---Advertisement---

घुम्न जाउँ मंगला :’सुन्दर धाार्मिक तथा पर्यटकीयस्थल गन्तब्य’

On: May 10, 2026 9:44 PM
Follow Us:

हरिकृष्ण गौतम
म्याग्दीको मंगला गाउँपालिका ८८.८४ वर्ग किलोििमटर क्षेत्रफलमा फैलिएको छ । एक वटा नगरपालिका र पाँच वटा गाउँपालिका मिलेर बनेको म्याग्दीके पश्चिम क्षेत्रमा पर्ने मंगला गाउँपालिमा कुहुँ, बाबियाचौर, बरंजा र अर्मन गरी पाँच वडामा विभाजन गरिएको छ । गाउँपालिकाको सिमाना पूर्वमा बेनी नगरपालिका, पश्चिम मालिका गाउँपालिका उत्तरी क्षेत्रमा रघुगंगा गाउँपालिका रहेको छ भने दक्षिण क्षेत्रमा बागलुङ जिल्लाको काँठेखोला र ताराखोला गाउँपालिका रहेको छ ।

मंगला गाउँपालिकाभित्र र छिमेकी गाउँपालिका र जिल्लासँग जोडिएका क्षेत्रमा धार्मिक तथा पर्यटकीयस्थलहरू छन् । जलाधारीय क्षेत्रका हिसाबले म्याग्दी,कालीगण्डकी, रहुघाट नदी विभाजन रहेकोमा मंगला गाउँपालिका हुदै म्याग्दी नदी बग्ने गरेको छ । गाउँपालिकाको केन्द्र बावियाचौर म्याग्दी नदीको तटिय क्षेत्रमा रहेको छ । आउनुहोस्, मंगला गाउँपालिकाभित्र घुम्न सकिने धार्मिक तथा पर्यटकीयस्थलहरूको चर्चा गरौं ।

स्वर्गद्वारीको शाखा आश्रम
मंगला, रघुगंगा गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा रहेको टोड्केस्थित प्रसिद्ध धार्मिकस्थल स्वर्गद्वारी आश्रम धार्मिक पर्यटकका लागि आध्यात्मिक चिन्तनको उपयुक्त स्थान मानिन्छ । प्यूठान जिल्लामा रहेको प्रसिद्ध धार्मिकस्थल स्वर्गद्वारीको शाखा मानिने यस आश्रममा स्वर्गद्वारी महाप्रभुले तपस्या गर्नुभएको धार्मिक विश्वास छ ।

देशभर स्वर्गाद्धारीको २१ शाखा आश्रम रहेकोमा म्याग्दीमा प्रभुचेलासहित टोड्के गरी दुईस्थानमा रहेको छ । स्वर्गद्धारी पुग्न नसक्ने भक्तजनले यहाँ दर्शन गरे हुन्छ । प्राचीनकालमा विभिन्न ऋषि महर्षिले तपस्या गरेको यस स्थानमा १९३५ सालमा त्रिशूली बाबाले तपस्या गरेर यहाँ शिव मन्दिर र धर्मशालालगायतका केही संरचना निर्माण गर्नुभएको र अहिले पूराना बाहेक नयाँ संरचना समेत थपिएको छ।


विसं १९१६ श्रावण पुत्रदा एकादशीका दिन जन्मिएका स्वर्गद्वारी महाप्रभुले लामो समय यहाँ बसेर तपस्या गरेको बताइन्छ । त्यसपछि यस क्षेत्रलाई स्र्वद्वारी क्षेत्र भनिन थालिएको हो । स्वर्गद्वारी महाप्रभु पछि यहाँ अन्य धेरै ऋषि महात्माले तपस्या गरेका थिए । आश्रममा रहेको मन्दिरमा मुर्ती तथा स्वर्गद्वारी महाप्रभुले लगाउनुभएको खराउ (काठका चप्पल), शिवलिङ्ग, शिवजीको स्वेतशुभ्र मूर्ति, बसाहा लगायत छ ।

