विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३) को अवसरमा नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले सामाजिक उत्तरदायित्वअन्तर्गत म्याग्दी बालगृहमा आश्रित ८ जना बालबालिकाका लागि स्वास्थ्य जाँच, परामर्श तथा औषधि वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल बाल संगठनद्वारा सञ्चालित उक्त बालगृहमा आयोजित कार्यक्रममा दाँत, आँखा, कान लगायतका स्वास्थ्य परीक्षण गरिएको थियो । साथै बालबालिकालाई आवश्यक औषधि तथा केही खाद्यान्न सामग्री समेत प्रदान गरिएको महासंघले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष प्रकाश पौडेलले प्रेस स्वतन्त्रता लोकतन्त्रको मेरुदण्ड हो भन्दै अझै पनि पत्रकारहरू विभिन्न प्रकारका दबाब, धम्की र असुरक्षाको सामना गर्न बाध्य भएकाले यस्तो अवस्थामा राज्यले पत्रकारहरूको सुरक्षा सुनिश्चित गर्नु पहिलो दायित्व भएको बताउनुभयो ।

पत्रकारहरूलाई मर्यादित र सुरक्षित वातावरणमा काम गर्ने सुनिश्चितता नदिइएसम्म प्रेस स्वतन्त्रता पूर्ण रूपमा कार्यान्वयन भएको मान्न नसकिने उहाँको भनाई थियो । उपाध्यक्ष पौडेलले संचारकर्मीहरु केवल समाचार सम्प्रेषणमा मात्र सीमित नभई समाजप्रतिको जिम्मेवारीसँग पनि जोडिएको बताउनुभयो । उहाँले भन्नुभयो, “पत्रकारिता समाजको आवाज र परिवर्तनको माध्यम पनि हो ।

यस्ता मानवीय कार्यले पत्रकारिताको गरिमा अझ उच्च बनाउँछ ।” । कार्यक्रममा महासंघ म्याग्दीका संस्थापक अध्यक्ष घनश्याम खड्का, प्रेस सेन्टर गण्डकी प्रदेशका महासचिव तथा महासंघ म्याग्दीका पूर्व सचिव सन्तोष गौतमले पनि मन्तव्य व्यक्त गर्दै स्वतन्त्र प्रेस माथि कसैले पनि हनन पु¥याउन नहुनेमा जोड दिनुभयो ।
नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष हरिकृष्ण गौतमले बालगृहका बालबालिकाहरु स्वस्थ रहन मदत पुगोस भनेर दिवसको अवसरमा स्वास्थ्य परिक्षण कार्यक्रम गरिएको बताउनुभयो । “विश्व प्रेस स्वतन्त्रता दिवसको सन्दर्भमा हामीले केवल औपचारिक कार्यक्रम मात्र होइन, समाजमा प्रत्यक्ष प्रभाव पार्ने काम गर्ने सोचका साथ यो कार्यक्रम आयोजना गरेका हौं ।

आगामी दिनमा पनि यस्ता सामाजिक गतिविधिलाई निरन्तरता दिनेछौं ।” अध्यक्ष गौतमले भन्नुभयो । साथै उहाँले स्वास्थ्य परीक्षणपछि आवश्यक परेकालाई निशुल्क औषधि उपलब्ध गराइने जानकारी समेत दिनुभयो ।

नेपाल नेत्र ज्योति संघ म्याग्दीका नेत्र अधिकृत दिनेश बानियाँ, कोर–स्माईल डेन्टल क्लिनिकका सञ्चालक डा. मोचन श्रेष्ठ तथा बेनी सञ्जिवनी क्लिनिकका हेल्थ असिस्टेन्ट लोकराज जोशीले बालबालिकाको स्वास्थ्य परीक्षण गर्नुभएको थियो । कार्यक्रम नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष गौतमको अध्यक्षता, उपाध्यक्ष अमित विश्वकर्माको स्वागत मन्तव्य र सहसचिव सन्दिप शर्मा रिजालको सञ्चालनमा सम्पन्न भएको थियो ।














