कालिगण्डकी नदीमा खसेर एक बालक बेपत्ता भएका छन् । पर्वत जलजला गाउँपालिका–३, मल्लाज जाने सिढी उकालो नजिक कालिगण्डकी नदीमा खसेर एक बालक बेपत्ता भएका हुन् ।
बिहिबार दिउँसो करिब २ बजे रुपन्देही जिल्ला रोहिणी गाउँपालिका-१ दुबौलिया घर भई हाल म्याग्दीको बेनी नगरपालिका- ८,कालिपुलमा सिद्रा व्यापार गर्दै बस्दै आएका दुर्गेश कुमार मल्लका ६ वर्षीय छोरा प्रियान्सु साहनी नदी किनारबाट खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
बेपत्ता बालक बाटोमा खेल्दै पानी भर्न जाने क्रममा अचानक कालिगण्डकी नदीमा खसेका थिए । घटनाबारे साँझ ६ः२० बजे दुर्गेश कुमार मल्लका भाइ शुसिल साहनीका १० वर्षीय छोरा रितिक साहनीले जानकारी गराएपछि घटना सार्वजनिक भएको थियो ।
बेपत्ता बालकको परिवारका सदस्यबाट घटनाका बारेमा जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक गोविन्द सुवेदीको कमाण्डमा १२ जनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो ।
घटनास्थल पर्वत क्षेत्रअन्तर्गत पर्ने भएकाले प्रहरी चौकी वारीबेनी पर्वतबाट समेत टोली परिचालन गरी खोज तथा उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे जिल्ला प्रहरी कार्यालय पर्वतलाई समेत जानकारी गराइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
तस्वीर : एआई सिर्जित तस्वीर










