---Advertisement---

स्थायी नाका बन्दै कोरला

On: August 30, 2026 5:22 PM
Follow Us:

चीनसँगको व्यापारिक कारोबारका लागि मुस्ताङस्थित कोरला नाका नै प्रभावकारी बन्ने देखिएको छ । रसुवागढी र तातोपानी नाका प्राकृतिक विपत्का कारण जोखिममा पर्दा भरपर्दो नाकाका रूपमा कोरला उपयुक्त बन्दै छ । तथापि उच्च हिमाली क्षेत्रमा रहेको यो नाका चिसो मौसममा चल्न नसक्ने बाध्यता पनि रहेको छ । 

भोटेकोशी नदीमा आएको बाढीका कारण बुधबार रसुवाको टिमुरेस्थित भन्सार क्षेत्र ध्वस्त भएपछि सरकारले रसुवागढीबाट हुने आयातनिर्यातको कारोबार कोरला नाकाबाट गर्न व्यवसायीलाई आग्रह गरेको छ । चीनसँगको अर्को व्यापारिक नाका तातोपानी पनि बाढीपहिरोले जोखिममा रहेको अवस्थामा रसुवागढीको विकल्पका रूपमा कोरला नाकालाई सरकारले सुझाएको हो । 

सन् १९६० को दशकमा चीनमा तिब्बत गाभिएपछि तिब्बतका खम्पाले नेपाली भूमि प्रयोग गरेर विद्रोह गरेपछि रोकिएको भन्सार कार्यालय २०८० साल कात्तिक २७ देखि औपचारिक उद्घाटन भएको थियो ।

विसं २०८२ भदौ ३० देखि व्यावसायिक रूपमा सञ्चालनमा आएको भन्सार कार्यालय आफैँमा भने पूर्वाधारयुक्त छैन । बाढीकै कारण २०८१ सालमा रसुवागढी नाका सञ्चालनमा आउन नसक्ने भएपछि सरकारले कोरला नाकालाई विकल्पका रूपमा सञ्चालनमा ल्याएको थियो । उक्त नाकाबाट गत आवमा छ अर्ब ९१ करोड राजस्व सङ्कलन भएको थियो ।

त्यसयता सरकारले उक्त नाकाको कार्यक्षेत्र विस्तार गर्न बजेट विनियोजन गरेको छ । उक्त भन्सार कार्यालयका अनुसार उपल्लो मुस्ताङको ल्होमन्थाङ गाउँपालिका–४, नेचुङ भन्सार कार्यालयमा चालु आव २०८३/८४ मा भवन बनाउन ५० लाख रुपियाँ विनियोजन भएको छ । हाल एक दशकअघि निर्मित पाँच भवनबाट भन्सारको कार्य सञ्चालन हुँदै आएको छ । भन्सार कार्यालयभित्र रहेको एउटा साँघुरो कोठामा कर्मचारीको आवास छ । 

चीनको तिब्बत हुँदै लिजी–नेचुङ (कोरला) नाकाबाट विद्युतीय सवारीसाधनसहित कन्टेनरमार्फत सामान पैठारी हुने गरेको छ । यसरी सीमित पूर्वाधारबाटै भन्सार कार्यालय सञ्चालन भइरहेको छ । 

दैनिक अर्बको कारोबार गरे पनि भौतिक पूर्वाधारका लागि विगतमा पूर्वाधारका लागि न्यून बजेट विनियोजन भए पनि कार्यान्वयनमा चुनौतीसँगै कामै नगरी फिर्ता भएको थियो । रसुवा टिमुरेस्थित भन्सार कार्यालय बाढीले पूर्ण रूपमा क्षतिग्रस्त भएसँगै कोरला नाकामा चाप हुने भएपछि पूर्वाधार र जनशक्ति तत्काल थप्नुपर्ने अवस्था रहेको प्रमुख भन्सार अधिकृत प्रमुख विदुर चुडालले बताउनुभयो । उहाँले भन्नुभयो, “भन्सारमा पूर्वाधारको चरम अभाव छ । अन्य नाका अवरुद्ध हुँदा अब चाप बढ्छ । अस्थायी संरचना थपेर भए पनि सेवा दिनु पर्छ ।” १८ जना दरबन्दी रहेको कार्यालयमा हाल १२ जना कर्मचारी कार्यरत रहेकामा चाडपर्वको मुखैमा भीषण बाढीले रसुवाको भन्सार कार्यालय तहसनहस बनाएसँगै थप व्यवस्थापनसहितको तयारीका लागि आफू काठमाडौँमा हिँडेको उहाँले बताउनुभयो ।

