म्याग्दीको बेनी नगरपालिका–९मा अवस्थित गलेश्वर शिवालय मन्दिरमा पहिलो सोमबार भक्तजनबाट चढाइएको भेटी सार्वजनिक गरिएको छ। मंगलबार बिहान सरोकारावाला निकायको उपस्थितिको गलेश्वर मन्दिर परिसरमा भक्तजनले चढाएको २ लाख ९हजार ८४० रुपैयाँ संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कार्यालय प्रमुख मदन खत्रीले बताउनुभयो ।
मन्दिरमा भेटीबाट १ लाख ९६ हजार ५ सय ४९ रुपैयाँ र रसिदबाट १३ हजार २ ९१ रुपैयाँ संकलन भएको थियो ।
भेटी मुचुल्का गरेर प्रहरीकै सुरक्षामा भेटी र कोषमा राखिएको चावी प्रहरी चौकीबाट मन्दिर परिसरमा ल्याएर कोषका पदाधिकारी, कर्मचारी गलेश्वर आमा समूह, प्रहरी र स्थानीयबासीको उपस्थितिमा फिजारिएर गनेर सार्वजनिक गरिएको कोषका सदस्य सचिव सम्मरबहादुर थापाले बताउनुभयो । दान संकलन गर्ने क्रममा छिटफुट भेटी भेटिएमा हरेक महिनाको १५ दिनमा सार्वजनिक गरिन्छ।
कृष्णागण्डकीवाट उठेर ९ रोपनी चट्टानमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिर भित्र स्वयम् उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको क्षेत्रमा प्रवेश गरेमात्रै पनि मनोकामना पुरा हुने जनविश्वासले मुक्तिनाथ मन्दिरमा जाने भक्तजनले समेत दर्शन गर्ने गरेका छन्।












