७२ वर्षीय डम्मरबहादुर विकको घर अब बस्न मिल्ने अवस्थामा छैन। वर्षौंसम्म परिवारको गुजारा चलाउँदै आएको आरन पनि पहिरोले पुरिएपछि उहाँको जीवन धान्ने आधार नै गुमेको छ। आरनसँगै गोठ पुरिँदा दुहुनो भैंसीसमेत पहिरोमा परेको छ।
गत असोज १० गते बिहान मंगला गाउँपालिका–२, आम्बोटमा गाउँमाथिबाट लेदोमाटोसहितको पहिरो एक्कासि खसेपछि श्रीमति जमुनालाई लिएर भागेर ज्यान जोगाउन बाध्य भएपनि डम्बरबहादुरको आम्दानीको स्रोत नै गुमेको छ । गत असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको पहिरोले बस्ती र खेतबारीमा ठूलो क्षति पु¥याएको छ । ‘घर पनि रहेन, गुजारा चलाउने आरन पनि रहेन,’ डम्मरबहादुरले भने ।

वर्षौंदेखि आरनको काम गरेर जीविकोपार्जन गर्दै आउनुभएका डम्मरबहादुरका लागि आरन पुरिनु घर भत्किनुजत्तिकै ठूलो क्षति हो । उमेर ढल्किँदै गएको अवस्थामा बस्ने घर र आम्दानीको आधार दुवै गुमेपछि उहाँको परिवारलाई अबको जीवन कसरी चलाउने भन्ने चिन्ता थपिएको छ । कलिलै उमेरबाट आरन पेशामा लागेका डम्बरबहादुरले गाउँमा सेवा गरेवापत आर्थिक र अन्न मागेर जीवन निर्वाह गर्ने गरेका थिए । गाउँमा सबैभन्दा धेरै क्षती नै डम्बरबहादुरको दम्पत्तीको भएको छ ।
पहिरोले आम्बोटका मनवुजा विक, डम्मरबहादुर विक, मनकुमारी सुनार र लालबहादुर विश्वकर्माको घरमा क्षति पु¥याएको छ। घरसँगै उनीहरूको धानखेतमा पनि ठूलो क्षति पुगेको छ। नारायण पुरी, चन्द्रकुमारी विक र उमा विकको धानखेतसमेत पहिरोले बगाएको छ।पहिरोबाट भागेर ज्यान जोगाएका लालबहादुर विश्वकर्माको घरमा आंशिक क्षति पुगेको छ।
पहिरोले किचन, ट्वाइलेट, बाथरुम, खानेपानीको मिटरबक्स र तीनवटा ड्रमलगायतका सामग्री बगाएको छ। उहाँको करिब आठ रोपनी धानखेत बाढी र पहिरोले पूर्ण रूपमा क्षति भएको छ। स्थानीयका अनुसार आम्बोटमा यसअघि यस्तो पहिरो आएको थिएन। यसपटक गाउँमाथिको लरेनी गाउँमुनिबाट लेदोमाटोसहितको पहिरो खसेपछि बस्ती र खेतबारी प्रभावित भएका हुन्।मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले प्रभावित परिवारलाई तत्काल राहतको व्यवस्था गर्दै क्षतिको विवरण संकलन गरी दीर्घकालीन व्यवस्थापनको योजना अघि बढाइने बताए ।
क्षतिको अवस्था बुझ्न सोमबार गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जाली (सुविन), प्रमुख जिल्ला अधिकारी गणेश गैरे, प्रहरी नायव उपरीक्षक राजन कार्की, प्रमुख अनुसन्धान अधिकृत विजय पौडेलसहितको टोली आम्बोट पुगेको थियो।