भक्तजनले समेत दर्शन गरेपछि यहाँ सहयोग गर्ने गरेका छन् ।त्यस्तै प्यूठान स्वर्गद्वारी आश्रमका महन्त भागवतानन्द गिरीले यहाँ आएर सात दिनसम्म एउटा खुट्टाले मात्र टेकेर श्रीमद्भागवत् सप्ताहा पाठ गरेको तथा जन्मेको छैठौँ दिनदेखि आमाको स्तनपान नगरेका हंशानन्द गिरीले तपस्या गर्नुभएको र त्यसैबेलादेखि यो क्षेत्रलाई स्वर्गाश्रम क्षेत्र भनिन थालिएको अभिलेखमा उल्लेख छ ।

पर्यटकीयस्थल टोड्के
भौतिक पूर्वाधारको विकास भएसँगै म्याग्दीको टोड्के पछिल्लो समय म्याग्दीको पर्यटकीय गन्तव्य समेत हो । समुन्द्री सतहबाट २५ सय मिटरको उचाइमा अवस्थित टोड्केलाई मंगला, रघुगंगा र बेनी नगरपालिकाको सङ्गमस्थलमा पर्ने भएकाले सडक सञ्जालसँगै प्रचारप्रसारमा समेत चासो देखाउने गरिएको छ । टोड्केसम्म पुग्ने सडकको पहुँच विस्तार, खान र बस्नको लागि सामुदायिक लजको निर्माण, हरियाली पार्क तथा भ्यू–प्वाइन्टसहितका भौतिक संरचनाहरुको विकास भएपछि टोड्के पर्यटकीय गन्तव्य बनेको हो । माघदेखि वैशाख महिनासम्म लालीगुराँस ढकमक्कै फुलेर राताम्य हुने, जाडोयाममा सिताम्मे हिउँ पर्ने भएकाले बजार क्षेत्रबाट हिउँ खेल्न जाने गर्दछन्।


रैथाने मूला, आलु, धजरालगायत पाइने पर्यटकीय स्थल टोड्केबाट धौलागिरि र अन्नपूर्ण रेञ्जका अधिकांश हिमालहरूसहित मानापाथी, पुतली, निलगिरी, माछापुच्छ्रे, चुरेन लगायत हिमशृङ्खला देखिन्छन् । टोड्केमा स्थानीयले रिसोर्ट निर्माण गरेपछि चहलपहल धेरै बढेको छ । टोड्केसम्म जाने सडक सञ्जाल भएपनि थप ब्यवस्थित नहुदाँ समस्या भएपनि एकान्तमा रमाउन चाहने पर्यटकलाई निकै सजिलो भएको छ । अहिले पर्यटकलाई लक्षित गरेर रघुगंगा गाउँपालिकाले वनस्पति उद्यान केन्द्र र हरियाली पार्क निर्माणा गरेको छ भने टोड्केमा हाई अल्टिच्युडको प्ले–ग्राउण्ड निर्माणधिन अवस्थामा रहेको छ । टोड्के अर्गानिक उत्पादनको हिसाबले पनि अब्बल छ ।

त्रिदेवीको संगमस्थल मालिकाधुरी
मंगला गाउँपालिका–२ हिदी,मालिका गाउँपालिका–७ बिम, रघुगंगा गाउँपालिका–६, ठाडाखानीको सिमानामा अवस्थित म्याग्दीको प्रसिद्ध धार्मिकस्थल मालिकाधुरी धार्मिक तथा पर्यटकीयस्थल हो । समुन्द्री सतहदेखि तीन हजार ३ सय मिटर उचाइमा अवस्थित मालिकाधुरीमा रहेको एउटै थुम्कोमा त्रिदेवी मालिका, कालिका र जालपा मन्दिर रहेको छ । मालिकाधुरीमा चण्डी पुर्णिमा, जेष्ठी पुर्णिमा र कार्तिक पुर्णिमामा दर्शन र पुजाआजा गर्ने भक्तजनहरुको घुइँचो लाग्छ । त्रिदेवीको दर्शनले मनोकांक्षा हुने जनविश्वासका साथ बषौंदेखि भक्तजनहरू मालिकाधुरी पुग्छन् ।


