जिल्ला प्रहरी कार्यालय म्याग्दीले म्याग्दीका दुई फरक स्थानमा सञ्चालन भइरहेको जुवा (तास) खेलमा एकै दिन छापा मार्दै २४ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक घटनामा १७ जना र अर्को घटनामा ७ जना रहेका छन् । प्रहरीले दुवै स्थानबाट गरी करिब साढे तिन लाख नगद ८ बुक तास तथा अन्य सामग्रीहरु समेत बरामद गरेको छ ।
प्रहरीका अनुसार साउन २ गते प्रहरी टोलीले बेनी नगरपालिका–८,गणेशटोल स्थित एक घरमा छापा मार्दा जुवा खेलिरहेको अवस्थामा १७ जनालाई पक्राउ गरेको हो । उक्त स्थानबाट २ लाख ९१ हजार १५ नगद र ८ बुक तास बरामद गरिएको छ । बेनी नगरपालिका–८,का नेपाली कांग्रेस म्याग्दीका सचिव ५२ वर्षीय हिराबहादुर पुनको घरमा प्रहरीले छापा मारेर १७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले बताउनुभयो ।
‘जुवाका बारेमा सूचना दिएको केही मिनेटमा पुग्छौ,म्याग्दीमा विकृतिमात्रै होइन आर्थिक रुपमा समेत धेरैलाई तहसनहस बनाइरहेको छ’प्रहरी निरीक्षक तिमिल्सिनाले भन्नुभयो। बेनीमा जुवा खेलाउनकै लागि एसी कोठा तयार। गरिएको भेटिएको छ भने केही अस्पतालबाट रिफर भएका बिरामी समेत भेटिएको छ ।
प्रहरीले सदरमुकाम बाहिर रहेको बेनी नगरपालिका–१०, वाखेत स्थित बेगम पाइजाको एक स्थानमा जुवा खेलिरहेको अवस्थामा ७ जनालाई पक्राउ गरिएको छ । उक्त स्थानबाट ५२ हजार ८ सय १० नगद बरामद भएको छ । जिल्लाको सदरमुकाम बेनीबजारमा कोठा भाडा लिएर समेत जुवा खेलाउनेलाई प्रहरीले निगरानीमा राखेको छ भने ग्रामिण क्षेत्रमा समेत प्रहरी चौकीमार्फत निगरानी बढाइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक तिमिल्सिनाका अनुसार पक्राउ परेका सबै व्यक्तिमाथि जुवा सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ । जिल्लामा जुवा तथा अन्य अवैध गतिविधिविरुद्ध सशक्त निगरानीलाई अझ प्रभावकारी बनाउन प्रहरीले कुनै कसर बाँकी नराख्ने प्रहरीले जनाएको छ ।











