---Advertisement---

प्राकृतिक चिकित्सालय तातोपानी कुण्ड दसैँअघि सञ्चालनको तयारी

On: October 5, 2026 10:22 PM
Follow Us:

म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गास्थित प्रसिद्ध तातोपानी कुण्डमा बाढी र पहिरोले थुपारेको ढुङ्गा, माटो, गेगर, बालुवा तथा लेदो पन्छाएर सरसफाइ गर्ने कामलाई तीव्रता दिइएको छ । यही असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षाको कारण कुण्डभन्दा माथि बेनी–दरबाङ सडकको डिल भत्किएर खसेको पहिरो र म्याग्दीखोलाको बाढीले कुण्ड परिसरमा क्षति पु¥याएपछि सरसफाइ तथा पुनः सञ्चालनको तयारी अघि बढाइएको हो ।

तातोपानी कुण्ड व्यवस्थापन समितिको पहलमा स्थानीयवासी, विभिन्न संघसंस्था, जिल्लास्थित नेपाली सेना, सशस्त्र प्रहरी बल तथा साविक सिङ्गा गाविस अन्तर्गतका विभिन्न वडाबाट श्रमदानका लागि आएका स्थानीयवासीले कुण्ड परिसरमा सरसफाइ गरिरहेका छन् । दसैँअघि नै कुण्डलाई पुनः सञ्चालनमा ल्याउने लक्ष्यसहित बाढीपहिरोले थुपारेको माटो तथा फोहोर पन्छाउने कामलाई तीव्रता दिइएको समितिले जनाएको छ ।

तातोपानी कुण्डभन्दा माथि रहेको बेनी–दरबाङ सडकबाट खसेको पहिरो कुण्ड परिसरमा पुगेको थियो भने म्याग्दीखोलामा उर्लिएर आएको बाढीले मुख्य कुण्डभन्दा बाहिर रहेका कुण्ड तथा अन्य संरचनामा क्षति पु¥याएको छ । पहिरो र बाढीका कारण कुण्ड परिसरमा ढुङ्गा, माटो, गेगर, बालुवा र लेदो पसेर कपडा फेर्ने ठाउँ, नुहाउने धारा, बाहिरका दुईवटा कुण्ड, नुहाउने पानीका ड्रम लगायतका संरचनामा क्षति पुगेको तातोपानी कुण्ड व्यवस्थापन समितिका सचिव अम्मरबहादुर केसी (कुमार)ले जानकारी दिनुभयो ।

सचिव केसीका अनुसार बाढीले बाहिर रहेका दुईवटा कुण्ड पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ । माथिबाट आएको पहिरोले कुण्ड परिसरमा राखिएका १६ वटा ड्रमसहित अन्य सामग्री तथा संरचनामा समेत क्षति पु¥याएको छ । ‘वर्षासँगै आएको बाढीले बाहिर रहेका दुईवटा कुण्ड ध्वस्त बनाएको छ । माथिबाट आएको पहिरोले बाहिर राखिएका १६ वटा ड्रम, अन्य सामग्री र संरचनामा ठूलो क्षति पुगेको छ,’ सचिव केसीले भन्नुभयो ।

बाढीपहिरोले थुपारेको फोहोर, माटो तथा ढुङ्गाको ढिस्को पन्छाएर सरसफाइ गर्ने क्रममा आइतबारसम्म सात सयभन्दा बढी स्थानीयवासी तथा विभिन्न क्षेत्रका व्यक्तिले श्रमदान गरिसकेका छन् । कुण्ड परिसर तथा त्यहाँ रहेका संरचनामा ठूलो क्षति पुगेकाले क्षतिको वास्तविक विवरण सङ्कलन र मूल्याङ्कनको कामसमेत भैरहेको व्यवस्थापन समितिले जनाएको छ । बाढीपहिरो पन्छाउने तथा सरसफाइको कामसँगै क्षतिको विवरण सङ्कलन र पुनः सञ्चालनका लागि आवश्यक तयारी भैरहेको तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले बताउनुभयो । उहाँका अनुसार दसैँअघि नै कुण्ड सञ्चालनमा ल्याउने गरी कामलाई तीव्रता दिइएको छ ।

तातोपानी कुण्डमा नेपालका विभिन्न जिल्लाका साथै विदेशबाट समेत स्वास्थ्यलाभ तथा पर्यटकीय भ्रमणका लागि वर्षेनी हजारौँ मानिसहरु आउने गर्दछन् । प्राकृतिक उपचारको चिकित्सालय तातोपानी कुण्डमा स्नान गरेपछि ग्यास्ट्रिक, गानोगोला, घाउखटिरा, छालाको एलर्जी, रुघाखोकी, सड्किएको, मर्किएको तथा बज्रिएको, चोटपटक, दुर्घटनाबाट भएको समस्या, बाथरोग, हड्डीको दुखाइलगायत चिसोका कारण उत्पन्न विभिन्न स्वास्थय समस्याहरु निको हुने जनविश्वासका कारण तातोपानी कुण्डमा ठूलो सङ्ख्यामा बिरामी र पर्यटकहरु आउने गरेका छन् ।

बाढीपहिरोका कारण केही समय बन्द भएको तातोपानी कुण्डमा सरसफाइ तथा क्षतिग्रस्त संरचनाको व्यवस्थापनपछि पुनः सञ्चालनमा आउने भएपछि स्थानीय पर्यटन व्यवसायी तथा सर्वसाधारण समेत उत्साहित बनेका छन् । नेपालसहित विदेशमा चर्चित म्याग्दीको तातोपानी कुण्ड विशेष गरी म्याग्दी र मुस्ताङको भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको मुख्य रोजाइमा पर्ने गरेको छ ।

Leave a Comment