कालिका र जालपकाको बीचमा मालिका मन्दिर छ । मालिकाधुरीको दर्शन तथा घुम्न जाने पर्यटकका लागि मंगला गाउँपालिकाबाट सडक तथा पदमार्गको सुविधा रहेको छ । हालै गाउँपालिका तथा हिदीका बासिन्दाहरूले आथिंक संकलन गरी हिदीदेखि सुर्ती चढाउने डाँडा, गिद्रे देउराली, धौलेखर्क हुँदै मालिकाको फेदीमा रहेको जोगी देउराली जोड्ने सडक सञ्जाल बनेपछि मालिकाको यात्रा समेत सहज र छोटो बनेको छ । मङ्गला गाउँपालिकाले चालु आर्थिक वर्षमा २१ लाख बजेटबाट थालिएको हिदी–मालिका सडक निर्माण योजनालाई गाउँलेहरूले चन्दा सङ्कलन गरेका थिए । मालिकाधुरीमा सिजनमा पदयात्रामा रमाउने पर्यटकलाई आर्कषित गर्ने गरी मंगला गाउँपालिकाले हिँदी र टोड्के क्षेत्रबाट पदमार्गको सुविधालाई समेत ब्यवस्थित बनाउने प्रयास गरेको छ ।

बरंजाको दह ताल
मंगला गाउँपालिका–३ बरंजामा रहेको दह ताल गाउँपालिकाभित्रको प्रख्यात ताल मानिन्छ । गाउँको विचमा पानीको मुहानसँगै गोलो आकारमा रहेको ताललाई स्थानीयबासीले संरक्षण गरेपनि प्रचारप्रसार र पूर्वाधारको निर्माणमा सरोकारवाला निकायको ध्यान पुग्न सकेको छैन ।

ताल क्षेत्रमा पूर्वाधार बनाउन सकेमा बेनी–बास्कुना र बेनी–तातोपानी हुदै सडक सञ्जालबाट समेत पर्यटकलाई भित्राउन सकिन्छ । नीलो रंगको तालबीच अवस्थित बराह मन्दिर यहाँको आकर्षण हो । वरिपरी गाउँ, गाउँको बीच र प्रकृतिको हरियो बिम्ब (छायाँ) देखिने दह ताल निकै आकर्षक र मनमोहक छ । तालको बिचमा पिपलको रुखसँगै नजिकै रहेको मन्दिरमा स्थानीयले पूजाआजा गर्ने गरेका छन् ।


ताल १ दशमलव ५ मिटर गहिरो छ । करिब डेढ रोपनी क्षेत्रफलमा रहेको तालसतिको संरचना पोखराको फेवातालको झल्को दिन्छ । दह तालको संरक्षण गरी पर्यटकलाई घुम्न आउने वातावरण बनाउन स्थानीयले सरोकारवाला निकायलाई विगतमा समेत अनुरोध गरेका थिए ।कुनै समय खडेरी लागेको खेतमा बाली लगाउने समयमा आकशे पानी नपरेमा गाउँलेले तालमा पुजा गरी बर्षाको कामना समेत गर्ने गरेका थिए। ताल आसपासका क्षेत्रमा बस्ने बेञ्चसहितको संरचना बनाउने र नियमित सफा र सुन्दर बनाउन स्थानीयको पहलले मात्रै प्रयाप्त हुने देखिदैन ।

झाँक्रीपानी
मंगला गाउँपालिका–३ मा अवस्थित पर्यटकीयस्थल झाँक्रीपानी समुन्द्री सतहदेखि २ हजार २ सय मिटरको उचाइमा अवस्थित छ । तीनतले भ्यूटावर प्रयोगमा रहेको छ भने अन्य विभिन्न पूर्वाधार निर्माणधिन अवस्थामा रहेको होमस्टे, चारैतिर बनजंगल, तल म्याग्दी नदीको नागवेली दृश्य, अग्लाअग्ला पहाड,ग्रामिण परिवेश,छरिएर रहेको वस्ती, ढुङ्गाका छानो भएका घर, विभिन्न प्रजातिका जडिबुटी,चैत–बैशाखमा राताम्यै फुल्ने लालिगुराँसको अवलोकनका लागि समेत आन्तरिक पर्यटकको घुईचो लाग्ने गरेको छ । यहाँ घरबासको सुविधा समेत छ । झाँक्रीपानीमा मगर, विक, नेपाली, किसान, बाहुन, क्षेत्री, थकाली, नेवार र छन्त्याल समुदायको बसोबास छ ।


