‘गुणस्तरीय निःशुल्क शिक्षा सम्भव छ, भिन्न परिवेश साझा आकांक्षा’ भन्ने मूल नारासहित अन्तर्राष्ट्रिय युवा दिवस–२०२६ को सन्दर्भमा युवालक्षित कार्यक्रम सम्पन्न भएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) म्याग्दीको आयोजनामा सोमबार सदरमुकाम बेनीमा युवाहरुको अनुभव आदानप्रदान गरिएको हो ।
अगस्ट महिनालाई विश्वभर अन्तर्राष्ट्रिय युवा दिवसको रुपमा मनाउने कार्यक्रम तय गरिएकोमा सोही अनुसार म्याग्दीमा पनि युवाहरुको अनुभव साटासाट गर्नका लागि कार्यक्रम आयोजना गरिएको एनसिईले जनाएको छ । कार्यक्रममा नेपालको संविधानमा उल्लेखित मौलिक हक अधिकार, युवा सम्बन्धी नीति, देश विकासमा युवाहरुले खेलेको भूमिका, समाज रुपान्तरणमा युवाहरुले पु¥याएको योगदानलगायत विषयमा चर्चा गरिएको थियो ।

आजका युवा भोलिका लागि देश विकास र भविष्यका कर्णधार भन्ने गरिएको भए पनि युवाहरुलाई समावेश गरेर नीतिहरु निर्माण नभएकोमा सहभागी युवाहरुले चिन्ता समेत व्यक्त गरेका थिए । नेपालमा सङ्घीयताको कार्यान्वयनसँगै स्थानीय तह स्थापना भएको लामो समय बितिसक्दा पनि अहिलेसम्म युवालक्षित नीतिनियम, कार्यक्रम तथा योजना र रणनीतिहरु बनाउने क्रममा युवाहरुको सहभागिता शुन्य जस्तै रहेको भन्दै युवाहरुले युवालक्षित नीतिहरुको निर्माण गरी विदेशमा हुने युवा पलायन रोक्नुपर्नेमा जोड दिएका छन् ।

सोही अवसरमा एनसिई म्याग्दीको तर्फदेखि अनुगमनकर्ता प्रताप बानियाँले बेनी नगरपालिका र मंगला गाउँपालिकाको शिक्षा क्षेत्रसँग सम्बन्धित तीनवटा विषयहरु शिक्षा नीतिको कार्यान्वयन, युवा केन्द्रीत उत्तरदायी शिक्षा र शिक्षा सुशासनमा युवाको सहभागितामा गर्नुभएको अनुगमन रिपोर्ट सार्वजनिक गर्नुका साथै प्रस्तुतीकरण गर्नुभएको थियो ।
कार्यक्रममा सहभागी युवाहरुले अपाङ्गता भएकाहरुको पहुँच स्थापित हुनुपर्ने, अपाङ्गतामैत्री पर्याप्त संरचनाहरु बनाउनुपर्ने, ग्रामीण क्षेत्रको आवश्यकता र चाहनाअनुसार स्थानीय तहले शिक्षा नीति तर्जुमा गर्नुपर्ने, नीति निर्माणको तहमा युवाहरुको सहभागिता अनिवार्य तथा सुनिश्चित गरिनुपर्ने, वैदेशिक रोजगारीको मानसिकता त्यागेर स्वदेशमै युवालाई रोक्ने वातावरण बनाउनुपर्ने र सिपमूलक तालिमबाट सिमान्तकृत वर्गलाई समेट्नुपर्ने जस्ता सुझावहरु दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै एनसिई नेपालका केन्द्रीय उपाध्यक्ष दिलमाया बिटालुले संस्थामार्फत शैक्षिक क्षेत्रको विकास तथा शिक्षामा गुणस्तर कायम गराउनेतर्फ जोड दिइएको बताउनुभयो । उहाँले अनुभव साटासाट गर्ने कार्यक्रममा सहभागी युवाहरुले उठाउनुभएको सवाललाई एनसिईमार्फत सुझावको रुपमा सम्बन्धित निकायमा पेश गरिने बताउँदै आगामी दिनमा पनि युवालक्षित विभिन्न कार्यक्रमहरु सञ्चालन गरिने जानकारी दिनुभयो ।
कार्यक्रममा सहभागीहरु सोमप्रसाद सापकोटा, भीमकुमारी विक, अस्मिता भण्डारी, नमुना बानियाँ, मनु थापा लगायतले आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । एनसिईको केन्द्र, प्रदेश र जिल्लाका पदाधिकारी, एनसिई युवा समितिका सदस्यहरु, जिल्लास्थित विभिन्न क्लबका प्रतिनिधि, युवा, विद्यार्थी, पत्रकारलगायत सहभागी कार्यक्रम एनसिई म्याग्दीका कार्यवाहक संयोजक चिना बानियाँको सञ्चालनमा सम्पन्न भएको थियो ।













