---Advertisement---

पोखरा विश्वविद्यालयमा ३ महिनाभित्र इन्नोभेसन सेन्टर खोल्न मन्त्री पुनको आह्वान

On: July 19, 2026 11:57 AM
Follow Us:

पोखरा ।

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले पोखरा विश्वविद्यालयमा आगामी ३ महिनाभित्र इन्नोभेसन सेन्टर स्थापना तथा सञ्चालन गर्न आह्वान गरेका छन् । उनले यसका लागि ठोस अवधारणा पत्र र प्रस्ताव तयार गरी पेश गर्न आग्रह गरे । विश्वविद्यालय, सरकार र उद्योग क्षेत्रबीचको सहकार्यबाट नवप्रवर्तन र उद्यमशीलताको प्रवर्द्धन गर्न सकिने विश्वास उनले व्यक्त गरे ।

मन्त्री पुनले २०८३ साउन १ गते शुक्रबार कास्कीको पोखरा–३० स्थित पोखरा विश्वविद्यालयको विशेष भ्रमण गरेका हुन् । भ्रमणका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले विश्वविद्यालयहरू अब केवल पठनपाठन गर्ने र डिग्री वितरण गर्ने संस्थामा मात्र सीमित रहन नहुने बताए । नेपालका अधिकांश विश्वविद्यालयहरूले हालसम्म शैक्षिक पक्षमा मात्र बढी ध्यान दिएको उनले उल्लेख गरे । अबका दिनमा अनुसन्धान र उद्यमशीलताको विकासलाई उच्च प्राथमिकता दिनुपर्ने आवश्यकता उनले औंल्याए ।

मन्त्रालयले आवश्यक कानुनी तथा नीतिगत सुधार गर्न लागेको जानकारी उनले दिए । यसअन्तर्गत सम्बन्धित ऐन संशोधनको तयारी भइरहेको उनले बताए । शिक्षाले युवाहरूलाई रोजगारी सिर्जना गर्ने उद्यमीका रूपमा विकास गर्नुपर्ने धारणा उनले व्यक्त गरे । डिग्री हासिल गरेपछि पनि युवाहरू रोजगारीको खोजीमा भौंतारिने वा विदेश पलायन हुने अवस्थाको अन्त्य हुनुपर्नेमा उनले जोड दिए । ‘विद्यार्थीलाई जागिर खोज्ने होइन, रोजगारी सिर्जना गर्ने उद्यमीका रूपमा विकास गर्नुपर्छ,’ उनले भने ।

Advertisement

यसअघि मन्त्री पुन विश्वविद्यालय आइपुग्दा उनलाई स्वागत गरिएको थियो । स्वागत गर्नेहरूमा उपकुलपति प्राडा देवेन्द्र अधिकारी र रजिष्ट्रार प्रा हरिबहादुर खड्का लगायतका पदाधिकारीहरू थिए । उनीहरूले मन्त्री पुनलाई विश्वविद्यालयमा स्वागत तथा सम्मान गरेका हुन् ।

Leave a Comment