---Advertisement---

दग्नामका यामबहादुरको करिब ६ दशकपछि घर फर्किदा…

On: September 6, 2026 9:32 AM
Follow Us:

घर छाड्दा म्याग्दीको रघुगंगा गाँउपालिका–४, दग्नाम कान्छिगाउँका यामबहादुर तिलिजा करिब २३ वर्षका थिए। रोजगारीको खोजीमा भारतको मणिपुरको ग्रामीण क्षेत्रमा दयनीय जीवन बिताइरहनुभएका ८१ वर्षीय तिलिजा शनिबार ५८ बर्षपछि जन्मथलो फर्किएका छन् ।

मणिपुरको जंगलमा भेडाबाख्रा चराउँदै गरेको अवस्थामा गत साउनमा नेपालीभाषी मनिपुरका पत्रकार मनि तामाङ र नेपालबाट गएका यूटुबर खेम देवानले तिलिजालाई भेटेपछि घर फर्कने बाटो खुलेको हो। भारतमा गएपछि मनिपुरको जंगलमा सामान्य गुजारा चलाएर बस्नुभएका तिलिजाको ‘भिडियो’ सार्वजनिक भएपछि परिवारजनले उनीहरुको पहिचान गरी सम्पर्क गरेका थिए ।

‘मणिपुरमा सवारीसाधनमा नियमित हिड्नुपर्छ, एकदिन जंगलमा दुई जना वृद्ध बसिरहेको देखेपछि मैले भिडियो बनाएर युट्युबमा राखेपछि परिवारजन सम्पर्कमा आउनुभयो, परिवारका सदस्य नै जिम्मा लिन आउन कानुनी प्रक्रिया लामो भएकाले प्रक्रिया पूरा गरी पठाए’ मनिपुरबाट पत्रकार तमाङले भन्नुभयो । निमोनियाबाट बिरामी तिलिजालाई धरानस्थित विजयपुर अस्पतालमा चार दिन भर्ना गरी उपचार समेत गरेर दग्नामस्थित घरमा ल्याएर छोडिएको युटुवर खेम देवानले बताउनुभयो।

दग्नाम पुगेपछि तिलिजाका तीन भाइ, बुहारी र परिवारका सदस्यले उहाँलाई फूलमाला लगाएर स्वागत गर्नुभएको थियो । करिब ६ दशकभन्दा लामो समयपछि दाजुलाई देखेका भाइहरुले आफूहरुले खोजी गर्न नसकेको विगत सम्झिएका थिए । ‘आस हराएको थियो, तरपनि दाईसँग भेट अवश्य हुनेछ भन्ने लागेको थियो। अहिले भेट्न पाउँदा निकै खुसी लागेको छ’ तिलिजाका भाइ उदयचन्द्रले भन्नुभयो । परिवारका सदस्यसँग सम्पर्कविहिन यामबहादुरको तस्वीर समेत थिएन् ।

तिलिजा चार भाइमध्ये जेठा हुनुहुन्छ । उहाँका माइला भाइको निधन भइसकेको छ । साइँला उदयचन्द्र, काइँला जगतबहादुर र कान्छा हेमबहादुर दग्नाममै बस्दै आउनुभएको छ ।

भारतीय सेनामा भर्ती हुने उद्देश्यले आसाम राइफल्समा कार्यरत आफन्तको साथमा मणिपुर पुग्नुभएका यामबहादुरले सेनामा भर्ती हुन नसकेपछि काठ काट्ने काम गरी जिवन निर्वाह गर्नुभएको थियो । पढाइलेखाइ नभएकाले चिठीपत्र पठाउन नसकेको बताउँदै पैसा नभएपछि घर तत्कालै घर फर्किन समे असम्भव भएको उहाँको भनाई छ । मणिपुरमै विवाह गरेका तिलिजाकी छोरीको सात महिनामै मृत्यु भएको थियो । त्यसको एक वर्षपछि श्रीमतीको पनि निधन भयो । लामो समयपछि घर फर्किंदा भने उहाँले जन्मथलोमा आफ्ना भाइ र आफन्तलाई भेट्न पाउनुभएको छ।

रघुगंगा गाउँपालिका–४ का वडाध्यक्ष पविन गर्बुजाले ५८ वर्षपछि तिलिजा परिवारमा खुसी फर्किएको बताउनुभयो । लामो समयपछि तिलिजा घर फर्किएसँगै दग्नामको एउटा परिवारले हराएको सदस्य पुनः पाएको बताउँदै अब नागरिकतासहित सामाजिक सुरक्षा भत्ता लगायतको काम समेत अगाडी बढाउने वडा अध्यक्ष गर्बुजाको भनाई छ ।

Leave a Comment