हरिकृष्ण गौतम
दक्षिणाम्नाय शारदापीठ शृङ्गेरीका शंकराचार्य श्री विधुशेखर भारती सन्निधानमले म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधार मन्दिरमा विशेष पूजाआराधना एवं दर्शन गर्नुभएको छ । धार्मिक भ्रमणका लागि नेपाल आउनुभएका शंकराचार्यले मुस्ताङको मुक्तिनाथ मन्दिरको दर्शन गरी गलेश्वरधाम मन्दिरमा भब्य स्वागत गरिएको थियो ।

पूजाआराधनापछि मन्दिर परिसरमा आयोजित विशेष समारोहमा प्रवचन दिँदै शंकराचार्य विधुशेखरले गलेश्वरधामको धार्मिक महत्वसहित मुक्तिनाथ मन्दिरसम्मको क्षेत्रका बारेमा चर्चा गर्नुभएको थियो । नेपाली जनतामा धर्म र संस्कृतिप्रतिको आस्था अत्यन्तै प्रगाढ रहेकाले आफ्नो नेपालको भ्रमण उपलब्धीमुलक भएको शंकराचार्य विधुशेखरको भनाई थियो ।

वैदिक दर्शनको मूल्य र मान्यतामा आधारित नेपाल र भारतले पूर्वीय दर्शन एवं ज्ञानका माध्यमबाट विश्वकै नेतृत्व गर्न सक्ने सामथ्र्य राख्ने शंकराचार्य विधुशेखरले बताउनुभयो । बुधबार राती आउनुभएका शंकराचार्य विधुशेखरले बिहिबार पूजाआराधानासहित भक्तजनलाई भेट गरी फर्किनुभएको छ ।
वैदिक गुरुहरूद्वारा स्वस्तिवाचन पाठ गरी स्वागत कार्यक्रममा कोषका प्रमुख संरक्षक एवं प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्य,कोषका उपाध्यक्ष बमबहादुर पुन ू र सदस्य सचिव सम्मरबहादुर थापाले जगद्गुरु शंकराचार्यलाई स्वागत तथा अभिनन्दन गर्नुभएको थियो ।

शंकराचार्य विधुशेखरले भगवान चन्द्रमौली तथा माता शारदा भगवतीको विशेष पूजा–अर्चना र बिहिबार विहान भगवान गलेश्वर महादेवको वैदिक विधिअनुसार षोडशोपचार, पञ्चोपचार तथा दक्षिणा अर्पणसहित अत्यन्त दिव्य एवं सभ्य रूपमा विशेष पूजा–अर्चना सम्पन्न गर्नुभएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कार्यालय सचिव तेजिन्द्र बहादुर खत्रीले जानकारी दिनुभयो ।
कार्यक्रममा कोषका प्रमुख संरक्षक प्रमुख जिल्ला आचार्य,वडा नं. ९ का वडा अध्यक्ष चक्रबहादुर के.सी लगायतको उपस्थिती रहेको थियो । शृङ्गेरी पीठका उत्तराधिकारी शंकराचार्यको यो भ्रमणले भारतीय हिन्दु धर्मालम्बीहरुको आगमन बढ्ने अनुमान गरिएको छ । एकैपटक करिब डेढ सय भारतीयसहित आउनु भएको थियो । यसअघि वि.सं. २०२२ सालमा शृङ्गेरीका शंकराचार्यले नेपाल भ्रमण गर्नुभएको थियो ।
शारदा पीठ, आद्य शंकराचार्यले हिन्दू धर्मको रक्षा र उत्थानका लागि स्थापना गरेका चार प्रमुख पीठहरूमध्ये पहिलो र जेठो पीठ हो। सनातन धर्मका सर्वोच्च गुरुका रूपमा पूजनीय शंकराचार्यका उत्तराधिकारीको म्याग्दी र मुस्ताङको भ्रमणको धार्मिक क्षेत्रमा निकै चर्चा छ ।

वैदिक सनातन धर्मको उत्थान र संरक्षणका लागि आदि गुरु शंकराचार्यले भारत वर्षका चार कुनामा चारवटा पवित्र पीठहरूको स्थापना गर्नुभएको थियो । दक्षिणको कर्नाटकस्थित चिकमगलुरमा स्थापित ‘श्री शृङ्गेरी शारदा पीठ’ जेठो र अत्यन्त उच्च आदर मानिएको पीठ हो । यसैबीच गलेश्वर शिवलाय क्षेत्र विकास कोषले यस भ्रमणको अवसरमा आउने सबै भक्तजनहरुलाई समेत धन्यवाद दिएको छ ।









