-बिल पुर्जा पुन मगर
विश्वका अग्ला हिमाललाई आफ्नो साहस र अदम्य इच्छाशक्तिले चुनौती दिएका म्याग्देली छोरा निर्मल पूर्जा ‘निम्स दाई’ अन्ततः हिमालमै अस्ताए। तर उनले विश्वका सर्वोच्च शिखरमा पु¥याएको नेपालको नाम, नेपाली झण्डा र नेपाली साहस कहिल्यै अस्ताउने छैन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा रानामगरले पाकिस्तानस्थित ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा ज्यान गुमाएपछि पहिलोपटक राष्ट्रिय विभूति घोषणा गर्न सरकारसँग माग गरेलगत्तै धेरै टिकाटिप्पणी भएको देखियो । गत साताको मंगलबार नै सांसद रानामगरले प्रतिनिधिसभा बैठकमा बोल्दै निर्मल पुर्जाले आफ्नो असाधारण साहस, विश्व कीर्तिमान र उल्लेखनीय योगदानमार्फत नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताएर राज्यले राष्ट्रिय विभूतिको रूपमा सम्मान गर्नुपर्ने धारणा राख्नुभएको थियो । यो भनाई एउटा सांसदको मात्रै होइन विश्वभर रहेका नेपालीको हो । त्यसैले स्वर्गीय निम्स दाइलाई राष्ट्रिय विभूति घोषणा गर्न ढिला गर्नु हुँदैन।
सन् २०१९ मा उनले सुरु गरेको ‘प्रोजेक्ट पोसिबल’ पर्वतारोहण इतिहासकै असाधारण अभियान बन्यो। ८ हजार मिटरभन्दा अग्ला विश्वका सबै १४ हिमाल १८९ दिन अर्थात् ६ महिना ६ दिनमा आरोहण गरेर उनले विश्व कीर्तिमान कायम गरे। अभियानको सुरुवात आफ्नै जन्मभूमि म्याग्दीको नारच्याङमा रहेको ८ हजार ९१ मिटर अग्लो अन्नपूर्णबाट गरेका उनले त्यसपछि धौलागिरि हिमाल आरोहण गरे। धौलागिरि आरोहणमा उनले अतिरिक्त अक्सिजन प्रयोग गरेनन्। चीनको तिब्बतमा रहेको शिशापाङ्मा आरोहणका लागि विशेष अनुमति प्राप्त गर्दै उनले ‘प्रोजेक्ट पोसिबल’ पूरा गरेका थिए। त्यससँगै ८ हजार मिटरभन्दा अग्ला विश्वका सबै १४ हिमाल छोटो अवधिमा आरोहण गर्ने पहिलो पर्वतारोही बने।
निम्स दाइको नाममा १८ वटा गिनिज वल्र्ड रेकर्ड रहेको विवरण छ। सबै १४ हिमाल १८९ दिनमा, विश्वका शीर्ष पाँच ७० दिनमा र सगरमाथा–ल्होत्से–मकालु ४८ घण्टा ३० मिनेटमा आरोहण गर्ने कीर्तिमान उनका नाममा छन्। बिना अतिरिक्त अक्सिजन एभरेस्ट र ल्होत्से २६ घण्टामा आरोहण, एभरेस्ट–ल्होत्से–कञ्चनजङ्घा ८ दिन २३ घण्टा ११ मिनेटमा आरोहण तथा गिलगिट–बाल्टिस्तानका पाँचवटै ८ हजार मिटर अग्ला हिमाल बिना अक्सिजन आरोहण गर्ने कीर्तिमान पनि उनका छन्। हिउँदमा बिना अतिरिक्त अक्सिजन के–टु आरोहण गर्ने पहिलो आरोही बन्नु उनको अर्को ऐतिहासिक उपलब्धि हो। उनले ८ हजार मिटरभन्दा अग्ला हिमालमा ५० भन्दा बढी सफल आरोहण गरेका थिए।
तर प्रश्न यहाँ उठ्छ—विश्वभर नेपालको नाम चिनाउने निम्स दाइलाई ‘गैरआवासीय’ भन्दै उनको नेपाली पहिचानमाथि प्रश्न उठाउनु कति उचित हो?बेलायती सेनाको विशेष फोर्समा सेवा गरेका उनी विदेशमा बसे पनि आफ्नो पहिचान र अभियानमा नेपाललाई कहिल्यै अलग गरेनन्। विश्वका हिमाल चढ्दा उनले नेपालको नाम बोके। आरोहणका क्रममा संकटमा परेका आरोहीको उद्धार गरे, मृत आरोहीका शव व्यवस्थापनमा सहयोग गरे र मानवीय सेवामा समेत योगदान पु¥याए। साहसिक उद्धारका लागि उनले एमबीई सम्मानसमेत प्राप्त गरेका थिए। उनको जीवनमाथि बनेको १४ एभबपकः ल्यतजष्लन क्ष्क क्ष्mउयककष्दभि वृत्तचित्रमार्फत नेपाली साहस विश्वका १९१ देशसम्म पुगेको छ। त्यसैले उनको मूल्याङ्कन विदेशमा बसेको आधारमा होइन, उनले नेपालका लागि गरेको योगदानका आधारमा हुनुपर्छ। गैरआवासीयको कानुनी परिभाषा जे भए पनि, विश्वसामु नेपालीको गौरव बढाउने व्यक्तिलाई नेपाली पहिचानबाट टाढा धकेल्नु अन्याय हुनेछ।निम्स दाइलाई राष्ट्रिय विभूति घोषणा गर्नु एक पर्वतारोहीलाई दिइने सम्मान मात्र होइन। यो विश्वका सर्वोच्च शिखरमा फहराएको नेपालको झण्डा, नेपाली साहस र राष्ट्रिय गौरवप्रतिको सम्मान हुनेछ।
(लेखक धौलागिरी नौमति बाजा समुह यूकेका अध्यक्ष हुन्)














