भनिन्छ, ‘श्रीमान,श्रीमती एक रथका दुई पांग्रा हुन् ।’ जसरी रथको एउटा पांग्रा तलमाथि भयो भने दुर्घटना हुन्छ,श्रीमान–श्रीमतीको सम्बन्ध पनि त्यस्तै हो । क्षणिक आवेगमा हुने घटनाले सम्बन्ध टुक्राटुक्रा बन्न समय लाग्दैन् ।
म्याग्दीमा भएको एउटा घटनाले यही सम्बन्धभित्रको निर्दयताको डरलाग्दो रूप देखाएको छ । आफ्नै श्रीमानले कुटपिट गरी तरकारीमा प्रयोग हुने विषादी सेवन गराई कालीगण्डकी नदीमा फालिएकी एक महिला पौडिएर ज्यान जोगाउन सफल भएको घटना सार्वजनिक भएको छ ।
बेनी नगरपालिका–२, खवरास्थित जिल्ला कारागार नजिकै कालीगण्डकी नदी किनारमा बंगुर फार्म सञ्चालन गदैं आएका खोटाङ जिल्ला केपिलासगढी गाउँपालिका–६ स्थायी घर भई हाल बेनी नगरपालिका–८,कालीपुलमा बस्दै आएका ४७ वर्षीय प्रेमबहादुर राईले आफ्नै गर्भवती श्रीमतिलाई विषादीको प्रयोग गरी अचेत अवस्थामा कालिगण्डकी नदीमा फालेका थिए । पौडीमा राम्रो अभ्यास रहेकी महिलाले करिब दुई किलोमिटर तल बगिरहेको अवस्थामा होस खुलेपछि बाहिर निस्कन सफल भएकी थिइन् ।

यो घटना बि.स २०८३ जेठ ३१ गते साँझ करिब ७ बजे घटेको हो । जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर तिमिल्सिनाका अनुसार आफ्नै श्रीमतीलाई कुटपिट गरी घाइते बनाएपछि विषादी सेवन गराएका राईले कालीगण्डकी नदीमा फालेर राई फरार भएका थिए ।
दुई किलोमिटर बगेकी महिला होसमा आएपछि आफ्ना दाइ मेघबहादुर राईको शरणमा पुगेपछि मात्रै घटना सार्वजनिक भएको थियो। ‘श्रीमतिलाई हत्याको योजना बनाएको अभियुक्तले स्वीकार गरेका छन्, महिलाको स्वास्थ्य अवस्था अहिले सामान्य छ’ प्रहरी निरीक्षक तिमिल्सिनाले भने ।

परिवारको सहयोगमा घटनापछि तत्काल उपचारका लागि प्रदेश अस्पताल लगिएकोे भएपनि जटिल अवस्था भएकाले थप उपचारका लागि गण्डकी अस्पतालमा करिब १० दिनसम्म आईसीयूमा राखेर उपचार गरी स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको थियो । घटनामा आफ्नो संलग्नता लुकाउन अभियुक्त राईले समेत विषादी सेवन गरेको नाटक गरेका थिए ।
केही मात्रामा विषादी सेवन गरी अस्पतालमा उपचारसमेत गराएको अनुसन्धानबाट खुलेको छ । अभियुक्त राई निर्माण ब्यवसायी समेत हुन् । उनले सदरमुकाम बेनीमा घर तथा अन्य निर्माणका लागि समेत पेश्की लिएका थिए ।

घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका अभियुक्त राईलाई गएको असार २४ गते पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला अदालतका श्रेस्तेदार जगतबहादुर भण्डारीले बताए । अभियुक्त राईलाई जिल्ला प्रहरी कार्यालयले ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गरेको छ ।
अभियुक्त राईले श्रीमतिको गर्भमा रहेको भ्रूणको समेत नष्ट गर्ने उद्देश्य देखिएकाले अनुसन्धानाको क्रममा कसूरको गम्भीरता हेरी कडा सजाय हुने कानूनी व्यवस्था रहेको श्रेस्तेदार भण्डारीले बताए । जिल्लामा श्रीमानि, श्रीमतिका थरीथरी घटना घट्ने गरेपनि सम्बन्धभित्र हिंसा कति भयावह तहसम्म पुग्न सक्छ भन्ने कठोर उदाहरण अभियुक्त राईले घटाएको घटनालाई लिन सकिन्छ ।
म्याग्दीबाट प्रकाशित हुने बेनी साप्ताहिक पत्रिकाबाट साभार










