---Advertisement---
On: October 12, 2026 11:22 PM
Follow Us:

म्याग्दीमा २५ प्रतिशत सुन्तला बोटबाटै झर्‍यो

म्याग्दीको बेनी नगरपालिका–४, बास्कुनामा टिप्ने बेला भएको करिब २५ प्रतिशत सुन्तला बोटबाटै झरेको छ। सुन्तलाको दानाभित्र कीरा परेको आशङ्का गरिएको छ। बोटमा राम्रो फल लागे पनि बजार पठाउने समयमा सुन्तला झर्न थालेपछि किसान चिन्तित भएका छन्।

स्थानीय किसान सन्दीप खत्रीका अनुसार कात्तिकको तेस्रो सातादेखि सुन्तला झर्ने समस्या देखिएको हो। बेनी नगरपालिका–४ का वडा सदस्यसमेत रहेका खत्रीले बोटबाट सुन्तला झर्न थालेपछि उत्पादन र आम्दानी घट्ने चिन्ता बढेको बताए।

समस्याको कारण पहिचान गर्न गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयका निर्देशक वासुदेव रेग्मीको नेतृत्वमा कृषि ज्ञान केन्द्र र बेनी नगरपालिकाको कृषि शाखाका प्राविधिक टोलीले झरेका सुन्तलाको नमुना सङ्कलन गरी प्रयोगशालामा पठाएको छ।

कृषि ज्ञान केन्द्रका प्रमुख सञ्जीव बास्तोलाका अनुसार सुन्तलाको दानाभित्र औँसा परेको देखिए पनि सूर्यपुतलीको आशङ्का भएकाले परीक्षणका लागि नमुना पठाइएको हो। प्रयोगशालाको प्रतिवेदन आएपछि समस्याको वास्तविक कारण पहिचान हुने उनले बताए।

बास्कुनासँगै बेनी नगरपालिका–३, मरेक र मङ्गला गाउँपालिकाको महेशमा पनि सुन्तला झर्ने समस्या देखिएको छ। प्राविधिकले झरेका सुन्तलालाई प्लास्टिकको थैलोमा राखेर बन्द गर्न तथा सूर्यपुतली नियन्त्रणका लागि बगैँचामा टाँसिने पासो राख्न र धुवाँ बनाउने उपाय अपनाउन सुझाव दिएका छन्।

बास्कुनाका किसान दीर्घबहादुर खत्रीले दुई सय बोटको बगैँचाबाट दैनिक एक डोको झरेका सुन्तला सङ्कलन गरेर फाल्ने गरेको बताए। बास्कुना, सुर्केमेला र थामडाँडाका ४५ घरधुरीले करिब १० हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरेका छन्। गत वर्ष यस क्षेत्रबाट ७५ लाख रुपैयाँ बराबरको सुन्तला बिक्री भएको थियो।

धादिङबाट आएका व्यापारीले बगैँचामै अग्रिम रकम दिएर सुन्तला ठेक्कामा लिएका छन्। व्यापारी कान्छाराम तामाङका अनुसार सुन्तलामा रङ र गुलियोपन विकास हुन थालेपछि टिपेर बजार पठाउन थालिएको छ। म्याग्दीको सुन्तला पोखरा, काठमाडौँ, चितवन, विराटनगर र बुटवलमा बिक्रीका लागि पठाइन्छ।

कृषि ज्ञान केन्द्रका अनुसार गत वर्ष म्याग्दीमा तीन हजार छ सय मेट्रिक टन सुन्तला बिक्रीबाट २१ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। जिल्लामा आठ सय १० हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएकामा चार सय २० हेक्टरमा लगाइएका बोटले उत्पादन दिइरहेका छन्।

यस वर्ष सुन्तलाको उत्पादन अवस्था यकिन गर्न क्रप कटिङ विधिबाट अध्ययन गर्ने तयारी गरिएको केन्द्रका बाली संरक्षण अधिकृत गङ्गा लामीछानेले बताइन्।

Leave a Comment