राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर अन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजना रातिको समयमा बन्द गरिएको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मुस्ताङ जिल्लाबाट बग्ने कालीगण्डकी नदीसहित साना खोलामा पानीको बहाब उल्लेख्य बढ्ने तथा आकस्मिक बाढीको उच्च जोखिम रहने पूर्वानुमान गरेपछि सतर्कता अपनाउन सडक बन्द गरेको हो ।
जिल्ला सुरक्षा समिति मुस्ताङको शनिबार बसेको बैठक तथा छिमेकी जिल्ला म्याग्दीसँगको समन्वयमा शनिबार र आइतबार साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सडक बन्द सडक पूर्ण रूपमा गरिएको प्रमुख जिल्ला अधिकारी अजिता शर्माले बताउनुभयो ।
बाढीपहिरोको जोखिमका कारण सडकमा भौतिक र मानवीय क्षति हुन सक्ने खतरालाई दृष्टिगत गरी रातको समयमा सवारी सञ्चालन नगर्ने निर्णयको कार्यान्वयनका लागि मुस्ताङ र म्याग्दी प्रशासनले सडकखण्डमा सुरक्षाकर्मी खटाउने जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।
बेनीबाट जोमसोम जाने सवारीसाधनलाई बेनी नगरपालिका–९, गलेश्वरबजार र मुस्ताङबाट आउने सवारीसाधनलाई घाँसामा रोकिने छ । मुस्ताङ जाने सवारीसाधन साँझ ७ बजेभित्र मुस्ताङ प्रवेश गर्नुपर्ने र मुस्ताङबाट फर्किने सवारीसाधन साँझ ७ बजेभन्दाअघि नै गलेश्वर क्षेत्रबाट अगाडि बढ्नुपर्ने छ । भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर अन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले ७६ किलोमिटर लामो बेनी–जोमसोम सडक आयोजना २०७४ देखि निर्माण सुरु गरिएको थियो । सडक आयोजनाको बेनी–लेतेसम्मको ३८ किलोमिटर सडकखण्डमा सानाठुला पहिरा छन् ।











