---Advertisement---

अब म्याग्दीमै पाथीभरा माताको दर्शन

On: July 21, 2026 10:37 PM
Follow Us:


नविन जुग्जाली
पाथीभरा माता नेपालको सबैभन्दा प्रसिद्ध शक्तिपीठहरुमध्ये एक हुन् । यो मन्दिर पूर्वी नेपालको ताप्लेजुङ्ग जिल्लामा अवस्थित छ र हिन्दू तथा किराँत, लिम्बु दुवै समुदायका लागि अत्यन्त पवित्र धार्मिकस्थल मानिन्छ ।

यस स्थानलाई मुकुम्लुङ भनेर श्रद्धापूर्वक मान्ने परम्परा छ । पाथीभरा माताजीको धार्मिकस्थल कोशी प्रदेश ताप्लेजुङ जिल्लामा फुङिलङ बजारको नजिकै पर्दछ । यस स्थल समुद्री सतहदेखि ३७९४ मिटर उचाईमा रहेको छ ।

यहाँबाट कञ्चनजङ्गा, कुम्भकर्ण, मकालु लगायतका सुन्दर हिमालहरुको मनमोहक दृश्यावलोकन गर्न सकिन्छ र पाथीभरा माताजीलाई दुर्गा वा भगवतीको शक्तिशाली रुप मानिन्छ । भक्तजनहरुको सच्चा मनोकामना पूरा गर्ने सङ्कटबाट बचाउने, साहस, समृद्धि अधुरा अपुरा भएका काम पूरा गरिदिने र सन्तानको आशीर्वाद दिने देवीका रुपमा श्रद्धापूर्वक पूजा गर्ने चलन छ ।


अब पाथीभरा माताको उत्पत्तिको कथातर्फ जाउँ, पहिला यो ठाउँ भेडा चराउने खर्क थियो । एक दिन गोठालाका धेरै भेडाहरु हराए । राती देवीले सपनामा दर्शन दिई पूजा र बली चढाउन भनिन् र देवीको आदेश अनुसार पूजा गरेपछि सबै भेडाहरु सुरक्षित भेटिए ।

त्यसपछि उक्त स्थानमा देवीको पूजा सुरु भयो र पछि मूर्ति निर्माण गरी देवीको पूजा गर्न थालियो । अर्को तर्फ किराँत समुदायले यस स्थानलाई मुकुम्लुङ भनी प्रकृति र शक्ति देवताको पवित्र स्थानका रुपमा आदिकालदेखि पूज्दै आएका छन् ।

हिन्दू र किराँत दुवै परम्पराले यस स्थानलाई आ–आफ्नै धार्मिक आस्था र श्रद्धाबाट पूजा गर्ने परम्परा रहेको छ । यो शक्तिपीठमा आई पुग्ने प्रायःजसो भक्तजनहरुले मनोकामना पूरा होस्, सन्तान नहुनेले सन्तान प्राप्ति होस्, कार्यमा असफल हुनेले कार्य सफलता मिलोस् परिवारको सुख शान्ति समृद्धि, दीर्घायु, चिरायु रहोस् भनी वरदान माग्ने गर्दछन् ।

यसका लागि भाकल गर्ने गर्छन्, यसरी भाकल लिएर त्यहाँ पुग्ने भक्तजनहरुले रातो चुरा, रातो कपडा, सिन्दुर, फलफूल, अक्षता, प्रसाद आदि ईत्यादि पूजाका सामग्री अर्पण गर्दछन् भने कसैकसैले आफ्नो लक्ष्य सफलताको लागि माना पाथीमा सिक्का पैसा भरेर माताजीलाई श्रद्धापूर्वक अर्पण गरेका हुन्छन् ।

यसका साथै केही केही भक्तहरुले परम्परा अनुसार काली भैरवको थानमा पशुबली पनि चढाउँछन् भने धेरैजसो भक्तहरुले फलफूल पवित्र भावले सात्विक रुपमा पूजाआजा गर्दछन् र परम्परा अनुसार दर्शन गर्ने उपयुक्त समय भनेको दशैं, नवरात्री, वैशाख पूर्णिमा, चैतेदशैं हुन् ।

यसरी पाथीभरा माताको चरणमा पुग्दा नुहाएर सफा वस्त्र लगाउने, मन, वचन, कर्मभाव पवित्र राख्ने, देवीको नाम जप गर्दै उकालो चढ्ने, दर्शनपछि प्रसाद ग्रहण गर्ने गरिन्छ । भक्तजनको विश्वास अनुसार साँचो मनले भाकल गरेमा आफ्नो मनोकामना पूरा हुने र मनोकामना पूरा भएपछि पुनः दर्शन गरी धन्यवाद चढाउने परम्परा छ । देवीले जुनसुकै भक्तलाई सङ्कटबाट रक्षा गर्नुहुन्छ भन्ने जनविश्वास छ ।


यस पाथीभरा माताको परमभक्त डा. विपि तिमिल्सिनाज्यू प्रभुचेला धुरी ध्यानाश्रमद्वारा आयोजित तीन दिने आहार, विहार, विचार तथा वैरोध्य भोजनसम्बन्धी विशेष तालिमको सिलसिलामा बिम गाउँमा पाल्नुभएको थियो । सोही क्रममा तपोभूमिको दिव्यता महसुस गरी रु.२५ लाख बराबरको आर्थिक सहयोगमा उक्त स्थानमा पाथीभरा माताजीको मन्दिर स्थापना गर्ने उद्घोष गर्नुभएको थियो ।

