नेपालका चर्चित मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रविन्द्र ढाँट चीनको मकाउमा जारी प्रतिष्ठित ‘रोड टु युएफसी’ सिजन ५ को सेमिफाइनलमा प्रवेश गरेका छन्।
बिहीबार भएको ब्यान्टमवेट विधाको क्वाटरफाइनल भिडन्तमा फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई स्तब्ध पार्दै रविन्द्रले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेका हुन्।
मकाउको ग्यालेक्सी एरेनामा भएको उक्त खेलमा रविन्द्रलाई हौसला दिन उल्लेख्य संख्यामा नेपाली समर्थकहरूको उपस्थिति रहेको थियो।
नेपाली झण्डासहित एरेना पुगेका समर्थकहरूको बाक्लो उपस्थितिले खेलको वातावरण निकै उत्साहजनक बनेको थियो। ऐतिहासिक जित दर्ता गरेपछि रविन्द्रले आफ्ना सम्पूर्ण समर्थक र शुभचिन्तकहरूलाई धन्यवाद ज्ञापन गरेका छन्।
अब सेमिफाइनलमा रविन्द्रले जापानका योनुसुके मिनामी र न्युजिल्यान्डका कासिब मुर्डोकबीच हुने खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछन्। यस ब्यान्टमवेट तौल समूहमा च्याम्पियन बनेमा रविन्द्रले विश्वकै प्रतिष्ठित ‘अल्टिमेट फाइटिङ च्याम्पियनसिप’ (युएफसी) को मुख्य स्टेजमा छनोट हुने ऐतिहासिक अवसर प्राप्त गर्नेछन्।
प्रतियोगिताको सुरुवाती तालिकाअनुसार रविन्द्रको भिडन्त म्याट्टी इआनसँग हुने तय थियो। तर, इआन घाइते भएपछि फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनले उनलाई ‘रिप्लेस’ गरेका थिए।
अन्तिम समयमा प्रतिस्पर्धी फेरिए पनि रविन्द्रले रिङमा उच्च कौशल र रणनीतिक प्रदर्शन गर्दै जित हासिल गर्न सफल भए।
रविन्द्र पछिल्लो समय नेपाली एमएमए क्षेत्रका सबैभन्दा चर्चित र सफल फाइटरका रूपमा चिनिन्छन्। उनले गत वर्ष भारतको ग्रेटर नोइडामा आयोजित ‘मेट्रिक्स फाइट नाइट १७’ मा भारतीय खेलाडी चुङरेन कवरेनलाई नकआउट गर्दै अन्तर्राष्ट्रिय उपाधि जितेर इतिहास रचेका थिए।
सोही लयलाई कायम राख्दै उनी अहिले युएफसीको मुख्य यात्रा तय गर्ने संघारमा पुगेका छन्।














