आन्द्रामा क्यान्सर भएर थलिनुभएका म्याग्दी बेनी नगरपालिका–६ का भद्रबहादुर खत्रीको परिवारले सहयोगको याचना गरेका छन् । विगत ७ महिनादेखि मणिपाल अस्पतालमा उपचारार्थ खत्रीलाई दैनिक २० हजारभन्दा बढी खर्च हुने भएपनि विगतमा प्राप्त सहयोग र अन्य विभिन्न माध्यमबाट संकलन गरिएको आर्थिक सकिएपछि श्रीमति सिता कार्कीले सहयोगको याचना गर्नुभएको हो ।

हाल मणिपाल अस्पताल पोखरामा प्यालेटिभ वार्डको बेड नं ३ हजार ११ मा उपचार गराइरहनुभएका खत्रीलाई विभिन्न चेकजाँच गर्न आवश्यक भएपनि आर्थिक अभाव भएको श्रीमति कार्कीको भनाई छ । ‘औषधि किन्न पनि सकेको छैन। इष्टमित्रले गर्नु गरिसक्नुभयो। उपचार गराउन समस्या छ’, रुँदै भन्नुभयो । ‘बिरामीको अवस्था पनि एकदम गम्भीर भएपनि चिकित्सकले आवश्यक आर्थिक भएमा उपचार सम्भव भएको बताउने गर्नुभएको छ। अहिले औषधि गराउन पनि समस्या भएको छ।

आफन्त र वडा अध्यक्ष कृष्णसिंङ बानियाँको सहयोगमा विगतमा उपचार गरिएपनि अझै अस्पतालमा कति दिन राख्नुपर्ने हो टुंगो नभएको कार्कीको भनाई छ । सबैले सहयोग गरेमा उपचारमा सहज हुने कार्कीको भनाई छ । उपचारका लागि कर्जा लिएर र अन्य सापटी गरेर केही दिन सम्भव भएपनि होटलमा खाएको पनि उधारो तिर्न बाँकी भइसकेको बताउनुभयो । भद्रबहादुरको उपचारमा सहयोग गर्न चाहने सहयोगी मनले सिता कार्कीको ग्लोबल आइएमई बैंकमा रहेको ०४८०७०१००५९६३१ मा रकम जम्मा गर्न सक्नेछन्।












