरक स्वरूपमा आउन सक्छ। त्यसैले कुनै पनि आकर्षक प्रस्ताव, अपरिचित फोन, शंकास्पद लिंक वा अस्वाभाविक आर्थिक आग्रहप्रति प्रश्न गर्न सक्ने बानी विकास गर्नुपर्छ।

सचेत बनौँ, ठगीबाट जोगिऔँ, अरूलाई पनि ठगिनबाट जोगाऔँ।

विगत १५ बर्ष देखि बैंकमा, कार्यरत

Leave a Comment