माछा मार्न जाँदा खोलामा फसेका एक दम्पत्तीको सकुशल उद्धार गरिएको छ । म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका–७, औलको ठाडो खोलामा शुक्रबार साँझ गएका रघुगंगा गापा–२, बैसरीका मन बहादुर पूर्जा र दुर्गादेबी पूर्जा अचानक खोलाको सतह बढेपछि बीचमा फसेको अवस्थामा उद्धार गरिएको हो ।
माछा मार्ने क्रममा खोलामा फसेपछि बैसरीकी मायाँ कार्कीले अस्थायी प्रहरी चौकी तिप्ल्याङलाई जानकारी दिएलगत्तै प्रहरी हवल्दार विनोद कुमार चन्दको नेतृत्वमा गएको प्रहरीको टोलीले स्थानीयसँगको सहकार्यमा उद्धार गरेको स्थानीय यूवा अमृत शाहीले बेनीअनलाइनलाई बताए । ‘खोलामा अलपत्र परेको खवर आएपछि रुख काटेर डोरीको सहायताले प्रहरीले ज्यानकै जोखिम मोलेर उद्धार गर्नुभयो, बर्खाको समयमा माछा मार्न जान कडाई गरिएको छ’ शाहीले भने ।

उद्धार गरिएका शाही दम्पत्तीले सूचना दिने र उद्धार गर्ने प्रहरीलाई समेत धन्यवाद दिएका छन् । यता बर्खाको समयमा पानीको बहाव बढ्न सक्ने भएकाले जोखिम मोलर माछा मार्न नजना समेत प्रहरीले अनुरोध गरेको छ। म्याग्दी, कालीगण्डकी, राहुघाट सहित जिल्लाभित्र रहेका ठाडो खोलामा बर्खाको समयमा समेत माछा मार्न जाने गरेका छन् ।