सदरमुकाम बेनीबाट सवारीसाधनमा करिव डेढ घण्टामा पुगिने तथा मंगला गाउँपालिकाको केन्द्र बावियाचौर, बेनी नगरपालिकाको तातोपानीबाट समेत सडक तथा पैदलयात्रा समेत गर्न सकिन्छ । प्राचिन समयमा त्यस ठाउँमा झाँक्री बस्ने गरेका र पानीको कुनै स्रोत नहुँदा काकाकुल बनेका झाक्री खलकलार्ई मूल झाँक्रीले तान्त्रिक विधिद्धारा आफ्ना इष्ट देवतालाई खुसी बनाई पानी निकालेको किंवदन्तीका आधारमा झाँक्रीपानी नामाकारण गरिएको हो । विसं २०६७ वैशाख १ गते बरंजा झाँक्रीपानी महोत्सवले नै यहाँको प्रचार–प्रसारमा सघाएको थियो ।

चिनाकोट दरबार
मङ्गला गाउँपालिका–३ स्थित ऐतिहासिकस्थल चिनाकोट दरबार समुद्री सतहदेखि दुई हजार २ सय मिटरको उचाइमा अवस्थित छ । चिनाकोटमा बाइसे चौबिसे राज्यका पालामा निर्मित दरबारलाई लक्षित गरी अहिले पदमार्गसहितको संरचना बनेकाले सहज छ । चिनाकोटमा अझैपनि दरबारका भग्नावशेष, रानी बसेर कपाल कोर्न ढुङ्गा, पानी खाने कुवा, सिपाहीहरुले सुरक्षाका लागि बनाईएका पर्खाल लगायत रहेकाले ऐतिहाँसिक महत्वको चिनाकोटलाई संरक्षण र सम्वद्र्धनमा गाउँपालिकाले समेत चासो देखाएको छ । दरबार क्षेत्रमा ऐतिहासिक महत्वका खुडा, तरबार, ढाल, खुकुरीलगायत चिनाकोट दरबारका हतियारलाई थर्पुकोटमा सुरक्षित रुपमा राखिएको छ ।


यहाँ रानीले कपाल कोर्ने ठाउँ, पानी राख्ने पँधेरा, सुरक्षाका लागि बनाइएको सुरुङ र दरबारका भग्नावशेष छन् । थर्पुकोट विसं १३१२ मा स्थापना भएको मानिन्छ । चिनाकोट र थर्पुकोटलाई समेटेर एतिँहासिक भ्रमणस्थल बनाउन सकिन्छ । गाउँपालिकाको पहलमा गण्डकी प्रदेश सरकारले समेत पूर्वाधर विस्तारमा सघाएको छ ।चिनाकोटबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छे रेञ्जका हिमाल, सूर्योदय, पहाडी भूगोल, ग्रामीण बस्ती र वनजङ्गलको मनोरम दृष्य अवलोकन गर्न सकिन्छ ।

तिनचुले
छिमेकी जिल्ला बागलुङको ताराखोला गाउँपालिका–४ सँग सिमाना जोडिएको मंगला गाउँपालिका–५ मा अवस्थित धार्मिक तथा पर्यटकीयस्थल तिनचुलेमा पूर्वाधार निर्माण भएपछि भक्तजन र पर्यटकलाई निकै सहज भएको छ । समुन्द्रि सतहदेखि २ हजार ९३२ मिटर उचाइमा अवस्थित तिनचुलेलाई मंगलाले प्राथमिकतामा राखेको छ । तिनचुलेमा रहेको शिवालय मन्दिर, बराह तालमा पूजाआजा गर्न बर्षेनी भक्तजन पुग्ने गरेका छन् ।

