नेपाली समाजमा बेलावखत प्रयोग गरिने उखान हो यो । जुवातास खेल्दा पैसा र इज्जतको नास हुने भएकाले उहिलेदेखि नै बूढापाकाले जुवा खेल्नुलाई विकृतिको रूपमा लिँदै आएका थिए। म्याग्दीका एक पुरूषलाई प्रदेश अस्पताल बेनीमा चेकजाँचको क्रममा छाती दुख्ने र मुटुको धड्कन असामान्य हुने समस्या चिकित्सकले देखिएको भन्दै सहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रमा रेफर गरेका थिए ।
चिकित्सकको सल्लाह अनुसार स्वास्थ्य रिपोर्टसहित रेफर पुर्जी लिएर शुक्रबार रात्रीबसमा काठमाण्डौ जानुपर्नेमा जुवाखालमा भेटिए । चिकित्सकले बेनी, पोखरामा उपचार नभई काठमाण्डौ नै जानुपर्छ सुझाव दिएका थिए । उनले उपचारका लागि गोजीमा हालेको पैसा समेत जुवा खेलेरै स्वाहा पारेका छन् ।
बेनी नगरपालिका–८,का हिराबहादुर पुनको घरमा प्रहरीले छापा मारेर १७ जनामा मुटुरोगी जुवाडेसहित मधुमेह भएकाले लगाउने ’इन्सुलिन’ का नियमित प्रयोगकर्ता समेत भेटिएका छन् । एकै ठाउँमा ठूलो संख्यामा जुवाडेलाई नियन्त्रणमा लिएको मध्ये पाँचजनालाई चिकित्सकको सल्लाहमा अस्पतालमा भर्ना गरिएको छ ।

पक्राउ परी स्वास्थ्य परीक्षणको क्रममा मधुमेह भएकाले लगाउने ’इन्सुलिन’ को प्रयोगकर्ता भएकाले नियमित औषधिसहित चेकजाँच आवश्यक रहेको भन्दै निगरानीमा राखिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले बताए ।
‘जुवाखालमा बिरामी अवस्थाका जुवाडे समेत भेटिए, सहरदेखि ग्रामिण क्षेत्रसम्म कडा निगरानी भइरहेको छ’ प्रहरी निरीक्षक तिमिल्सिनाले भने । जिल्ला प्रहरी कार्यालय म्याग्दीले जिल्लाका दुई फरक स्थानमा सञ्चालन भइरहेको जुवा (तास) खेलमा एकै दिन छापा मार्दै २४ जनालाई पक्राउ गरेको थियो ।

पक्राउ परेकामध्ये एक घटनामा १७ जना र अर्को घटनामा ७ जना रहेका छन् । प्रहरीले दुवै स्थानबाट गरी करिब साढे तिन लाख नगद ८ बुक तास तथा अन्य सामग्रीहरु समेत बरामद गरेको छ । बेनी गणेशटोलबाट २ लाख ९१ हजार १५ नगद र ८ बुक तास बरामद गरिएको थियो । बेनी नगरपालिका–१०, वाखेत स्थित बेगम पाइजाको एक स्थानमा जुवा खेलिरहेको अवस्थामा ७ जनालाई पक्राउ गरिएको छ ।
उक्त स्थानबाट ५२ हजार ८ सय १० नगद बरामद भएको छ । ‘जुवाका बारेमा सूचना दिएको केही मिनेटमा पुग्छौ,म्याग्दीमा विकृतिमात्रै होइन आर्थिक रुपमा समेत धेरैलाई तहसनहस बनाइरहेको छ’प्रहरी निरीक्षक तिमिल्सिनाले भने । बेनीमा जुवा खेलाउनकै लागि एसी कोठा तयार। गरिएको भेटिएको प्रहरीले जनाएको छ ।

एकल र समुहको लगानीमा जुवा खेलाउने गरिएको प्रहरीले जनाएको छ । जिल्लाको सदरमुकाम बेनीबजारमा कोठा भाडा लिएर समेत जुवा खेलाउनेलाई प्रहरीले निगरानीमा राखेको छ भने ग्रामिण क्षेत्रमा समेत प्रहरी चौकीमार्फत निगरानी बढाइरहेको छ । पक्राउ परेका सबै व्यक्तिमाथि जुवा सम्बन्धी कसुरमा ७ दिनको म्याद थप अनुसन्धान भइरहेको छ । जिल्लामा जुवा तथा अन्य अवैध गतिविधिविरुद्ध सशक्त निगरानीलाई अझ प्रभावकारी बनाउन प्रहरीले कुनै कसर बाँकी नराख्ने प्रहरीले जनाएको छ ।
जिल्लामा जुवाको ठूलो खालमा खेल्नेहरूबाट परिवारका सदस्य समेत आजित भएका छन् । परिवारका सदस्यबाट भने जुवाखालमा सम्पत्ति हारेको उजुरी अहिलेसम्म परेको छैन ।जिल्लामा प्रहरीले कारवाही गर्न खोज्दा विभिन्न शक्तीकेन्द्र तथा परिवारका सदस्यले नै जोगाउने गरेको पाइन्छ । सदरमुकाम बेनी, पर्वत बेनीसहित ग्रामिण क्षेत्रमा पेसेवर जुवाडेको बिकविकी छ । चाडपर्वमा जिल्ला बाहिरबाट समेत आउने गरेका छन् । प्रहरीले बेनीमा जुवाको अखडाको खोजी गर्न साधा पोशाकमा समेत परिचालन गरेको छ ।
यो समाचार बेनी साप्ताहिक समाचारपत्रमा छ ।













