पश्चिम म्याग्दीको ‘लाइफलाइन’ मानिएको बेनी–दरबाङ सडकको फापरखेतको पहिरो आसपासमा चिराचिरा परेकाले यात्राको क्रममा सावधानी अपनाउनुपर्ने देखिएको छ। पहिरो झन झन भयानक बन्दै गएको अवस्थामा आसपासका चट्टान चर्किएको छ । बेनी नगरपालिका–४ र मंगला गाउँपालिका-२ को सिमानामा पर्ने पहिरो झनै फराकिलो बन्दै जाँदा रोकथामका साथै बर्षा नहुदाँ समेत जोखिम बढेपछि आवतजावतमा समस्या भएको छ ।

पहिरोको विकल्पमा वैकल्पिक सडक र म्याग्दी नदीमा पक्की पुलको काम करिब असोज महिनादेखि अगाडी बढ्ने देखिएपनि सम्पन्न हुन दुईबर्षभन्दा बढी लाग्छ । बर्खाको समयमा पश्चिम म्याग्दीका तीन स्थानीय तहबाट सदरमुकाम बेनीसम्म आउनजान पनि निकै समस्या हुने गरेको यात्रुको भनाई छ ।‘यो पहिरोमा अब हिउँदको समयमा पनि यात्रा गर्न जोखिम हुन्छ, यसबर्ष त धेरैपटक सताएको छ’ बावियाचौरका यूवा राजु पाण्डेले भन्नुभयो ।

अहिलेको अवस्थामा प्रयोग भइरहेको बैकल्पिक सडकमा मोटरसाइकलबाट आवतजावत गर्न समेत निकै समस्या भएको बताउँदै पुल बनाउन ढिलाइ गर्न नहुने बताउनुभयो । तत्कालिन समयमा ड्रिलिप परियोजना, जिविस तथा हाल पूर्वाधार कार्यालय बजेट खन्याएर पनि माथिबाट खस्ने पहिरो नरोकिदाँ पश्चिम म्याग्दीबासीले बर्खाको समयमा जोखिम मोलेर यात्रा गर्नुपरेको छ । करिब २० वर्षअघि सडकको मार्ग खोल्नुपूर्व नै यहाँ पहिरोको जोखिम थियो।

फापरखेतमा करिब २ सय मिटर सडक पहिरोग्रस्त छ। सडकदेखि साढे दुई सय माथि रहेको पहिरो यसपटक झनै फराकिलो बन्दै पुल आसपासको क्षेमाथि समेत खस्न थालेपछि पुल नजिकै रहेका घर समेत जोखिममा परेको छ ।२४ किलोमिटर दूरीको बेनी–दरबाङ सडकमा नियमित यातायात सञ्चालन गर्न फापरखेत र बाङ्ग्रेपहिरो मुख्य चुनौति बनेको छ।













