हरिकृष्ण गौतम
म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गा तातोपानीमा पाँचबर्षदेखि प्राकृतिक चिकित्सालय अलपत्र परेको छ । चिकित्सकको निगरानीमा औषधि प्रयोग बिना बिरामीको उपचार गर्ने उपकरणसहित पक्की भवन तयार भएपनि कानुनी विधि प्रक्रिया पूरा गर्न नसक्दा सञ्चालनमा आउन सकेको छैन ।
प्राविधिक र पूर्वाधार निर्माण गरी बि.स २०७८ साल असोज महिनादेखि बिरामी भर्ना गरेर सेवा सुरू गर्ने तयारी गरिएपनि दर्ता विना सञ्चालन गर्दा चिकित्सकले कानुनी झमेलामा पर्ने भन्दै बस्न नमानेपछि रोकिएको थियो ।
पर्यटन मन्त्रालयको ५० लाख र १ करोड तातोपानी कुण्ड व्यवस्थापन समिति गरी एक करोड पचास लाख रुपैयाँ लगानीमा पाँच तले भवन निर्माण गरिएको थियो भने खरिद गरिएको उपकरण प्रयोगविहिन अवस्थामा रहेको तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले बताए । ‘विधान संशोधनमा रोकिएको छ,यही बर्षदेखि सञ्चालनमा ल्याउन आवश्यक प्रक्रिया पूरा गर्नेछौ’अध्यक्ष खड्काले भने ।
उनले विगतमा आन्तरिक र जनशक्ति व्यवस्थापन गर्न बजेट अभाव भएपनि यसपटक भने कानुनी अनुमतिका कारण चिकित्सालय सञ्चालनमा ल्याउन नसकिएको बताए । गण्डकी प्रदेश सरकारले विनियोजन गरेको ५० लाखले बजेटबाट नगरपालिका मार्फत चिकित्सालयका लागि आवश्यक उपकरण र सामाग्री खरिद गरिएको सचिव कुमार केसीले बताए ।

उनले प्रशासन र नगरपालिकासँग चिकित्सालय सञ्चालन सहमतिको लागि प्रक्रियालाई पूरा गरी असोज महिनाभित्र सञ्चालन गर्ने लक्ष्य रहेको बताए। ‘बिरामीको अत्याधिक माग छ,चिकित्सालयले बिरामीके चाप समेत बढ्ने अनुमान छ, कानुनी प्रक्रियामै पाँच बर्ष सकियो’ सचिव केसीले भने ।

चिकित्सालय सञ्चालनमा आएपछि तातोपानी स्नान नगर्ने बिरामी समेत आउने भएकाले आर्थिक कारोबार समेत बढ्ने स्थानीय ब्यवसायीको भनाई छ । म्याग्दी नदीको किनारमा जमिनभित्रबाट बिरेनुनको गन्धमा निस्कने ५० डिग्री सेल्सियस तातोपानी सङ्कलन गरिएको तलाउमा परम्परागत शैलीमा शरीर डुबाएर गरिँदै आएको प्राकृतिक उपचारलाई व्यवस्थित र प्रभावकारी बनाउन चिकित्सालय बनाइएको तातोपानी कुण्ड व्यवस्थापन समितिले जनाएको छ ।
चिकित्सालयमा हाइड्रो थेरापी (जल चिकित्सा), म्यानुयुलेटिभ (मसाज थेरापी), योगा थेरापी, पोषण थेरापी, अकुपंचर, फिजियो थेरापी, परामर्शको माध्यमबाट औषधीको प्रयोग बिना विभिन्न नसर्ने रोगबाट थलिएका बिरामीको उपचार गरिनेछ । लामो समयसम्म प्रयोगविहिन अवस्थामा रहेका उपकरणहरू सञ्चालन गर्दा समेत मर्मतमा खर्च लाग्ने देखिएको छ ।
शनिबार तातोपानी कुण्डको निरीक्षणमा गएकासंघीय सरकारका विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री डा महावीर पुनले सञ्चालनमा सघाउने प्रतिबद्धता जनाए । मन्त्री पुनले कानुनी प्रक्रिया पूरा गरी नाफारहित संस्थामार्फत चिकित्सालय सञ्चालन गर्न सकिने राय दिएका थिए । तातोपानीमा उपचार गराएमा ग्यास्ट्रिक, बाथ रोग, ढाड दुख्ने, छाला, सुन्निएको, बज्ररिएको, मर्किएको, पेट दुख्ने, खाना रूचि नहुने लगायतका स्वास्थ्य समस्या निको हुने जनविश्वासका साथ स्वदेश तथा विदेशबाट बिरामी आउने गरेका छन् ।

गन्ध आफैँमा एक प्राकृतिक एन्टिवायोटिक भएको हुनाले कुण्डमा स्नान गर्दा एक व्यक्तिमा भएको रोग अर्को व्यक्तिमा सर्ने सम्भावना कम हुन्छ । तातोपानी कुण्डमा पुरुष र महिलाहरूका लागि फरक फरक समय तालिका बनाइएको छ । तातोपानीमा बर्खा र चाडपर्वका महिना बाहेक अन्य समयमा बिरामीको भीड हुने गरेको छ ।
यो समाचार बेनी साप्ताहिक समाचारपत्रमा छ ।












