रसुवाको भोटेकोशी क्षेत्रमा गएको बाढीमा परेका ७३४ जनाको शव फेला परेको छ भने दुई हजार ४९८ जना सम्पर्कविहीन रहेका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार बिहान ९ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै यसबारे जानकारी गराएको हो। फेला परेका ७३४ वटा शवमध्य रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, गोरखामा ५८, नवलपरासी पूर्वमा १८४, नवलपरासी पश्चिममा ८२, तनहुँमा ३६ र चितवनमा २५९ जना रहेका छन्।
प्राधिकरणका अनुसार बाढीग्रस्त क्षेत्रमा उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल गरी कुल १९ हजार ८९५ जना सुरक्षाकर्मी खटाइएका छन्। विभिन्न स्थानबाट जम्मा आठ हजार १८६ जनाको उद्धार गरिएको छ, जसमध्ये २७९ जनालाई जलविद्युतको सुरुङबाट हवाई उद्धार गरिएको हो। उद्धार कार्यका लागि नेपाली सेना र निजी गरी १६ वटा हेलिकप्टरमार्फत ९९ वटा हवाई उडान गरिएको छ। साथै, बाढीमा परेका २२७ जना विदेशी नागरिकको पनि उद्धार गरिएको छ।
सम्पर्कविहीन हुनेहरूमा नेपाल प्रहरीका २७, नेपाली सेनाका ४५, सशस्त्र प्रहरीका १३, भन्सार कार्यालयका १५, अध्यागमन कार्यालयका ४, रसुवाका ५६२, नुवाकोटको ११५, जलविद्युत आयोजनाका ९३३, मकवानपुरका ६५ र लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना रहेका छन्। यसैगरी, ५८९ जना विदेशी नागरिक र नेपाल घुम्न आएका विदेशमा बस्ने १२७ जना नेपाली नागरिक पनि सम्पर्कविहीन छन्।
बाढी प्रभावित क्षेत्रमा राहत र पुनरुत्थानको काम पनि अघि बढाइएको छ। प्रभावित क्षेत्रमा हालसम्म ३७ ट्रक र हेलिकप्टरबाट ७ वटा उडानमार्फत खाद्य तथा गैरखाद्य सामग्री पठाउनुका साथै सञ्चार सेटहरू समेत वितरण गरिएको छ। बाढीले १९८ वटा टेलिफोन टावरमा क्षति पुर्याएकोमा मर्मतपछि १४५ वटा सञ्चालनमा आइसकेका छन्।









