सन्दिप शर्मा/ मंगला गाउँपालिका १ कुहुँ घर भएका खिमबहादुर पुन साउदीको भिसा लागेको भन्दै २०७४ साल फागुन १० गते घरबाट प्रदेश जान निस्किए । पुन घरमा रहेका बूढा हजुरबुवा, हजुरआमा र आमासहित श्रीमती, ९ वर्षीय छोरा र ७ वर्षकी छोरीसँग बिदा भई परदेशको यात्रामा निस्किएका थिए । बूढा भएका हजुरबुवा, हजुरआमा र आमाले उनलाई रुँदै बिदाईका हात हल्लाएर आर्शीवाद दिई बिदा गरेका थिए । घरका एक्ला छोरा पुनमाथि बूढा भएका हजुरबुवा, हजुरआमा, आमा, श्रीमती एक छोरा र एक छोरीको जिम्मेवारी थियो । जिम्मेवारीले गर्दा पनि होला पुन केही वर्ष पहिले मलेसियाबाट देशमा नै केही गर्ने भनेर फर्किए पनि पुन परदेश जान बाध्य भए । परदेशमा पुगेर दुख गरी बूढा भएका हजुरबुवा, हजुरआमा र आमालाई राम्रोसँग पाल्ने अनि छोराछोरीलाई राम्रोसँग पढाउने उनको सपना थियो । त्यही सपना पूरा गर्न घरबाट साउदी जान्छु भन्दै निस्किएका पुन अहिले घर परिवारसँग सम्पर्कमा छैनन् । घरबाट “राम्रोसँग बस है आमा भन्दै निस्किएको छोरा अहिलेसम्म सम्पर्कमा आएको छैन” गहभरी आँसु पार्दै उनकी आमा दमकुमारी पुन (उमा) ले भनिन् ।

“अहिलेसम्म छोराले किन घर सम्झिएन, अरु नसम्झिए पनि परदेशिन लागेको बेला उसलाई रुदै बिदाई गरेका उसका छोराछोरी, बूढा भएका बजे बज्यै र मलाई त सम्झिनु पर्ने हो । किन उसको मन म¥यो होला उनको छोराप्रति गुनासो छ । मलिनो र रुन्चे अनुहार बनाउँदै लामो सास तान्दै उनले आँखाबाट झर्नै लागेका दुई थोपा आँसु पुछिन् र भनिन् मेरो छोरा “अप्ठ्योमा परेको पो छ कि” ? “परदेशको ठाउँमा, त्यही भएर पो खबर पाउन नसकेको हो कि” ?

कुहुँ घर भए पनि उमा पहिल्लै देखि माईती घर अर्मनमा बस्दै आएकी रहिछन् । अहिले पनि उनी अर्मनमा नै बस्ने रहिछन् । “राती सपनामा पनि छोरा मात्रै देख्छु” उनले भनिन् । छोराले फोन गर्दा घरमा फोन लगेन कि भनेर दिनभर फोन टिप्ने ठाउँमा गएर बस्ने गरेकी छु । लेखपढ गर्न नजन्ने उमाको मोबाईलमा आफन्तहरुको फोन नम्बर अरुले नै सेभ गरी दिएका रहेछन् । बिहान उठेर फोन टिप्ने ठाउँमा जान्छु राति अबेरसम्म त्यही ठाउँमा नै बस्छु छोराको फोन आउँछ कि भन्दै तर छोराको फोन कहिले पनि आउँदैन बेलुका दुखी मनका साथ घरमा फर्किन्छु । भोलिपल्ट फेरि बिहान उठेर फेरी फोन टिप्ने ठाउँमा जाने उनको दैनिकी नै रहेछ अचेल । छोराको बारेमा थाहा पाए कि भन्दै आफन्त, छोराका साथीहरु र गाउँलेलाई फोन गरेर सोध्दै दिन बित्नथालेको छ । “आपूmलाई फोन नगरे पनि आफन्त वा साथिभाई र गाउँलेलाई फोन गरेको छ कि” भन्दै सोध्ने गरेकी छु उनीले भनिन् । तर सबैले मेरो छोराका बारेमा केही खबर थाहा पाएका छैनौं मात्रै भन्छन् ।

उमाले मात्रै नभएर घरमा रहेका खिमका हजुरबुवा र हजुरआमा पनि “नाति आउँछ कि भन्दै बाटो कुरेर बस्नेगरेको” मंगला १ कुहुँका वडाध्यक्ष एकजीत रोकाले बताए । “मैले पनि विदेशमा भएका आफन्तहरूलाई फोन गरेर खिमको बारेमा बुझ्ने प्रयास गरेको छु तर कसैले पनि उसँग आपूmहरू सम्पर्कमा नरहेको बताउने गरेका छन्” उनले भने । अहिले “गाउँघरमा नयाँ मान्छे आउनै हँुदैन उनीहरुले नातिको खबर लिएर पो आए कि भन्दै खिमका बारेमा सोधिहाल्ने गरेका स्थानीयहरु भन्छन्” । लामो समयसम्म घरको सम्पर्कमा नआएपछि अहिले खिमको आमा, हजुरबुवा र हजुरआमाले उनलाई खोजतलासी गर्नका लागि अनुरोध गरेका छन् ।

Leave a Reply