वैदिक कालदेखि माउँदै आइएको पर्व नागपञ्चमीका दिन पहिलेपहिले गाउँघरमा बिहानैदेखि चहलपहल हुन्थ्यो।
घरका मूलढोका, गोठ र तुलसीको मठमा नागको चित्र टाँसिन्थ्यो। गाईको गोबर, दूध, अक्षता, फूल र दुबो लिएर नाग देवताको पूजा गरिन्थ्यो भने पुरोहित घरघर पुग्थे।
प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी आज परेको छ। आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा तस्विर तथा प्रतिमा टाँसेर यो पर्व मनाइएको छ। यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प, बिच्छीलगायत जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ।
यस पर्वसँग जोडिएको मौलिक संस्कार भने पछिल्लो समय विस्तारै हराउँदै गएको भन्दै पुरानापुस्ता चिन्तित बनेका छन्। धार्मिक तथा सांस्कृतिक पक्षभन्दा देखावटी, सामाजिक सञ्जाल र बजारमुखी प्रवृत्तिले पर्वको प्राथमिकता र महत्त्व हराउन थालेको यहाँका ज्येष्ठ नागरिक बताउँछन्।
‘पहिले नागपञ्चमी भनेपछि घर सफा गर्ने, नागको चित्र बनाउने, पूजा गर्ने र परिवारका सबै सदस्य मिलेर बिहानैदेखि नागको पूरा गर्ने परम्परा थियो’, माथागढी गाउँपालिकाका ८३ वर्षीय कृष्ण पराजुलीले भने, ‘अहिले बजारमा तयार भएका चित्र ल्याएर टाँस्ने र पूजा गरेजस्तो गर्ने चलन बढेको छ। नयाँ पुस्ताले यसको अर्थ र महत्व बुझ्न पाएका छैनन्।’
पहिला नागपञ्चमीको तयारी हप्तौँदिन अघिदेखि हुने बताउँदै पुरानो पुस्ताका लागि नागपञ्चमी एउटा धार्मिक पर्व मात्र नभई घर, खेत, गोठ र प्रकृतिसँग जोडिएको संस्कारका रूपमा रहेको उनले अनुभव सुनाए।
‘पहिले गाउँघरमा नागपञ्चमीका लागि आवश्यक सामग्री जुटाउने काम केही दिनअघिदेखि नै सुरु हुन्थ्यो। अहिले पसलमा सबै सामान पाइन्छन्’, तानसेन काजीपौवाकी ७५ वर्षीया कमला रायमाझीले भनिन्, ‘घरमै चाहिने सामग्री जुटाउनुपथ्र्यो। त्यसैले पनि पर्व आउनुअघि छुट्टै उत्साह हुन्थ्यो।’ पर्वसँग जोडिएको सामूहिकता, मौलिक भाषा, कथा, लोकविश्वास र प्रकृतिप्रतिको सम्मान हराउँदै गएकामा उहाँले चिन्ता व्यक्त गरिन्।
रायमाझीले भनिन्, ‘समयसँगै संस्कार परिवर्तन हुन्छ। परिवर्तन हुनु नराम्रो होइन, तर परिवर्तनका नाममा आफ्नो मौलिकता, परम्परा र इतिहास बिर्सनु हुँदैन।’ घरका मूल ढोकामाथि नागका तस्बिरमा दही, दुबो, लाजा, चन्दनअक्षता, नैवेध, धुपदीपसहित विधिपूर्वक पूजा गर्ने चलन भए पनि पछिल्लो समय यस्तो परम्परा हराउँदै गएको उनको भनाइ छ।
पछिल्लो समय मानिसमा बढेको आधुनिकपन, देखासिकी, व्यस्ततालगायत कारणले पनि जतिसक्दो छिटो नाग टाँस्ने र पूजा सक्ने चलन बढेसँगै परम्परागत पूजा विधि लोप हुँदै गएको स्थानीय पराजुलीले बताए। सहरी जीवनले नागपञ्चमीको स्वरूपलाई अझ धेरै परिवर्तन गरेको छ। अपार्टमेन्टमा बस्ने, व्यस्त सहरी जीवनयापन गर्ने बढ्दै जाँदा यस्ता परम्परा ओझेलमा पर्ने गरेका उनको बुझाइ छ।
गाउँमा भने अझै पनि कतिपय ठाउँमा परम्परागत विधि कायम छन्। तर बसाइँसराइ, युवापुस्ताको विदेश पलायन र आधुनिक जीवनशैलीका कारण पुराना संस्कार निरन्तरता पाउने विषयमा प्रश्न उठ्न थालेको पण्डित विष्णु आचार्यले बताउनुभयो। विधिविधान र पुरानो रितिथितिअनुसार नागपूजा गर्न कठिन हुने बताउँदै सोही कारणले सहरी क्षेत्रमा यसको महत्त्व घट्दै गएको उनले उल्लेख गरे।
‘विधि विधानअनुसार पूजाआजा गर्न खोजे पनि पछिल्लो समय सहरी भेगमा शुद्ध गाईको दूध, गोबर तथा दुबोे अभाव हुन थालिसकेको छ’, पण्डित आचार्यले भने, ‘कति सामग्री जुटाउनै कठिन हुन थालिसकेको छ। नाग टाँस्दा सिक्का पनि टाँस्ने चलन छ, अचेल सिक्का पाउनै मुस्किल भइसकेको छ।’
नयाँ पुस्ता के भन्छन् ?
