जन्मदिन मनाउने आ-आफ्नै शैली र तरिका हुन्छन्। कतिपय व्यक्तिले आफ्नो जन्मदिनको अवसरमा आफन्तजन, इष्टमित्र तथा साथीभाइलाई बोलाएर भव्य पार्टी समेत दिन्छन् । कतिपयले भने विभिन्न कार्यक्रममार्फत सहयोग गर्ने गरेका छन्। पछिल्लो समय जन्मदिन मनाउने शैली परिवर्तन हुँदै जान थालेको छ । यसैक्रममा अस्ट्रेलियामा रहेका एक म्याग्देली यूवाले आफ्नो जन्मदिनको अवसरमा म्याग्दीका विपन्नको उपचारमा सहयोग गर्नुभएको छ ।

बेनी नगरपालिका-७,बिरेन्द्रचोक घर भई हाल अस्ट्रेलियामा रहनुभएका हिक्मत श्रेष्ठले जन्मदिनको अवसरमा बेनी नगरपालिका-२,की क्यान्सरपीडित मिना विकलाई २० हजार र लडेर खुट्टा भाचिँएका बेनपा-४, सिंगा डाँडाखेतका मनोस सार्कीको उपचारमा १० हजार सहयोग गर्नुभएको हो ।

मोना अन्तराष्ट्रिय र मोना अष्ट्रेलियाका प्रबक्ता समेत रहनुभएका श्रेष्ठले आर्थिक अभावका कारण उपचारमा समस्या भएको जानकारी पाएपछि पिता दलप्रसाद श्रेष्ठमार्फत बेनी अस्पतालका अध्यक्ष ज्ञानेन्द्र सुबेदी र मिनाकी बहिनी अमृता श्रीपालीलाई सहयोग उपलब्ध गराउनुभएको छ। ‘यो मेरो ब्यक्तिगत सहयोग हो,‘थप सहयोग जुटाउन पहल गर्नेछु’ श्रेष्ठले भन्नुभयो ।

अस्ट्रेलियामा रहेर म्याग्दीमा सहयोग गदैं आउनुभएका श्रेष्ठले निकट भविस्यमा मोना अस्ट्रेलियामार्फत म्याग्दीमा आँखा शिविर समेत सञ्चालन गरिने बताउनुभयो । ‘प्रवासीको सहकार्यमा हामीले केही नयाँ कार्यक्रम लिएर जन्मभूमी आउँदैछौ,‘सबैको साथ र सहयोगको अपेक्षा छ’ श्रेष्ठले भन्नुभयो । मोनामार्फत म्याग्दीमा भइरहेका सहयोगलाई एकद्धार प्रणालीबाट वितरण गर्ने कार्यमा समेत श्रेष्ठको भूमिका रहेको छ ।

Leave a Reply