म्याग्दीको बेनी नगरपालिका-५ र ६ को सिमानामा अवस्थित चुत्रेनीमा रहेको खेलमैदानमा पूर्वाधार निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनेको दुई बर्ष भयो । बेनी नगरपालिकाले डिपिआर बनाएर गण्डकी प्रदेश, संघीय सरकारलाई पटक–पटक खेलमैदानका लागि बजेट माग गरेपनि कार्यान्वयनमा आउन सकेका छैनन् ।
संघीय र प्रदेश सरकारको नजरमै नपरेको खेलमैदानका लागि आगामी आर्थिक बर्ष २०८३÷०८४ सालका लागि नगरपालिकाले साढे सात लाख बजेट विनियोजन गरेको छ ।डिपिआर बनेपछि उत्साहित स्थानीय यूवा यसपटक नगरपालिकाले बजेट विनियोजन गरेपनि संघीय र प्रदेश सरकारले गरेको बेवास्थाका कारण निराश छन् ।

चुत्रेनीलाई क्रिकेट खेल प्रर्वधनसहित अन्य खेलकुदजन्य गतिविधिमा केन्द्रित गर्ने योजनासहित बजेट माग गरेपनि सम्बोधन नभएपछि नगरपालिकाले खेलमैदानका प्रारम्भीक काम गर्न गरी बजेट विनियोजन गरेको नगरप्रमुख सुरत केसीले बताउनुभयो ।‘अहिले सम्रग बजेट घटेर आएको छ, यहाँ आवश्यक पर्ने पूर्वाधारका लागि पहल गरिरहेका छौ’ मेयर केसीले भन्नुभयो ।
चुत्रेनीको खेलमैदानका लागि ३ करोडको डिपिआर तयार भएको छ। वडा अध्यक्ष कृष्णसिङ बानियाँले बेनीबजारको खुल्लामञ्चपछि खेलकुद गतिविधिका लागि आर्कषक रहेपनि माथिल्लो सरकारको नजर नपुगेको बताउनुभयो ।
९ ए साईड फुटबलको खेलमैदान बनाउने तथा क्रिकेट खेल समेत नियमित हुने गरेको छ । द मुनसन युथ क्लवको सक्रियतामा निर्माण भएको मुनसन पिकनिक स्पट तथा पार्क पछिल्लो समय आन्तरिक पर्यटकहरुको रोजाईमा पर्न थालेको छ। सुन्दर, शान्त र मनोरम भएकाले खेल पर्यटनलाई समेत जोड्न सकिन्छ ।
यसैबीच बेनीस्थित खुल्लामञ्चमा स्थानीय सरकारले ८ बर्षको अवधिमा २ करोड ६० लाख बजेट विनियोजन गर्दा प्रदेश सरकारले जम्मा २० लाख विनियोजन गरेको छ भने संघीय सरकारबाट प्राप्त भएको २५ लाख बजेट संघीय सरकारकै कारण कार्यान्वयन नभई फिर्ता भएको थियो ।
खुल्लामञ्चलाई मिनी रंगशालाका लागि छानासहितको प्याराफिट, स्टेजसहित खेलमैदान विस्तारका लागि अझै थप ३ करोड लाग्ने अनुमान गरिएको छ । खेलमैदानमा बेनी नगरपालिका वडा नं ७ सहित नगरपालिकाले हरेक बर्ष बजेट विनियोजनमा प्राथमिकता दिने गरेको छ । त्यस्तै बेनपा–२, बगरफाँटमा मा रहेको खेलमैदानमा समेत बजेट माग्दामाग्दै चासो नदेखाएपछि स्थानीयले चन्दा र विभिन्न अभियानमार्फत काम गरेका छन् ।















