---Advertisement---

ऐतिहासिक ज्यामरुककोट : जहाँ ढुंगाले अझै सुनाउँछन् राजाका कथा

On: October 12, 2026 11:08 PM
Follow Us:

म्याग्दी  । कोटडाँडामा पुग्दा तत्कालीन पर्वत राज्यको राजधानी ढोलठान, अहिलेका म्याग्दी, पर्वत र बागलुङ जिल्लाका दर्जनौँ गाउँबस्ती तथा कालीगण्डकी र म्याग्दी नदीको दोभानमा अवस्थित बेनी बजार छर्लङ्ग देखिन्छ। वरिपरि फैलिएको प्राकृतिक सुन्दरता र उत्तरतर्फ देखिने हिमशृङ्खलाले यहाँ पुग्ने जोकोहीलाई मोहित बनाउँछन्।

बाहिरबाट हेर्दा म्याग्दीको बेनी नगरपालिका–२ स्थित ज्यामरुककोटको खड्गभवानी कोत सामान्य डाँडोजस्तो लाग्न सक्छ। तर यही डाँडाले कुनै समय तत्कालीन पर्वते राजा मलेवम मल्लको सत्ता, दरबारको वैभव, युद्धको तयारी र राज्य विस्तारका कथा बोकेको थियो भन्ने थाहा पाउँदा यसको दृश्य नै फरक लाग्छ।

कुनै समय यहाँ दरबार थियो। ज्यामरुककोट थुम अर्थात् स्थानीय राज्यका प्रमुख थिए राजा दिलीप वम मल्ल (डिम्ब मल्ल) का छोरा तथा मलेवम मल्लका भाइ भर्तिवम मल्ल। दरबारको सुरक्षाका लागि किल्ला र पर्खाल बनाइएका थिए। हतियार राखिन्थे। राजाका अङ्गरक्षकले हतियार उद्याउँथे।

आज तीमध्ये अधिकांश संरचना हराइसकेका छन्। दरबार छैन, पर्खाल छैनन् र किल्लाका धेरै चिनो पनि भेटिँदैनन्। तर इतिहास भने मेटिएको छैन। त्यही इतिहासको खोजी गर्दै स्थानीयवासी अहिले फेरि ज्यामरुककोटतिर फर्किन थालेका छन्।

इतिहासको धुलोभित्र लुकेको एउटा राज्य
बेनी नगरपालिका–२ मा पर्ने ज्यामरुककोटको इतिहास करिब पाँच सय वर्ष पुरानो मानिन्छ। स्थानीय इतिहासका जानकारहरूका अनुसार यसको तत्कालीन पर्वत राज्यसँग गहिरो सम्बन्ध थियो। विक्रम संवत् १५४६ तिर धर्मराज थापा यहाँका राजा बनेपछि ज्यामरुककोटले राजनीतिक पहिचान पाएको बताइन्छ।

पछि विक्रम संवत् १७४३ मा मलेवम मल्ल पर्वत राज्यको राजा बनेपछि ज्यामरुककोटको चर्चा अझ बढेको स्थानीय इतिहासमा उल्लेख छ।

ज्यामरुककोटको इतिहासको रोचक अध्याय भने भर्तिवम मल्लसँग जोडिन्छ। स्थानीय इतिहासमा उनलाई ज्यामरुककोटका अन्तिम राजा मानिन्छ। उनको शासन, पारिवारिक द्वन्द्व, हत्या र त्यसपछि बेनीमा शिवालय स्थापना गरिएको किंवदन्ती आज पनि स्थानीयको स्मृतिमा जीवित छ।

खड्गभवानी कोत गुठी व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर सुवेदीका अनुसार यी घटनासँग जोडिएका कथाले ज्यामरुककोटको ऐतिहासिक महत्त्वलाई थप उजागर गर्छन्।

दुई भाइको मनमुटाव र भर्तिवमको अन्त्य
स्थानीय किंवदन्ती तथा इतिहासकार चन्द्रप्रकाश बानियाँका अनुसार पर्वते राजा मलेवम मल्लले आफ्ना भाइ भर्तिवम मल्ललाई ज्यामरुककोटको कजाइ सुम्पेका थिए। तर समय बित्दै जाँदा दुई भाइबीच मनमुटाव बढ्दै गयो। मलेवमले भर्तिवमलाई ज्यामरुककोटबाट हटाउने योजना बनाए।

त्यसपछि भर्तिवम आफ्ना सहयोगीसहित लामगरा अर्थात् लुंग्दी पुगे। तर त्यहाँ उनलाई मलेवमका सेनाले पक्राउ गरे। त्यसपछि उनको शिरोच्छेदन गरिएको स्थानीय इतिहासमा उल्लेख छ।

भर्तिवमको शिर कालीगण्डकीमा बग्दै गलेश्वरनजिक पुगेको र त्यस घटनासँग जोडेर बेनीमा शिवालय स्थापना गरिएको विश्वास पनि पाइन्छ। यी घटनाबारेका ऐतिहासिक तथ्य र किंवदन्तीबीचको सीमारेखा स्पष्ट नभए पनि ज्यामरुककोटको लोकस्मृतिमा यो कथा अझै बलियो रूपमा रहेको छ।

भाइको हत्यापछि बेनीमा शिवालय स्थापना गरिएको किंवदन्ती
भाइ भर्तिवमको हत्या गरेपछि राजा मलेवमलाई गोत्रहत्याको पाप लागेको स्थानीय विश्वास छ। किंवदन्तीअनुसार त्यसपछि उनले दूध र भात खान खोज्दा रगत र किरा देखिन थाले।

प्रायश्चित्तका लागि भर्तिवमको शिर बेनी ल्याएर शिवालय स्थापना गरी पूजाआजा गरिएको जनश्रुति छ। मलेवमले आफ्ना गुरु प्रेमनिधि पन्तलाई ‘प्रायश्चित्त प्रदीप’ नामक पुस्तक लेख्न लगाएको कथासमेत स्थानीय इतिहाससँग जोडिएको छ।

बेनी नगरपालिका–२ का वडाध्यक्ष यामबहादुर कार्कीका अनुसार ज्यामरुककोटको इतिहास एउटा पुरानो किल्लाको इतिहासमा मात्र सीमित छैन। यसमा सत्ता, पारिवारिक द्वन्द्व, युद्ध, हत्या, पश्चात्ताप र धार्मिक आस्थाका विविध पाटो जोडिएका छन्।

इतिहास छ, तर ऐतिहासिक सामग्री हराउँदै
गहकिलो इतिहास बोकेको ज्यामरुककोटमा त्यसलाई पुष्टि गर्ने पूर्वाधार र अवशेषको खोजी तथा संरक्षण हुन नसक्दा इतिहास नै लोप हुने अवस्थामा पुगेको स्थानीयको चिन्ता छ।

खड्गभवानी कोत अर्थात् ज्यामरुककोटको किल्लाको चर्चा अझै हुन्छ। तर किल्लाका धेरै अवशेष बाँकी छैनन्।

ध्रुवसागर शर्मा


Leave a Comment