आफ्नो ठेगाना परिवर्तन गरी म्याग्दीको बेनी नगरपालिका–८,अस्पतालचोकको एक होटलमा बसेका बाँके जिल्ला, कोहलपुर नगरपालिका–१ का अशोक थापालको डलरसहितको पर्स हराएपछि खोजीकार्यका लागि कालिपुलस्थित अस्थायी प्रहरी चौकीलाई जानकारी गराए ।
साउन २६ गते बिहान करिब ७ः४५ बजे अस्पताल चोक अगाडिको सडकबाट १ लाख ७५ हजार बराबरको विदेशी मुद्रा तथा राहदानी हराएका सूचना प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट कालिपुलबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दा हराएको विदेशी मुद्रा र राहदानी फेला पारी सम्बन्धित धनी थापालाई सुरक्षित रूपमा बुझाएको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक ग¥यो ।
रोजगारीका लागि यूएई पुगेपछि श्रीमती, एक छोरी, बुबाआमा र आफन्तसँग सम्पर्कविहीन भएका एक युवा विदेशबाट बिदामा नेपाल फर्किए पनि घर नगई मुस्ताङ घुम्न आएका थापाको नगदसहितकोहराएको एउटा पर्सले चार वर्षदेखि टुटेको एउटा परिवारको सम्बन्ध जोडिदिएको छ । श्रीमतिले आर्थिक जुटाएर रोजगारीका लागि यूएई पठाएपनि केहीबर्षमै थापाको श्रीमतीसँग सम्बन्धमा तिक्तता बढेको थियो । उनले श्रीमतीलाई ‘अरू कसैसँग विवाह गर्नू’ भन्दै सम्बन्धबाट टाढिन खोजेका थिए।
श्रीमतीले भने त्यसलाई अस्वीकार गर्दै आफ्नो वैवाहिक सम्बन्ध कायम राख्ने जवाफ दिएकी थिइन्। त्यसपछि उनी श्रीमती र छोरीसँगै बुबाआमा तथा आफन्तबाट समेत सम्पर्कविहीन भए । परिवारबाट टाढिन सजिलो हुने गरी फेसबुकलगायत सामाजिक सञ्जालबाट परिवारका सदस्यलाई हटाएका थापाले यसअगाडी समेत एकपटक नेपाल आएर घर नगई विभिन्न ठाउँमा घुमेर फर्किएका थिए ।
चार वर्षसम्म श्रीमती, छोरी र बुबाआमाले खोजी गरे पनि सम्पर्कमै आउन नखोजेका थापालाई हराएको पैसाले प्रहरीमार्फत परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले बताए । ‘पैसा हराएको सूचनाले नै परिवारसँग मिलन गराएको छ, नेपाली समाजमा विचित्रका घटनाहरू घट्ने गरेका छन्, खोजीकार्यका लागि हराएको पर्सले काम ग¥यो’ प्रहरी निरीक्षक तिमिल्सिनाल भने ।
प्रहरीले आइतबार विहान बेनीमा बसेका थापालाई जन्मदिने आमाबुबा, सासुससुरा, श्रीमतिको जिम्मा लगाएर पठाएको छ । श्रीमति, छोरी र परिवारका अन्य सदस्यका लागि श्रीमान जीवित हुँदाहुँदै पनि सम्पर्कविहीन र हराएजस्तै बनेका थिए। चार वर्षदेखि छुट्टिएका श्रीमानसँग जिल्ला प्रहरी कार्यालय म्याग्दीमा हमाल थर गरेकी स्थानीय सामुदायिक विद्यालयकी बालविकास शिक्षक हमाल थर गरेकी श्रीमतिले गुनासो पोखिन् ।
छोरीको हेरचाह र परिवारको जिम्मेवारी सम्हाल्दै संघर्ष र मेहनतलाई निरन्तरता दिएपनि श्रीमानले गलत सोचेको भन्दै अचानक आमनेसामने हुँदा भेट भावुक मात्र बनिन् अब श्रीमानले सम्बन्ध विच्छेद गर्न चाहेमा खुसी भएर दिने बाचा समेत गरिन् । ‘हराएको श्रीमान खोज्न उहाँकै पैसा हराउनुपर्ने रहेछ, उहाँ भेटिनु परिवारका लागि ठूलो राहत र खुसीको क्षण हो, अब बाँकी प्रक्रिया घरमै पुगेर उहाँकै चाहना अनुसार गर्छु’ थापाकी श्रीमतिले भनिन् । थापाले परिवारबाट टाढिन विभिन्न बहाना बनाउँदै आएको देखिएको प्रहरीको भनाई छ । हराएको एउटा पर्सले पैसा मात्र फिर्ता गराएन, परिवारबाट चारबर्षदेखि लुकेर हिँडिरहेका एक ब्यक्तिलाई परिवारलाई भेट्न बाध्य बनाएको छ ।