मङ्गला–५ देउरालीदेखि तिलचुले जोड्ने सात किलोमिटर सडक निर्माण भएपछि अब सडक र बस्ती आसपाका पर्यटकीयस्थलबाट घुम्न जाने पर्यटकलाई निकै सहज भएको छ । मंगला गाउँपालिकाले यस क्षेत्रको विकासका लागि छिमेकी बागलुङको ताराखोला गाउँपालिकासंग समेत सहकार्य गरिरहेको छ । तिनचुलेबाट सिस्ने, चुरेन, गुर्जा, धौलागिरि, मानापाथी,नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ । तिनचुलेको शिवालयमा पूजाअर्चना गरेमा मनोकांक्षा पूरा हुने विश्वास जनविश्वास छ । सडक, पदमार्ग, खानेपानी र आश्रयस्थलको व्यवस्था भएपछि पछिल्लो समय आन्तरिक पर्यटकको रोजाईमा तिनचुले परेको छ ।

चाङ्गा खर्क
मंगला गाउँपालिका–५, चाङ्गा खर्क पदयात्राका लागि नयाँ गन्तब्य बनेको छ । सिर्कुम गाउँको शिरमा समन्द्री सतहदेखि २२ सय ५० मिटरको उचाइमा अवस्थित चाङ्गालाई नेपाल पत्रकार महासंघ म्याग्दीले घुम्नै पर्ने म्याग्दीका पर्यटकीय गन्तब्यका रुपमा विकास गर्ने उदेश्यसहित गाउँपालिकासँगको सहकार्यमा घुम्ती बैठक समेत सञ्चालन गरेपछि पछिल्लो समय विभिन्न संघसंस्थाले समेत कार्यक्रमहरु गर्ने गरेका छन् ।

मंगला गाउँपालिकाको नयाँ र समथर फाँटमा अवस्थित चांगाको सुन्दरता पर्यटकको पखाइमा रहेको छ ।हिमाली मुस्कान, चराको चिरबिर र जंगलको हरियाली मुख्य आर्कषण भएकाले आन्तरिक पर्यटकका लागि छोटो दुरीको आर्कषक गन्तब्य भएकाले पनि एकपटक घुम्नै पर्ने मंगलाको गन्तब्यभित्र पर्छ । दलित, मगर र क्षेत्री समुदायको बसोबास रहेको यस क्षेत्रलाई गाउँपालिकाले पर्यटकीयस्थल बनाउने प्रयास गरिरहेको छ ।

अहिले आमासमुहको भवनमा घुम्न जानेलाई राख्न मिल्ने संरचना बनेको छ । चांगा खर्कमा बराह मन्दिर रहेको छ भने समथर भुभागमा विविध गतिविधिका लागि सम्भावना रहेको छ । क्याम्पिङ गरेर बस्नका लागि उत्कृष्ट स्थान मानिन्छ । मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरबाट पाखु, सिर्कुम हुँदै एक घण्टा ३० मिनेट मोटरसाइकल र जिपमा यात्रा गरेपछि चाङ्गा पुग्न सकिन्छ।

बाबियाचौरबाट शेराफाट–पीपलबोट–पाखु–सिर्कुम हुँदै चार घण्टामा चाङ्गा पुग्ने पदमार्ग पनि छ। पदयात्राबाट त्यहाँ पुग्दा सुन्दरता पोखिएको र आसपासका दृष्यले सबैलाई मोहित बनाउने गर्दछ । यहाँबाट धौलागिरी, अन्नपूर्ण, गुर्जा, चुरेन, मानापाथी, नीलगिरी र माछापुच्छ्रे हिमाल देख्न सकिन्छ ।

बरंजाको गाम्फा धुरी
मंगला गाउँपालिका–४ बरंजामा अवस्थित ऐतिहाँसिक पर्यटकीय स्थल गाम्फाधुरीको धार्मिक महत्व भएपनि पुर्वाधारको अभाव र प्रचारप्रसार हुन सकेको छैन । मंगला–४ र बाग्लुङ जिल्लाको ताराखोला गाउँपालिका–३ को सिमानामा अवस्थित गाम्फाधुरी स्वर्गद्वारीबाट १००८ स्वामी परमानन्द महाराजले तपस्या गरेको ऐतिहासिकस्थल हो । समुन्द्री सतहदेखि ३ हजार ९ मिटरको उचाईमा रहेको उक्त स्थानमा पयर्टक लक्षित पूर्वाधार नहुँदा प्रकृतिको अनुपम उपहार हुँदाहुँदै पनि ओझेलमा परेको छ । ढुङ्गा खोपेर पानी सङ्कलन गर्न बनाइएको संरचना उस्तै छ ।