चुडालले भन्नुभयो, “नाकादेखि सदरमुकाम जोमसोमसम्म पूर्वाधारको आवश्यकता छ, भन्सारमा कामकाज अझै पनि कागजी प्रणालीमै छ ।” भन्सार कार्यालय छोसेरमा तत्काल मालवस्तुको प्रविधियुक्त जाँचका लागि एक्सरे स्क्यानर, विद्युतीय प्रवेश प्रणाली, वाक थ्रु गेट र मालवाहक सवारीसाधन राख्ने यार्ड अति आवश्यक छ । रसुवा र तातोपानी भन्सार कार्यालयको विकल्पमा रहेको कोरला नाकाबाट कन्टेनर, ट्रक र ठुला मालवाहक गाडीसँगै तस्करीका सामानसमेत भित्रिने जोखिम रहेकाले नखोलीकनै जाँच गर्न एक्सरे स्क्यानर प्रयोग आवश्यक रहेको भन्सार कार्यालयले जनाएको छ । 

भन्सार कार्यालयले सदरमुकाम जोमसोममा नयाँ कर्मचारीलाई सिधै उपल्लो मुस्ताङ जानुअघि बस्ने गरी २० हजार रुपियाँ भाडामा कोठा लिएको छ । कोरला नाकामा चिनियाँ भन्सारको आमनेसामने हुने गरी भन्सार प्रयोजनका पूर्वाधार निर्माण गर्न एक हजार रोपनी जग्गा अधिग्रहण गरिए पनि हालसम्म कुनै संरचना बनाउन सकिएको छैन । कोरला नाकाबाट १४ किलोमिटरको दुरीमा रहेको भन्सार कार्यालयमा समेत करिब तीन सय रोपनी जग्गा छ । 

ल्होमन्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्बु गुरुङले भन्सार कार्यालयमा पर्याप्त जनशक्ति र पूर्वाधारका लागि स्थलगत निरीक्षणमा आउने सङ्घीय तथा प्रदेश सरकारका प्रतिनिधिसहित अर्थ मन्त्रालय, भन्सार विभागबाट समेत पर्याप्त चासो नदिँदा चीनसँग जोडिएका अन्य भन्सार नाका रोकिँदासमेत न्यून स्रोतसाधनबाट सञ्चालन गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो । अध्यक्ष गुरुङ भन्नुहुन्छ, “भन्सारमा आवश्यक पर्ने प्रविधि, जनशक्ति र पूर्वाधार सामान्य छ; अब पनि ध्यान नदिँदा देशलाई धेरै नोक्सानी हुन्छ ।”

भन्सार कार्यालयसहित अध्यागमन कार्यालय, पशु तथा खाद्य क्वारेन्टाइन, सशस्त्र बोर्डर आउट पोस्ट (बिओपी) सहित अन्य सरकारी निकायको भौतिक पूर्वाधारसमेत पर्याप्त नभएको अध्यक्ष गुरुङले बताउनुभयो । तिब्बतको झोङ्वा काउन्टीले दसगजा क्षेत्रमा २० फिट लामा र १० फिट चौडाइ भएका पाँच वटा प्रिफेब कन्टेनर जडान गरेपछि नेपाली सुरक्षाकर्मीको अस्थायी आश्रयस्थल बनेको छ  ।

कोरला नाका नेपाल हुँदै भारत र चीन जोड्ने सबैभन्दा छोटो (४३५ किलोमिटर) दुरीको नाका पनि हो । कोरला नाकाबाट २० किलोमिटरयता तिब्बततर्फ सिगात्सेबाट आएको ‘चाइना नेसनल हाइवे २१९’ सँग जोडिन्छ । यो नाका सञ्चालन आएमा नेपाल–चीन–भारतबिच त्रिदेशीयसँगै दक्षिण एसियाली देशको व्यापारसमेत जोड्न सकिन्छ । भन्सार कार्यालयलाई प्रभावकारी बनाउन छुसाङ–कोरला सडकमा कालोपत्रे, निर्माणाधीन पक्की पुलको पूर्णता, १८६ किलोमिटर दुरीको छिमेकी जिल्ला म्याग्दीको सदरमुकाम बेनीदेखि मुस्ताङको जोमसोम हुँदै कोरला सडकलाई बाह्रै महिना सञ्चालन, बाढीपहिरोग्रस्त स्थानमा वैकल्पिक वा थप पूर्वाधार विस्तार गर्न सके नाकाबाट आयात हुने सामान ढुवानीमा सहज बनाउन पर्छ । करिब २० किलोमिटर क्षेत्र पहिरोग्रस्त छ । आव २०८२/८३ मा कुल १४ अर्ब ४० करोड छ लाख रुपियाँ बराबरको सामान आयात तथा २० करोड ४० लाख ५५ हजार रुपियाँ बराबरको निर्यात भएकोमा कोरला नाकाबाट तीन हजार २२३ विद्युतीय सवारीसाधन भित्रिएका थिए । चालु  आव २०८३/८४ मा राजस्व सङ्कलनको लक्ष्य नौ अर्ब निर्धारण गरिएकोमा साउनमा २९ करोड ६९ लाख राजस्व सङ्कलन भएको छ ।   

Leave a Comment