---Advertisement---

लोमन्थाङका न्यून आय भएका आमाहरूलाई सहयोग

On: July 9, 2026 9:04 PM
Follow Us:

उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिकाले न्यून आय भएका सुनौलो हजार दिनका आमाहरूलाई पोषणयुक्त खानपानमा सहयोग गर्ने उद्देश्यले नगद सहयोग गरेको छ । 

सुत्केरी भएका आमाहरूले राम्रो खानेकुरा खान नपाएका कारण बच्चालाई कुपोषण हुने तथा आमा र बच्चा दुवैको स्वास्थ्यमा समस्या आउने जोखिमलाई मध्यनजर गरी ’बहुक्षेत्रीय पोषण योजना’ अन्तर्गत १७ जना आमालाई २५ हजार रुपियाँ सहयोग गरेको हो । 

गाउँपालिका अध्यक्ष टसी न्हर्वु गुरूङ, उपाध्यक्ष छ्युमी विष्टले मातृशिशुको चौतर्फी वृद्धि विकासका लागि पोषणयुक्त खानाको सेवन अपरिहार्य रहेकाले नगदमार्फत आवश्यक सामान खरिद गर्नेगरी सहयोग हस्तान्तरण गर्नुभएको प्रमुख प्रशासकीय अधिकृत न्युटन लम्सालले जानकारी दिनुभयो । 

गाउँपालिकामा लागु भएको बहुुक्षेत्रीय पोषण कार्यक्रमका गर्भवती हुँदादेखि सुत्केरी हुँदै स्वास्थ्यकर्मीले समेत नियमित निगरानीमा राख्ने, गर्भ चेकजाँचका लागि सचेत तथा प्रसुती सेवा स्वास्थ्य संस्थामै आउने वातावरण बनाउने अध्यक्ष गुरूङले बताउनुभयो । अध्यक्ष गुरूङले भन्नुभयो, ‘‘आमा र बच्चा दुवैको पोषणमा सुधार ल्याउन बजेटको अभाव हुँदैन, आपतकालिन अवस्थामा समेत सहयोग गर्ने गरिएको छ ।’’ 

लोमन्थाङ–२, छोसेरकी यूटिन गुरूङले पोषणयुक्त सामान खरिदमा उपलब्ध गराइएको विवरण अनुसार खरिद गरी प्रयोग गर्ने बताउनुभयो । सुनौलो हजार दिनका आमाहरूलाई पोषणसम्बन्धी सचेतनमुलक अभियान लिएर घरदैलोमा जाने तथा सहयोगले नवजात शिशुलाई आवश्यक पर्ने पोषणमा सुधार ल्याउन सहयोग पुगेको गुरूङको भनाइ छ । 

गर्भावस्थाको ९ महिना अर्थात् २ सय ७० दिन र बच्चा जन्मेको २ वर्ष अर्थात् ७ सय ३० दिनसम्मको अवधिलाई ‘सुनौलो हजार दिन’ (आमा र बच्चाको गोल्डेन डे) भनिन्छ । 

Leave a Comment