आज बडादशैं अर्थात् विजयादशमी पर्व देशभर हर्षोल्लासका साथ मनाइँदैछ। यस अवसरमा मान्यजनको हातबाट रातो टीका, जमरा र आशीर्वाद ग्रहण गरिन्छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका लगाउने उत्तम साइत बिहान १०ः२६ बजे रहेको छ यद्यपि विजयादशमी आफैँमा शुभ दिन भएकाले सर्वसाधारणले टीका लगाउन साइत कुर्नु नपर्ने समितिले जनाएको छ ।
घटस्थापनाका दिनदेखि नौ दिनसम्म नवदुर्गाको पूजा आराधना गरी आज देवीको प्रसादका रूपमा टीका र जमरा लगाउने परम्परा छ । टीका लगाउँदा मान्यजनबाट सुख, समृद्धि, दीर्घायु र सफलताको आशीर्वाद लिने गरिन्छ ।
समितिका अनुसार आज बिहान ८ः४९ बजे देवी विसर्जनको साइत रहेको छ। टीका लगाइमाग्ने व्यक्ति पश्चिम र लगाइदिने व्यक्ति पूर्व फर्केर बस्नुपर्ने धर्मशास्त्रीय मान्यता छ
असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने विजयादशमी नेपालीहरूको प्रमुख सांस्कृतिक पर्व हो । आजदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा छ ।