जसमध्ये दश लाख बराबरको रकममा पञ्चधातुले जडित देवीको मूर्ति र छाता स्वर्ण रङमा तयार भएको छ भने बाँकी पन्ध्र लाख बराबरको रकममा मन्दिर परिसर निर्माणको काम धमाधम भइरहेको छ ।

आधा सम्पन्न भएको भागमा असारको २६ गतेका दिनमा देवघाटधामबाट पाल्नुभएका उच्चकोटीका ९ जना गुरुहरुद्वारा तीन दिवसीय यज्ञ हवन र मन्त्रपाठद्वारा उक्त मूर्तिलाई विधिवत् रुपमा प्राण प्रतिष्ठा गरिएको थियो ।

अब पाथीभरा माताको दर्शनका लागि ताप्लेजुङ पुग्न नसक्ने भक्तजनहरुलाई लक्षित गरी म्याग्दी प्रभुचेला धुरीमा दर्शन गराउने उद्देश्यले म्याग्दी पाथीभरा माताको मन्दिर निर्माण गरी प्राण प्रतिष्ठा गरिएको हो । यस स्थानमा पाथीभरा माताको दर्शन गर्न आउँदा पूजाविधि सबै समान हुनेछ फरक यति मात्र हुनेछ यहाँ बलीपूजा भने हुनेछैन।


यस तीर्थधामको नेतृत्व प्रभुचेला धुरी ध्यानाश्रमका मूल समितिले गर्ने भनिएको भएता पनि समय परिस्थिति अनुरुप उपसमिति निर्माण गर्न सकिनेछ र मालिका गाउँपालिकाका वर्तमान अध्यक्ष वेगप्रसाद गर्बुजालाई संस्थापक संरक्षक सदस्य रहने गरी देशभरिबाट उच्च व्यक्तित्वहरुको नाम छनोट गरेर एकसय देखि चार सयसम्मको संरक्षक सदस्य समिति निर्माण गर्ने र धार्मिक गौरवको रुपमा नवनिर्मित श्री पाथीभरा माताको मन्दिरको संरक्षण, आध्यात्मिक विकास, धार्मिक जागरण एवम् धार्मिक पर्यटनको प्रवद्र्धन गर्ने पवित्र उद्देश्यले गठन गरिएको हो ।


म्याग्दी पाथीभरा माताको मन्दिरको विशेष संरक्षण समितिको प्रधान संरक्षक स्वयम् म्याग्दी पाथीभरा माताको शाखा निर्माणका निर्माणदाता श्री डा. विपी तिमिल्सिना रहने गरी विशाल समिति गठन गर्ने लक्ष्य रहेको छ ।

हाम्रो म्याग्दी पाथीभरा माताको दर्शन गर्न जाँदा अतिरिक्त विशेष रहनेछ जस्तैः स्वर्गद्वारी प्यूठानका बालानन्द चैतन्य महाप्रभुका परमशिष्य कपिलानन्द गिरी महाराजजीले तपस्या गरेको तपोभुमिको दर्शन, भगवान बुद्धको दर्शनका साथै प्राकृतिक वातावरणमा बसेर ध्यान साधना गर्न सकिने ध्यानाश्रमको पूर्वाधार निर्माण भइसकेकोले आवासीय ध्यानको समेत सुविधा उपलब्ध हुनेछ ।


कहिलेकाहीँ एउटा दृढ सङ्कल्पले नयाँ इतिहासको सुरुवात गर्छ । पवित्र आस्था, निःस्वार्थ समर्पण र अटल विश्वासबाट जन्मिएको एउटा सङ्कल्प समयसँगै यथार्थमा परिणत भएको यसको ज्वलन्त उदाहरणका रूपमा म्याग्दीको मालिका गाउँपालिका–७, बिमस्थित प्रभुचेला धुरीमा स्थापित पाथीभरा माताको पवित्र धाम हो । पाथीभरा माताका परमभक्त डा. विपी तिमिल्सिनाले अनुभूति गर्नुभएको त्यही आध्यात्मिक प्रेरणाले आज मूर्त रूप लिएको छ ।

पाथीभरा माताको दिव्य मुर्ति विधिवत् प्राणप्रतिष्ठा भई भक्तजनका लागि दर्शन र पूजा–आराधनाको ढोका खुलेको छ । अब पाथीभरा माताको दर्शनका लागि ताप्लेजुङ नै पुग्नुपर्ने बाध्यता रहेन । म्याग्दीमै श्रद्धा, भक्ति र पवित्र भावका साथ माता पाथीभराबाट दर्शन, पूजा–आराधना तथा आशीर्वाद प्राप्त गर्न सकिने भएको छ । यो धाम केवल एउटा मन्दिर मात्र होइन, आस्था, साधना, सेवा र धार्मिक सद्भावको जीवन्त प्रतीकका रूपमा भावी पुस्ताका लागि पनि प्रेरणाको केन्द्र बनिरहने विश्वास गर्न सकिन्छ ।

Leave a Comment