नयाँ पुस्ताका लागि नागपञ्चमीको अर्थ पुरानो पुस्ताको भन्दा केही फरक छ। युवाहरूले परम्परासँग जोडिएका सांस्कृतिक र पर्यावरणीय पक्ष खोज्नुपर्ने बताउँछन्। कतिपय युवाहरू नागपञ्चमीलाई प्रकृति र जैविक विविधतासँग जोडेर बुझ्नुपर्ने बताउँछन्।
बागलुङका नीरज शर्माले नागपञ्चमी पर्व संस्कृतिसँगै सर्प र वातावरण संरक्षणका लागि महत्त्वपूर्ण रहेको बताउनुभयो। पुरानोपुस्ताले जोगाएको संस्कार र नयाँपुस्ताले खोजेको वैज्ञानिक चेतनाबीच संवाद गराउने एउटा अवसर नागपञ्चमी रहेको उहाँको बुझाइ छ।
साँच्चिकैका नाग मासिँदैछन् ?
नागपञ्चमीका दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत गर्न हुँदैन र नाग, सर्पलगायत घिस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता थियो। यस दिन घरका ढोकामा कागजका नागका तस्बिर टाँसेर पूजा गर्ने प्रचलन छ। तर वातावरण सन्तुलन कायम राख्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने नाग पहिल्लो समय वास्तवमै मासिँदै गइरहेका छन् ? भन्ने गम्भीर प्रशन् उब्जाएको छ।
नाग पुज्दै आइएको हाम्रो समाजमा सर्प देख्ने बित्तिकै मार्ने चलन अझै पनि छ। सोही कारण सर्प जमिनबाट नाँसिदै गएका सर्प र भ्यागुताको अध्ययन गर्दै आउनुभएका गुल्मीका विष्णु अधिकारीले बताउनुभयो। मानवीय कारणले सर्प लोपोन्मुख बन्दै गएका अनुसन्धानकर्ताले बताएका छन्।
सर्पले टोक्ने बित्तिकै मानिस मर्छ भन्ने परम्परागत धारणा मानिसमा छ’, अध्ययनकर्ता अधिकारीले भने, ‘यसले टोकेर मानिस मरिहाल्दैन। असावधानी अपनाउँदा र झारफुकमा लाग्दा जोखिम बढी हुन्छ।’ त्यसमाथि सबै सर्प विषालु नहुने भएकाले आवश्यक सावधानी अपनाउनु र चिकित्सकको निगरानीमा बस्नुपर्ने उनको सुझाव छ।
आवश्यक सावधानी अपनाउँदा र चाँडै अस्पताल पुग्दा विषालु सर्पले टोके पनि मानिसको ज्यान बच्ने उहाँले बताउनुभयो। अधिकारीले सर्प पनि नागकै रुप भएकाले यिनीहरूलाई जोगाउनुपर्नेमा जोड दिए। उनले भने, ‘सर्प पनि नाग नै हुन्। यी प्रकृतिका लागि आवश्यक पर्ने, धार्मिक मान्यताअनुसार नागको पूजा गर्दा नाग, सर्प, बिच्छीलगायत जीवले दुःख नदिनेतथा अग्नि, मेघ र चट्याङको भयबाट बच्न सकिने धार्मिक विश्वास छ।’














