प्रधानमन्त्री बालेन्द्र शाहले पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा विश्व कीर्तिमानधारी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) निधन प्रति दुःख व्यक्त गरेका छन्।
शाहले पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा रहेको ८,०५१ मिटर अग्लो ब्रोड पिक हिमाल आरोहणका क्रममा विश्व कीर्तिमानधारी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) सहित छ जना नेपाली र चार विदेशी आरोहीको निधन भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका हुन्।
सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले आफू स्तब्ध बनेको बताउँदै पर्वतारोहण केवल शिखर चुम्ने यात्रा मात्र नभई साहस, अनुशासन, त्याग र मानवीय सीमालाई चुनौती दिने अदम्य आत्मविश्वासको सर्वोच्च अभिव्यक्ति भएको बताएका छन्।
प्रधानमन्त्री शाहले हिमालले धेरैलाई शिखरको गौरव दिलाउने भए पनि कहिलेकाहीँ आफ्नै काखमा सधैँका लागि अँगालेर राख्ने भन्दै पर्वतारोहीहरू आफ्नो साहस, समर्पण र योगदानका कारण इतिहासमा सधैँ अमर रहने बताएका छन्।
उनले निर्मल पुर्जासहित सम्पूर्ण दिवङ्गत आरोहीहरूको भौतिक यात्रा मात्रै रोकिएर उनीहरूको साहस, समर्पण र योगदानको इतिहास सधैँ प्रेरणादायी र जीवित रहने विश्वास व्यक्त गरेका छन्।














