गण्डकी प्रदेश भलिबल संघको दोस्रो अधिवेशनबाट जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाँ उपाध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् ।
मंगलबार लक्ष्मण श्रेष्ठ (पर्वत)को अध्यक्षतामा सम्पन्न भएको अधिवेशनबाट चयन भएको १५ सदस्यीय कार्यसमितिमा गण्डकी प्रदेशमा भलिबल प्रशिक्षक एवम् रेफ्री समेत रहनुभएका बानियाँ उपाध्यक्ष र सदस्यहरुमा म्याग्दीबाट अशोककुमार शाही र काजोल छन्त्याल निर्वाचित भएको जिल्ला भलिबल संघ म्याग्दीका महासचिव कुमार किसानले जानकारी दिनुभयो ।
गण्डकी प्रदेश भलिबल संघका उपाध्यक्ष बानियाँ म्याग्दीको केवाईसी क्लव नेप्टेचौरबाट बि.स २०६३ सालदेखि भलिबल खेलमा प्रवेश गर्नुभएको थियो । हाल भलिबल प्रशिक्षणसँगै म्याग्दीमा सुविधासम्पन्न भलिबल कवड हल बनाउने अभियानको नेतृत्व समेत गर्नुभएका बानियाँले भलिबलमार्फत गण्डकी प्रदेशमा समेत काम गर्ने अवसर पाएकाले सदुपयोग गर्ने बताउनुभयो ।
गण्डकी प्रदेश खेलकुद परिषद्मा दर्ता रहेको विधानअनुसार तोकिएको समयमा निर्वाचन सम्पनन भएपछि अब भलिबलमार्फत यूवा खेलाडीलाई केन्द्रित गर्ने कार्यक्रमहरु प्रस्ताव गर्ने उपाध्यक्ष बानियाँको भनाई छ । म्याग्दी गण्डकी प्रदेशमा पुरुष तथा महिला भलिबलमा उत्कृष्ट मानिन्छ ।