तपोभूमि क्षेत्रका ऐतिहासिक संरचनाको दृश्यावलोकन र प्राकृतिक सुन्दरताले मोहित बनाइदिन्छ । सूर्योदय र सूर्यास्तको सुन्दर दृश्यावलोकनले जोकोही पनि आकर्षित हुन्छन् । गाम्फाधुरीमा पूर्वाधार निर्माण, आध्यात्मिक र धार्मिक क्षेत्रको विकास गर्न, ऐतिहासिक तपोभूमिको संरक्षण र प्रवर्धनका लागि पहल थालेको छ । गाम्फाधुरी प्राकृतिक सुन्दरताको उपहार मात्र नभई १००८ स्वामी परमानन्दज्युले तपस्या गरेर ज्ञान प्राप्त गरेको ऐतिहासिकस्थल भएकाले स्थानीयको चासो छ । वि.सं. २०१७ सालदेखि २०२७ सम्म गाम्फाधुरी बस्नुभएका स्वामी परमानन्दबाट स्थानीय छविप्रसाद शाहनन्द लामिछाने र खड्कप्रसाद रोकाले पनि शिक्षा प्राप्त गरेको इतिहास रहेको छ । स्वामी परमानन्दले २०१८ सालमा सोही वडाको दुर्दिमा शिवालय मन्दिर स्थापना गरेका थिए ।

अन्त्यमा
मंगला गाउँपालिकाभित्र अन्य विभिन्न पर्यटकीयस्थलहरुमा वनभोज, हाइकिङ र क्याम्पिङ गर्न मिल्ने यस्ता थुप्रै ठाउँहरु रहेका छन् । धार्मिक तथा पर्यटकीयस्थलहरु, बाइसे–चौबीसे राज्यका पालाका राजदरबार सहितका पर्यटकीयस्थलमा एकदिनमा पुगेर घुमेपछि फर्किन मिन्छ । गाउँपालिकाभित्र झरना, तालतलैयासहित गुफा र लामो सुरुङका रुपमा समेत प्रयोग गरिएका स्थानहरू रहेका छन् । तपाईहरु पनि एकपटक मंगला गाउँपालिका भित्र तथा छिमेकी गाउँपालिकासँग सिमाना जोडिएका पाँचवटै वडामा रहेका प्रमुख धार्मिक तथा पर्यटकीयस्थलसम्म पुगेर रमाउनुहोस् । यहाँको प्राकृतिक सौन्दर्यताले पक्कैपनि तपाईको मन लोभ्याउँछ ।यहाँ हामीले चर्चा गरेका क्षेत्रमा पुग्दा ग्रामिण पर्यटन, पर्यावरणसहितका स्थानीको आथित्या, जिवनशैलीहरु समेत देख्न सकिन्छ ।

‘मंगलामा एकपटक पुग्नै पर्ने सुन्दर धाार्मिक तथा पर्यटकीयस्थल गन्तब्य छन् ‘

मंगला गाउँपालिकाले धार्मिक तथा पर्यटकीयस्थलमा पूर्वाधार विस्तार तथा प्रचारप्रसारमा सघाइरहेको छ । गाउँपालिका भित्र र अन्तरजिल्ला तथा अन्तरपालिकाको सिमानामा जोडिएका पर्यटकीयस्थलहरुलाई लक्षित गरी गाउँपालिकाले सडकसहित अन्य भौतिक पूर्वाधारसहितका कार्यहरुलाई प्राथमिकता दिएको छ । यसै विषयमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन अर्यालसँग गरिएको छोटो कुराकानी

