माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) को वार्षिक परीक्षा आजदेखि देशभर एकसाथ सुरु हुँदैछ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन परीक्षा सञ्चालन हुनेछ। र, वैशाख २७ गतेसम्म चल्नेछ।
यस वर्षको परीक्षामा पाँच हजार तीन सय ३९ विद्यालयका कुल चार लाख १८ हजार ८ परीक्षार्थी सहभागी हुँदैछन्। जसमा नियमिततर्फ तीन लाख ३२ हजार १७८ र आंशिकतर्फ ८५ हजार ८३० परीक्षार्थी रहेका छन्। जिल्लागत रूपमा सबैभन्दा बढी काठमाडौंबाट ६४ हजार ३३८ र सबैभन्दा कम मनाङबाट ३१ जना परीक्षार्थी सहभागी हुने बोर्डले बताएको छ। परीक्षाका लागि नेपालभर एक हजार ४२० र जापानमा एक गरी कुल १ हजार ४२१ परीक्षा केन्द्र निर्धारण गरिएको छ।
बोर्डले परीक्षा सकिएको डेढ महिनाभित्रै नतिजा सार्वजनिक गर्ने लक्ष्य राखेको छ। परीक्षालाई स्वच्छ, मर्यादित र विद्यार्थीमैत्री बनाउन बोर्डले विद्युत् आपूर्ति र इन्टरनेट सेवालाई प्रभावकारी बनाउन सरोकारवालासँग आग्रह गरेको छ।
परीक्षामा कडा अनुशासन कायम गर्न केन्द्राध्यक्षबाहेक अरू कसैलाई पनि मोबाइल फोन लैजान निषेध गरिएको छ। परीक्षार्थीले परीक्षा हलभित्र मोबाइल, स्मार्ट घडी वा अन्य कुनै पनि इलेक्ट्रोनिक उपकरण लैजान पाउने छैनन्।
यदि कसैले प्रतिबन्धित सामग्री लगेको पाइएमा सामग्री जफत गरी कानुनी कारबाही गरिने र मोबाइल प्रयोग गर्ने परीक्षार्थीको सबै विषयको परीक्षा रद्द गरिने बोर्डले चेतावनी दिएको छ।
अपांगता भएका, कारागार वा बालसुधार गृहमा रहेका परीक्षार्थीका लागि परीक्षा दिने विशेष व्यवस्था मिलाइएको छ। परीक्षाको अनुगमनका लागि प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा समन्वय समिति गठन गरिएको छ।
काठमाडौं उपत्यकाभित्र र बाहिरका केन्द्रहरूमा नियमित निरीक्षणको व्यवस्था गरिएको छ। यदि कुनै केन्द्रमा मर्यादा उल्लंघन भएको पाइएमा केन्द्राध्यक्ष वा निरीक्षकलाई तत्काल परिवर्तन गर्ने र केन्द्र नै खारेज गर्न सकिने अधिकार समितिलाई दिइएको छ।












