म्याग्दीको सदरमुकाम बेनीमा सुविधासम्पन्न भलिबल कभर्डहल जग्गा खरिदका लागि म्याग्दी प्रवासी नेपाली संघ मोना दक्षिण कोरियाका उपाध्यक्ष दिपेन्द्र भण्डारीले १ लाख १ हजार सहयोग गर्नुभएको छ ।
पूर्व भलिबल खेलाडी समेत रहनुभएका रघुगंगा गाउँपालिका वडा नं २ साझापानीका भण्डारीले भलिबल खेलबाट म्याग्दीलाई विश्वभर चिनाउने खेलाडीहरुको सम्मान तथा नयाँ प्रतिभालाई प्रशिक्षणसहितका कार्यहरुमा सहज बनाउन उक्त सहयोग गरेको बताउनुभयो । जन्मभूमि म्याग्दी र खेल क्षेत्र को एतिहासिक अभियान लाई सफल पार्न साथ दिएको भण्डारीको भनाई छ।

भलिबलको प्रशिक्षण तथा खेल कर्भड हलमा सञ्चालन गर्ने उद्देश्यले म्याग्दी जिल्ला भलिबल संघ म्याग्दीको जग्गा खरिद र कभर्डहल निर्माणका लागि सञ्चालन गरेको अभियानमा सहयोग गर्नुृभएको अध्यक्ष संघका अध्यक्ष तेजेन्द्र बानियाँले बताउनुभयो । ‘भलिबल खेलमा धेरै ठाउँमा उपाधि समेत जित्न भण्डारीको भूमिका छ, उहाँ जिल्ला भलिबल संघको खेलाडी भएर समेत खेल्नुभएको छ’ अध्यक्ष बानियाँले भन्नुभयो । जिल्लाका लागि एक भलिबल कर्भडहलको निर्माण आवश्यकता रहेकाले अभियानका लागि विश्वभर आर्थिक संकलन अभियानलाई समेत तिब्रता दिएको अध्यक्ष बानियाँको भनाई छ।

बेनी नगरपालिका–७ बौद्ध विहार नजिकै दुई रोपनी ८ आना क्षेत्रफलमा फैलिएको जग्गा एक करोड ४२ लाख ५० हजारमाजग्गा खरिद गर्ने योजना रहेको छ । पहिलो चरणमा जग्गा खरिद गरेपछि दोस्रो चरणमा कभर्डहल निर्माण सुरु गरिनेछ ।राष्ट्रिय महिला भलिबल टोलीकी क्याप्टेन अरुणा शाही, कमला पुन सहित राष्ट्रिय तथा क्षेत्रीयस्तरा खेलाडी उत्पादन गरेको म्याग्दीमा खेलाडी उत्पादन तथ प्रतियोगिताहरू खुल्ला आकाशमा हुने गरेकोमा अब कभर्डहलमा सञ्चालन गर्ने गरी हाल अस्थायी रुपमा बेनी नगरपालिकाको सहयोगमा मैदान तयार भएको छ ।
कभर्डहलमा एक हजार जना दर्शक क्षमता भएको भलिबल कोर्ट, जिमहल, कपडा फेर्ने कोठा, अफिसियल बैठककक्ष,चमेनागृह, प्यारापिट, विद्युत्, ध्वनि उपकरण, एसी, शौचालय, सयनकक्ष, एलसिडी बोर्ड, भण्डारण, जेनेरेटर सहित अन्य इन्डोर खेल विधालाई समेत स्थान दिइने छ । कभर्डहल बनाउन चार वर्षमा कुल साढे ३ करोड लागत लाग्ने अनुमान गरिएको छ ।