पर्यटकीय र धार्मिक क्षेत्रमा गाउँपालिकाको प्राथमिकता के कस्ता योजनामा छ ?
* भैरहेको योजनाको स्तरोन्नतीको काम गर्ने योजनामा
* पहुचमार्ग सडक वा पदमार्ग पूर्याउने योजनामा
* भैरहेको संरचनाको स्तरोन्नती गर्ने खालको योजनामा
* हिमदृश्यावलोकनका लागि उपयुक्त पर्यटकिय स्थानको विकासमा
* सामाजिक मूल्यमान्यता, संस्कार र संस्कृतिको जगेर्नामा सघाउ पूर्याउने मठमन्दिरको संरक्षण र व्यवस्थापनमा
* विभिन्न पालिकासँगको सिमानामा रहेका धार्मिक स्थलको प्रचारप्रसार सम्बन्धमा
* झरना सम्म पुग्ने बाटोहरू स्तोरन्नती तथा पदमार्ग निर्माण सम्बन्धमा

मंगलासँग सिमाना जोडिएको म्याग्दीको बेनी नगरपालिका, मालिका र रघुगंगा गाउँपालिकाको सिमानामा रहेका धार्मिक तथा पर्यटन क्षेत्रको विकासका लागि अन्तरपालिकासँग सहकार्य गरी बजेट विनियोजनको सम्भावना छ कि छैन ।
* अन्तरपालिका सिमानामा रहेको मालिका मन्दिरसम्मको पहुंच सहज बनाउन यसै वर्ष मोटरबाटो जोडिएको छ ।
* टोड्के भ्यू प्वाइन्ट सम्मको बाटोलाई सरल र सहज बनाइएको छ ।
* चिनाकोट भ्यू प्वाइन्टलाई थप व्यवस्थित गर्नको लागि पदमार्ग निर्माण गरिएको छ।

बावियाचौरमा रहेको मंगला इन्द्रेणी पार्कमा म्यूजियम बनाउने थियो, अहिलेसम्म के कस्ता काम भएका छन् ?
इन्द्रेणी पार्कलाई म्यूजियम बनाइएको छ । म्यूजियम प्राङ्गणमा बगैचा निर्माण गरिएको छ । हरेक दिन सरसफाइको व्यवस्था रहेको छ। केटाकेटी खेल्नको लागि आवश्यक खेल सामग्रीहरूको व्यवस्था गरिएको छ । स्थानीय स्तरमा उपलब्ध पूराना सामग्रीगरू संकलन गर्ने गरिएको छ ।

पर्यटकीय क्षेत्रमा पूर्वाधार नहुदाँ धार्मिक तथा अन्य पर्यटकलाई आर्कषिन गर्न सकिएको छैन, यसलाई कसरी लिनुहुन्छ ।
पालिकाको वार्षिक स्वीकृत बजेट अनुसार पूर्वाधार निर्माण र स्तरोन्नतीको काम भैरहेको छ । पालिकाको आफ्नै आन्तरिक स्रोत न्यून रहेको र बिभिन्न विषयगत क्षेत्रमा बजेट विनियोजन गर्नुपर्ने हुँदा जे जति विनियोजित सोही बमोजिम कार्य भैरहेको छ ।

धार्मिक र पर्यटन क्षेत्रमा पर्यटकको आगमनका लागि आगामी दिनमा के कस्ता योजना बनाउनुभएको छ त
धार्मिक र पर्यटकीय क्षेत्रमा आवागमनको लागि सडक मार्ग र केहीमा पदमार्गको व्यवस्था गरिएको छ । आगामी दिनमा पालिकाको पहिचान र गौरव बढाउने महत्वपूर्ण पर्यटकिय र धार्मिक जहाँ पहुँच स्थापित भै सकेको छैन जहाँ सडक, पदमार्गबाट पहुँच स्थापित गर्ने योजना रहेको छ ।


अन्त्यमा के भन्न चाहनुहुन्छ ।
सिंगो पालिकाको विकास गर्नका निम्ती आर्थिक, सामाजिक, पूर्णधार क्षेत्रको विकाससँगै पर्यटकिय र धार्मिक क्षेत्रको समेत विकास हुनुपर्ने आवश्यकता छ । जसबाट पालिकाको राजस्व अभिवृद्धिमा समेत सघाउ पुग्दछ ।

Leave a Comment