पोखरा–जोमसोम हवाई मार्गमा पर्यटकीय याम नसकिँदै नियमित उडान सेवा स्थगित भएको छ। तारा एयर र समिट एयरले जहाज मर्मत तथा यात्रु बुकिङ घटेको कारण देखाउँदै नियमित उडान रोकेका हुन्।
जोमसोमस्थित नागरिक उड्डयन कार्यालयका प्रमुख विश्वराज शर्माका अनुसार तारा एयरले अघिल्लो सातादेखि र समिट एयरले सोमबारदेखि नियमित उडान बन्द गरेका छन्। मुस्ताङमा अगस्टदेखि नोभेम्बरसम्म नियमित हवाई सेवा सञ्चालन हुँदै आएको थियो।
प्रमुख शर्माका अनुसार तारा एयरका तीनमध्ये एउटा जहाज मर्मत भइरहेको छ भने समिट एयरका चारमध्ये एउटा जहाज मर्मतका लागि लैजाने तयारी गरिएको छ।
समिट एयरका जोमसोम स्टेशन इञ्चार्ज सुमन थकालीले रसुवामा भएको विनाशकारी बाढी तथा देशका विभिन्न स्थानमा बाढीपहिरोका कारण सडकमार्ग अवरुद्ध हुँदा यात्रुहरूले हवाई टिकटको बुकिङ रद्द गरेपछि नियमित उडान स्थगित गर्नुपरेको बताए। उनका अनुसार चार्टर उडान भने सञ्चालन हुनेछन्।
मुस्ताङमा तारा र समिट एयरका १८ सिट क्षमताका जहाजले वर्षमा दुई याममा पोखरा–जोमसोम उडान गर्दै आएका छन्। दुवै कम्पनीले वार्षिक एक हजार २०० भन्दा बढी नियमित उडान सञ्चालन गर्दै आएका थिए।















