वैदेशिक रोजगारी तथा व्यवसायका सिलसिलामा संयुक्त अरब इमिरेट्स (यूएई) मा बसोबास गर्ने म्याग्देलीहरूको सामाजिक संस्था म्याग्दी प्रवासी नेपाली संघ, राष्ट्रिय कार्यकारी समिति यूएई (मोना यूएई) ले म्याग्देली पञ्चेबाजाको औपचारिक सुरुवात गरेको छ।
दुबईको वरदुबईस्थित गाउँबेँसी रेस्टुरेन्टमा श्रावण ३१ गते आयोजित विशेष कार्यक्रममा पञ्चेबाजाको विधिवत् पूजा–आजा गरी शुभारम्भ गरिएको हो। कार्यक्रममा मोना यूएईका अध्यक्ष काजिमान बुढाथोकी मगर तथा संस्थापक अध्यक्ष प्रदीप सुवेदीले पञ्चेबाजाको पूजा गरी उद्घाटन गर्नुभएको थियो।
परदेशमा रहेर पनि आफ्नो मौलिक संस्कृति, परम्परा र बाजागाजाको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले म्याग्देली पञ्चेबाजाको सुरुवात गरिएको मोना यूएईले जनाएको छ। विशेषगरी नयाँ पुस्तालाई नौमती पञ्चेबाजाको मौलिकता र सांस्कृतिक महत्वसँग जोड्दै यूएईमा रहेका नेपाली समुदायमाझ म्याग्दीको सांस्कृतिक पहिचान फैलाउने लक्ष्य संस्थाले लिएको छ।
पश्चिम नेपालको धौलागिरी क्षेत्रमा प्रख्यात पञ्चेबाजालाई म्याग्देली स्वाद र पहिचानसहित यूएईमा प्रस्तुत गर्न सुरु गरिएको यस समूहमा उत्कृष्ट सनहीबादक प्रकाश परियार, विष्णु परियार, रामु परियार, प्रबिन परियार, कमल परियार, मिलन परियार, सोनाम परियार र अनिल परियार लगायतका कलाकारहरू आबद्ध छन्।
कार्यक्रममा अध्यक्ष बुढाथोकीले पञ्चेबाजा समूहका कलाकारहरूलाई खादा लगाएर स्वागत गर्दै धन्यवाद व्यक्त गर्नुभएको थियो।
म्याग्देली नौमती पञ्चेबाजा समूहले प्रस्तुत गरेको मनमोहक धुनमा कार्यक्रममा सहभागी नेपालीहरू उत्साहपूर्वक नाच्दै रमाएका थिए। परदेशको भूमिमा नेपाली मौलिक बाजाको धुन गुञ्जिँदा कार्यक्रममा सांस्कृतिक उत्साह थपिएको थियो।
मोना यूएईले आगामी सेप्टेम्बर ६ मा आयोजना गर्न लागेको विशेष तीज कार्यक्रममा पनि म्याग्देली पञ्चेबाजासहित सांस्कृतिक प्रस्तुति रहने जनाएको छ। यूएईमा रहनुभएका सम्पूर्ण नेपाली समुदायलाई उक्त कार्यक्रममा सहभागी हुन संस्थाले हार्दिक निमन्त्रणा गरेको छ।
त्यसैगरी, यूएईमा रहेका अन्य नेपाली संघ–संस्थाले आफ्ना कार्यक्रमहरूमा म्याग्देली पञ्चेबाजा प्रस्तुत गराउन चाहेमा मोना यूएईसँग सम्पर्क गर्न अनुरोध गरिएको छ।
परदेशमा पनि आफ्नै गाउँ–ठाउँको संस्कृति, कला र पहिचानलाई जीवित राख्ने यो प्रयासले म्याग्दीको मौलिक सांस्कृतिक सम्पदालाई अन्तर्राष्ट्रिय नेपाली समुदायमाझ चिनाउन महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।














