---Advertisement---

भोटेकोशी बाढीपछि कोरला नाकाबाट भित्रिन थाले चिनियाँ फलफूल

On: September 8, 2026 8:42 PM
Follow Us:

चीनसँगको उत्तरी सिमानाका कोरला हुँदै पहिलो पटक फलफूलको कन्टेनर भित्रिन थालेका छन् । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार कार्यालय बगाएपछि चिनियाँ फलफुल तिब्बत हुदै लिजी–नेचुङ (कोरला) नाकाबाट दुई दिनमा ठुलो परिमाणमा फलफूल आयात गरिएको छ ।

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका –४, नेचुङमा अवस्थित प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार आइतबार र सोमबार स्याउ ८७ हजार किलोग्राम, नासपाती २६ हजार १०० किलोग्राम र आँप १५ हजार ४०० किलोग्राम, एभोकाडो ८ हजार किलोग्राम र ड्रागन फुड ९ हजार ४५० किलोग्राम फलफूलको क्वारेन्टाइन कन्साइनमेन्ट चेकजाँच गरिएको छ ।

प्लान्ट क्वारेन्टाइनमा प्राविधिक सहायक बन्दना घर्ती मगरले कोरला नाकाबाट थप फलफूल भित्रिने सूचना आएको बताईन । प्राविधिक सहायक घर्ती मगरले भनिन्, ‘‘मंगलबार विद्युत तथा इन्टनेटका कारण काम भएको छैन, रसुवामा रोकिएको चिनियाँ स्याउ कोरला नाकाबाट भित्रिएको छ ।’’

कोरला नाकाबाट आयात हुने बिरुवा तथा फलफूलमा रोग-कीरा परीक्षण गर्ने र विषादीको प्रयोग तथा बिक्री–वितरण नियमन गर्ने प्लान्ट क्वारेन्टाइनमा जनशक्ती ब्यवस्थापन भए पनि उपकरणसहितका अन्य कार्यालयलाई आवश्यक पर्ने संरचना अपुरो छ ।

प्लान्ट क्वारेन्टाइनमा बरिष्ठ बाली संरक्षण अधिकृत, बाली संरक्षण अधिकृत, सूचना प्रविधि अधिकृत, लेखा, चालक र कार्यालय सहयोगी गरी ६ जना कर्मचारी कार्यरत छन् ।

प्लान्ट क्वारेन्टाइनको भवन प्रयोगविहीन अवस्थामा नेपाल प्रहरीले समेत प्रयोग गरेको अवस्थामा प्रयोगशालासहित उपकरण भवनभित्र राखेर टेन्टबाट परीक्षण तथा जाँचपासको काम भइरहेको बरिष्ठ बाली संरक्षण अधिकृत प्रकाश पौडेलले बताए ।

प्लान्ट क्वारेन्टाइनमा माइक्रोस्कोप र आँखाले हेरेर जाँचपाससहित प्रयोगशाला समेत बनाएर रोग तथा हानिकारक किराको परीक्षण गरिने र थप आवश्यक परेमा काठमाडौं पठाउने गरिएको छ ।

पशु क्वारेन्टाइन पोखराका प्रमुख डा.गणेश केसीका अनुसार रसुवागढीबाट हुने आयात कोरला नाकातर्फ डाइभर्ट भएको सूचना आएकाले मुस्ताङ, पोखरा र काठमाडौंमा परीक्षण गरिने छ । दशैं–तिहारलाई लक्षित गरी कोरलाबाट चिनियाँ भेडाच्याङ्ग्रा समेत भित्रिने गरेका छन् ।

Leave a Comment