हरिकृष्ण गौतम
भनिन्छ– ‘विपद् बाजा बजाएर आउँदैन।’ विपद् भइसकेपछि उद्दार र राहत वितरण गर्नुलाई प्राथमिकता दिनुभन्दा पहिला विभिन्न माध्यमद्धारा न्यूनीकरणमा जोड दिनुपर्छ भन्ने सन्देश दिन बिहिबार म्याग्दीको सदरमुकाम बेनीमा नेपाली सेनाको श्री गुरु गोरख गुल्मको नेतृत्वमा नेपाल प्रहरी, शसस्त्र प्रहरी बलको टोलीले म्याग्दी खोलामा विपद् प्रतिकार्यकको ‘अभ्यास मनसुन’ एकिकृत प्रर्दशन गरेका छन् ।

म्याग्दीमा खोला, नदी तथा भीरमा हुने दुर्घटनासहित मनसुनको समयमा खोज तथा उद्धारलाई प्रभावकारी बनाउने उदेश्यले सञ्चालन गरिएको अभ्यासमा पहिरो, बाढी, डुबान, भीर तथा नदीमा फसेका व्यक्तिलाई कसरी सुरक्षित रूपमा उद्धार गर्न सकिन्छ भन्ने विषयमा प्रत्यक्ष प्रदर्शन गरिएको थियो ।

बेनी नगरपालिका वडा नं ७ मंगलाघाट जाने बाटो र बेनपा–२, हाँडेभीरबाट गरिएको अभ्यासमा बाढीपहिरोले म्याग्दी खोलामा फसेकालाई बाहिर निकाल्ने,खोँचमा फसेका व्यक्तिलाई डोरीको सहायताले उद्धार गर्ने तथा बेपत्ता भएकालाई गोताखोरको सहायतामा खोजीकार्य गरिएको लगायतका अभ्यास गरिएको थियो ।

करिब एक घण्टाको अभ्यासमा ‘हाइ एंगल रेस्क्यु’ प्रविधिमार्फत रिभर क्रसिङमार्फत जोखिमयुक्त क्षेत्र पार गराउन म्याग्दी नदीमाथिको बेलिब्रिजमार्फत समेत नदीमा बगाएकालाई रोप–बेको सहायताबाट उद्धार कार्य समेत गरिएको थियो भने अन्य आपतकालिन उद्धारका कार्यहरु समेत सञ्चालन गरिएको नेपाली सेनाको श्री गुरु गोरख गुल्मका मेजर राकेश बस्नेतले बताउनुभयो ।
उक्त अभ्यासमा बाढीपहिरोमा पुरिएका नागरिकको खोज तथा उद्धार, डुबानमा परेकालाई पानीबाट बाहिर निकाल्ने र बाढीले बगाएका व्यक्तिलाई सुरक्षित स्थानमा लैजाने अभ्यासको सर्वसाधारणले समेत अवलोकन गरेका थिए ।
संयुक्त अभ्यासको बेनी नगरपालिकाका मेयर सुरत केसी, प्रमुख जिल्ला अधिकारी रबिन्द्र आचार्यसहित सुरक्षा निकायका अधिकारी, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख लगायतको उपस्थिती रहेको थियो ।

संयुक्त अभ्यासको समापन कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी आचार्यले जिल्लाभित्र प्राकृतिक विपद्को उच्च जोखिमको पहिचान तथा उद्धारसहित पूर्व तयारीमा तीनै तहको सरकार, सरोकारवाला निकायको संलग्नता आवश्यक रहेको बताउनुभएको थियो ।

विपद्का समयमा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी बलले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय रहेको बताइएको थियो । जिल्ला प्रशासन कार्यालय र जिल्ला विपद् व्यवस्थापन समितिले नियमित बैठक तथा विभिन्न अभ्यासमार्फत बिपद्को अवस्थामा सुरक्षित राख्न विभिन्न सचेतनामुलक कार्यक्रम समेत गर्ने गरेको छ।









