म्याग्दीको मालिका गाउँपालिका वडा नं ७ विम स्थित किसानी कृषि प्राविधिक शिक्षालयका विद्यार्थीहरुले पहिलो बेते भैंसीको पेटमा अड्किएको पाडो जिवितै बाहिर निकालेर भैंसीलाई सुत्केरी गराउन सफल भएका छन् ।

गत सोमबार स्थानीय भुपेन्द्र शर्माको पहिलो बेते भैंसीको पेटमा पाडो अड्किए पछि सुत्केरी हुन नसकेको भैंसीको पेटबाट डा. रोशन बानियाँ र डा. प्रशन्न पोख्रेलको सहयोगमा किसानी कृषि प्राविधिक शिक्षालयमा पशु विज्ञान विषयमा अध्ययनरत प्रशिक्षार्थीहरुले भैंसीको पेटमा अडिकएको पाडो निकालेका हुन् ।

किसानी प्राविधिक शिक्षालयका संयोजक करन कडेलका अनुसार शिक्षालयले कृषि तथा पशु क्षेत्रका समुदायसंग समन्वय गरी स्थानीय स्तरमा नै पशु चिकित्साको वारेमा ज्ञान दिने उद्धेश्य सहित विभिन्न कार्यक्रमहरु गरिरहेको छ ।
भौतिक पूर्वाधारले सम्पन्न किसानी कृषि प्राविधिक शिक्षालयले पछिल्लो समय बाली र पशु विज्ञानमा राम्रो नतिजा प्राप्त गर्दै आएको छ ।

शिक्षालयका संयोजक कडेलका अनुसार हाल शिक्षालयमा विभिन्न जिल्लाका १४१ जना विद्यार्थीहरु अध्ययनरत छन् । कृषि डिप्लोमामा ५१ जना,डिप्लोमा पशुतर्फ ६० जना र प्रि डिप्लोमातर्फ ३० जना गरी १४१ जना विद्यार्थीहरुले कृषि र पशु सम्वन्धि शिक्षा लिइरहेका छन् ।

सामान्य जस्तो लागेपनि भैंसीको पेटमा अड्किएको पाडो जिवितै निकाल्नु भनेको पशु चिकित्साको क्षेत्रमा निकै जोखिमपूर्ण मानिने संयोजक कडेलले बताउनुभयो । यो गर्भवती पशुमा देखिने जटिल समस्या भएको र स्थानीय जातको भैंसीलाई विकासे राँगोलगाएर गर्भवती बनाउँदा यस्तो समस्या हुने उहाँले बताउनुभयो ।

पेटमा पाडो उल्टो भयो भने यस्तो समस्या देखिने र यस्तो अवस्थालाई प्राविधिक भाषामा डिस्टोकिया ( युटेराइन टर्सन) भनिने उहाँले बताउनुभयो । गर्भवती पशुमा यस्तो समस्यालाई जटिल मानिने र अलिकति असावधानी भयो भने माउ पशु र पाडापाडीको ज्यानै जानसक्ने जोखिम रहने उहाँको भनाइ छ ।

Leave a Reply