---Advertisement---

लठ्ठीले बाटो पहिल्याउँदै जीवन धान्दैछन् दृष्टिबिहीन जितबहादुर

On: September 8, 2026 9:02 PM
Follow Us:


धु्रवसागर शर्मा
उमेरले बहत्तर (७२) वर्ष पार गरिसके । दुवै आँखाले संसार देख्दैनन् । हातमा एउटा लठ्ठी छ, त्यही लठ्ठी टेकेर उनी आफ्नो गन्तव्य पहिल्याउँछन् । लठ्ठीले बाटो छाम्दै, पाइला–पाइलामा ठेस खाँदै र कहिले लड्दै–उठ्दै उनी बेनी बजारका गल्लीदेखि विभिन्न ठाउँसम्म पुग्छन् ।


उनी हुन् बेनी नगरपालिका–२ बगरफाँट बस्ने जितबहादुर कार्की । कार्कीको आफ्नै थाँतथलो भने छैन । आँखाले बाटो देख्दैन । तर पेटको भोकले उनलाई हरेक दिन घरबाहिर निकाल्छ । आफ्ना दुःख बिसाउँदै, सहयोगी मनहरूको खोजी गर्दै र कसैले दिएको केही रुपैयाँ समेट्दै उनी साँझ आफ्नो वासस्थानमा फर्किन्छन् ।


उनको यो यात्रा केवल आफ्नो पेट भर्नका लागि मात्र होइन । उनीसँगै एउटै छानामुनि आश्रय लिइरहेका चार वृद्धको पेट भर्नका लागि पनि हो । हाल जितबहादुर बेनी नगरपालिका–२, बगरफाँटमा आफ्ना साढू पर्ने १०१ वर्षीय खड्गबहादुर थापासँग बस्दै आएका छन् । खड्गबहादुरकी श्रीमती खिरकुमारी थापा पनि करिब ८० वर्षकी भइसकेकी छन् । जितबहादुरकी श्रीमती पनि वृद्ध अवस्थामै छिन् । उनले राम्रोसँग कान सुन्न सक्दिनन् र आँखाले पनि स्पष्ट देख्दिनन् ।


यसरी उमेरले थलिएका, आँखाको ज्योति गुमाएका र अरूको सहारामा बाँच्नुपर्ने अवस्थामा पुगेका चार वृद्ध एउटै छानामुनि जीवन धानिरहेका छन् । तर उनीहरूको जीवनमा सबैभन्दा ठूलो प्रश्न एउटै छ—भोलि के खाने? चार वृद्धको घरमा नियमित आम्दानीको कुनै स्रोत छैन ।

सम्पत्तिको नाममा उनीहरूसँग केही छैन । खेतबारी छैन । रोजगारी गर्ने सामथ्र्य छैन ।कसैको घरमा पुगेर मागेर ल्याएको केही रुपैयाँ र सरकारले दिने जेष्ठ नागरिक भत्ता नै उनीहरूको जीवन धान्ने आधार बनेको छ। त्यसैले जितबहादुर हरेक दिन लठ्ठी समातेर बाहिर निस्कन्छन् ।

आँखाले बाटो नदेखे पनि लठ्ठीले बाटो छाम्दै उनी छमछम गर्दै हिँड्छन्। बेनी बजार पुग्छन् । कहिले परिचितको घरमा पुग्छन्, कहिले अपरिचितको ढोकामा । आफ्नो पीडा सुनाउँछन् । कसैले दया गरेर केही रुपैयाँ दिन्छन् ।त्यही पैसाले चामल, दाल, नुन–तेललगायतका खाद्यान्न किनिन्छ। अनि चार वृद्धको चुलो बल्छ । जितबहादुरको हातमा पैसा आउनु भनेको चार वृद्धको भान्सामा आगो बल्नु हो । तर त्यो पैसा कति नै हुन्छ र?


कहिले सय रुपैयाँ, कहिले दुई सय। कहिलेकाहीँ मनकारी व्यक्तिले अलि बढी सहयोग गरिदिन्छन् । त्यही रकम जम्मा गरेर उनीहरू आफ्नो दिन काटिरहेका छन् ।


बगरफाँडको ‘टाकुरा’ भन्ने ठाउँमा सरकारी जग्गामा एउटा सानो छाप्रोसमेत बनाइएको जितबहादुर बताउँछन् । तर आँखाले नदेख्ने, शरीरले साथ नदिने र दैनिक जीवनका आधारभूत आवश्यकतासमेत पूरा गर्न कठिन हुने अवस्थामा त्यहाँ एक्लै बस्न सम्भव नभएपछि उनी साढू खड्गबहादुरको आश्रयमा बसिरहेका छन् ।


१०१ वर्षको उमेरमा पुगेका खड्गबहादुरको जीवन पनि सहज छैन । वृद्ध श्रीमतीसँगै उनी आफन्तको आश्रयमा जीवन बिताइरहेका छन् । अर्कोतर्फ जितबहादुर र उनकी श्रीमती पनि वृद्धावस्थामा पुगेका छन् । चार वृद्ध। चार कमजोर शरीर। चार फरक पीडा। तर एउटै छानो र एउटै समस्या—जीवन कसरी धान्ने?


उनीहरूको घरमा विलासिताको कुनै चाहना छैन । राम्रो लुगा, महँगो खाना वा सुखसुविधाको सपना पनि छैन । उनीहरूलाई त केवल दुई छाक खान पाए पुग्छ।तर त्यो दुई छाकका लागि पनि जितबहादुरले हरेक दिन अन्धकारसँग लड्नुपर्छ ।


आँखाको ज्योति गुमे पनि उनको जिम्मेवारीको ज्योति निभेको छैन । आफूले मागेर ल्याएको पैसाले चार जनाको पेट भर्न उनी दिनभरि भौँतारिन्छन् । थकित शरीर लिएर साँझ घर फर्किन्छन् । हातमा केही रुपैयाँ हुन्छ। त्यही रुपैयाँमा अर्को दिनको आशा जोडिएको हुन्छ।


कहिलेकाहीँ सहयोग नजुट्दा चुलो बल्ने हो कि नबल्ने भन्ने चिन्ताले उनीहरूलाई सताउँछ। जितबहादुर भन्छन् “म त मागेर भए पनि बाँचुँला, तर घरमा बसेका बूढाबूढीलाई के खुवाउने भन्ने चिन्ता हुन्छ।”उनका शब्दमा केवल आफ्नो पीडा छैन। चार वृद्धको जीवनप्रतिको चिन्ता छ।


हामीमध्ये धेरैका लागि केही सय रुपैयाँ सामान्य खर्च हुन सक्छ। एउटा चिया, खाजा वा अनावश्यक खर्चमा सकिने त्यही रकम उनीहरूका लागि भने एक दिनको भोजन बन्न सक्छ।सायद हामीले दिने सानो सहयोगले उनीहरूको जीवनमा ठूलो अर्थ राख्न सक्छ।
लठ्ठीले बाटो छाम्दै हिँड्ने कार्कीका पाइला सहयोगी मनको खोजीमा छन् । आँखाले संसार देख्न नसके पनि उनले अझै मानिसभित्रको मानवता देखिरहेका छन् ।

धुवसागर शर्मा

Leave a Comment