---Advertisement---

विगतका भयानक क्षतीबाट पाठ सिक्दै पूर्वतयारीमा सरकार गम्भीर बनोस् !

On: September 4, 2026 8:40 AM
Follow Us:

म्याग्दी हिमालको जिल्ला हो। संसारकै सातौँ अग्लो धौलागिरि हिमालदेखि विश्वको दशौँ अग्लो अन्नपूर्ण प्रथमसम्मका विशाल हिमश्रृङ्खला यही जिल्लाको भूगोलमा छन्। धौलागिरि प्रथमदेखि छैटौँसम्मका चुचुरा, गुरजा, चुरेन, निलगिरि, मानापाथी, पुथा, हिउँचुली, सीता हिमाल, बराह शिखरलगायतका हिमाल तथा हिमचुचुराले म्याग्दीलाई प्राकृतिक रूपमा समृद्ध मात्र बनाएका छैनन्, सम्भावित प्राकृतिक विपत्तिको जोखिममा समेत राखेका छन्। म्याग्दीमा नामकरण गरिएका ४१ वटा हिमाल तथा हिमचुचुरा रहेको तथ्य आफैंमा गौरवको विषय हो। तर, यिनै हिमालमा रहेका हिमनदी, हिमताल र हिमपहिरोको अवस्थाबारे राज्य अझै गम्भीर देखिँदैन।् ।

म्याग्दीका मुख्य तीन जलाधार राहुघाट, म्याग्दी र कालीगण्डकीमा पहिरो खस्ने, थुनिने र अचानक आउने बाढीले यसअघि पनि ठूलो मूल्य चुकाइसकेको छ।२०५५ असोजमा गोगनपानीको भीर भत्किँदा भुरुङ तातोपानी बजार प्रभावित हुनुका साथै कालीगण्डकी नदी करिब १० घण्टा थुनिएको थियो।


२०४७ सालमा हिस्तानको पैह्राथाप्लामुनिबाट खसेको पहिरोले भगवती क्षेत्रनजिक कालीगण्डकी थुनिएको थियो। २०७२ जेठमा राम्चेको काफलडाँडाको भीर भत्किँदा बैसरी बस्ती नै पुरियो र कालीगण्डकी नदी करिब १६ घण्टा थुनिएको थियो भने रघुगंगा क्षेत्रको मूलपानी–चिमखोला आसपास रायोखोरबाट खसेको पहिरोले राहुघाट खोला थुनेर करिब एक किलोमिटर लामो ताल,गुर्जाखोला पहिरोले खोला आठ घण्टा थुनिएको घटनालाई सामान्य मौसमी दुर्घटनाका रूपमा लिएर उम्कने अवस्था छैन।

मुख्य तीन जलाधार क्षेत्रमा बाढीपहिरोले नदी थुनिन सक्छ र त्यसपछि बन्ने ताल फुट्दा तल्लो तटीय क्षेत्रमा अकल्पनीय क्षति हुन सक्छ। हिमतालको जोखिम झनै गम्भीर विषय हो ।विपत्ति आएपछि उद्धार र राहतमा सक्रियतासँगै राज्यको जिम्मेवारी त्यतिमै सकिँदैन। विपत्ति आउनुअघि जोखिम पहिचान गर्नु,सम्भावित क्षतिको अनुमान गर्नु र नागरिकलाई समयमै सूचना दिनु राज्यको अझ ठूलो जिम्मेवारी हो।


म्याग्दीमा अझैपनि पहिरो गएपछि बाटो खुलाउने, बाढी आएपछि उद्धार गर्ने र क्षति भएपछि राहत बाँड्ने कामलाई नै विपद् व्यवस्थापन मानिन्छ भने सरकारी अभ्यास समेत प्रतिक्रियामुखी छ। रसुवामा भएको प्राकृतिक विपत्तिले म्याग्दीलाई ठूलो पाठ सिकाएको हुनुपर्छ। जिल्लाको हिमाली क्षेत्रमा तत्काल स्थलगत अनुगमन आवश्यक छ।

हिमताल, हिमनदी, हिमपहिरो र पहिरोको जोखिमयुक्त क्षेत्रमा नियमित अध्ययन हुनुपर्छ। ड्रोन तथा स्याटेलाइट प्रविधिको प्रयोग गरेर जोखिम क्षेत्रको निगरानी गर्नुपर्छ। नदी तथा खोलाको जलस्तर मापन गर्ने आधुनिक उपकरण जडान गर्नुपर्छ। सम्भावित जोखिमको नक्साकन गरी तटीय बस्तीलाई जोड्ने प्रभावकारी पूर्वसूचना प्रणाली विकास गर्नुपर्छ। प्रकृतिले कहिले प्रहार गर्छ भन्ने हाम्रो नियन्त्रणमा छैन। तर, पूर्वतयारीसहित प्रविधिमैत्री बनाउन सकिन्छ । म्याग्दीकका खोलानदीले पटक–पटक संकेत दिइरहेको अवस्थामा अब विपत्ति भोगेर सिक्ने होइन, सम्भावित विपत्ति पहिचान गरेर जोगिने संस्कार विकास गर्नुपर्छ। यही नै सरकार, स्थानीय तह र सरोकारवाला निकायको पहिलो जिम्मेवारी हो।

यो बेनी साप्ताहिक पत्रिकाबाट साभार गरिएको हो ।

Leave a Comment