---Advertisement---

छिस्बाङ खहरे : ‘जहाँ घर र खेत थिए,अहिले ढुङ्गामाटोको थुप्रो छ’ (फोटोफिचर)

On: October 5, 2026 10:09 PM
Follow Us:

असोज ११ गते आएको भीषण बाढी र पहिरोले मङ्गला गाउँपालिका–५, छिस्बाङस्थित खहरे बस्तीको स्वरूप नै बदलिदिएको छ। केही समयअघिसम्म घरबस्ती र धानखेत रहेको ठाउँ अहिले माटो, ढुङ्गा र गेग्रानले भरिएको बगरमा परिणत भएको छ।

बस्तीभन्दा करिब चार किलोमिटर माथि पाङ्ग्रा वनमा खसेको पहिरो खहरे खोलामा मिसिएपछि आएको बाढी कल्भर्टमा थुनिएको थियो। थुनिएको पानी र गेग्रान बस्तींतर्फ सोझिँदा घर, गोठ, खेतबारी, मिल तथा पसलमा ठूलो क्षति पुगेको हो।

बाढीले स्थानीय नौ घर पूर्ण रूपमा ध्वस्त बनाएको छ भने २२ भन्दा बढी घरमा आंशिक क्षति पुगेको छ। चार सय रोपनीभन्दा बढी धानखेत बगरमा परिणत भएको छ। स्थानीय मिल, पसल, गोठ तथा घरभित्रका अन्नपात र सामग्रीसमेत बाढीले बगाएको छ।

घरबास गुमाएका परिवार अहिले आफन्तको घर तथा शारदा माध्यमिक विद्यालयमा आश्रय लिएर बसिरहेका छन्।

“बिहान करिब ५ बजे बाढी आएपछि रुखबाट हामफालेर ज्यान जोगाएँ। दुईवटा घर, गोठ र अन्नपात सबै पुरियो,” पीडित टंकप्रसाद घर्तीले भन्नुभयो। परिवारसहित आफन्तकोमा आश्रय लिइरहनुभएका उहाँले तत्काल बास, खाद्यान्न र लत्ताकपडाको व्यवस्था गर्न स्थानीय सरकारसँग माग गर्नुभएको छ।

शारीरिक रूपमा अशक्त ८४ वर्षीय टंकप्रसादका बुबा नरबहादुर घर्ती मगरलाई बाढीको भेलबाट स्थानीय युवाले बोकेर उद्धार गरेका थिए।

खहरे टोल सुधार समितिका अध्यक्ष तथा पीडित तुलप्रसाद पुनका अनुसार खोलामाथिको पुल तथा कल्भर्टमा बाढी थुनिएपछि पानी बस्तींतर्फ सोझिएको हो। त्यस क्रममा घर, गोठ, अन्नपात र खेतबारीमा ठूलो क्षति पुगेको उहाँले बताउनुभयो।

हाल तुलप्रसाद पुन र देवान घर्तीका परिवार शारदा माध्यमिक विद्यालयमा आश्रय लिएर बसिरहेका छन्। पुनले नदी नियन्त्रण, कल्भर्ट व्यवस्थापन र जोखिममा परेको बस्तीको दीर्घकालीन पुनःस्थापनाको माग गर्नुभएको छ।

बाढीबाट पूर्ण रूपमा घर क्षति हुनेमा तुलप्रसाद पुन, मेखबहादुर पुन, पूर्णप्रसाद पुन, देवान घर्ती, नरबहादुर घर्ती, गौदेवी पुन, सरोज विक, जितबहादुर पुन र श्यामप्रसाद विक रहेका छन्।

पूर्णप्रसादका छोरा देवेन्द्र पुनले बाढीले घर र खेत दुवै नष्ट गरेपछि खोलाको बहाव नियन्त्रणका लागि तत्काल डोजर सञ्चालन गर्न आवश्यक पर्ने इन्धनको खर्चसमेत जुटाउन कठिन भएको बताउनुभयो।

घरबासदेखि खेतबारीसम्म बगायो भेल, पीडितको आश्रय विद्यालयमा

पीडित गौदेवी पुनका अनुसार बाढीले घर, खेतबारीसँगै बाख्रा र कुखुरासमेत बगाएपछि परिवारको बसोबास र दैनिक गुजाराको समस्या थपिएको छ।

प्रमुख जिल्ला अधिकारी गणेश गैरेका अनुसार प्रारम्भिक चरणमा हेलिकप्टरमार्फत पीडितका लागि राहत सामग्री पठाइएको छ। अहिले सडकमार्गबाट समेत राहत तथा सहयोग पुर्‍याउन सकिने अवस्था बनेको उहाँले बताउनुभयो।

स्थानीयको मुख्य माग बस्ती संरक्षण र नदी नियन्त्रणका लागि तत्काल तटबन्ध निर्माण रहेको भन्दै उहाँले घरबारविहीन परिवारका लागि अस्थायी आश्रयको व्यवस्था र पुनर्निर्माणको योजना अघि बढाइने बताउनुभयो।

Leave a Comment