---Advertisement---

यसपाली बागलुङ कालिकामा छैन चहलपहल

On: October 12, 2026 11:06 PM
Follow Us:

हरेक वर्ष बडा दसैँ र चैते दसैँमा बागलुङ कालिका मन्दिरमा हजारौँ संख्या भक्तजनको आगमन हुने गर्छ । तर यस वर्ष बागलुङ भित्रिने मुख्य नाका मालुङ्गा स्थित कालीगण्डकी पुल क्षतिग्रस्त भएपछि भक्तजनको आगमन निकै न्यून छ । बाहिरबाट भक्तजन नआउँदा उत्साहजनक चहलपहल छैन । मन्दिरमा बागलुङ बजार आसपासका भक्तजन मात्रै आएकोले दसैँको खासै रौनक छैन ।

घटस्थापनाको दिन अघिल्लो वर्ष १० हजारबढी भक्तजन आएको तथ्याङ्क मन्दिर व्यवस्थापनसँग थियो । यो वर्ष एक तिहाइ पनि भक्तजन आएका छैनन् । बाढी पहिरोको कहर र मालढुंगा पुल भत्केपछि चाहेर पनि मन्दिर आउनेहरु घटेका हुन् ।

कालीगण्डकीको बाढीले असोज ११ गते कालीगण्डकी पुल बगेको थियो । त्यसपछि पोखरा र पर्वतदेखि सिधा यातायात ठप्प छ । अत्यावश्यक सेवाका सामान समेत ढुवानी भएको छैन । मालढुंगादेखि मुस्ताङ सडक अझै सञ्चालन नभएकोले यो पटक मुक्तिनाथ र कागबेनीमा श्राद्व गर्न जाने भक्तजन नभएकोले कालीका मन्दिर सुनसान भएको हो ।

‘‘अघिल्ला वर्ष दैनिक डेढ, दुई सयवटा रोट बनाउने गरेकोमा अहिले आधा पनि बनाउन परेन’’ रोट व्यवसायी डम्मर मल्लले भन्नुभयो, ‘‘भक्तजन नै छैनन्, मन्दिर त्यसै सुनसान हुने नै भयो ।’’ सडक अवरुद्व भएको सन्देशले कोही पनि नआएको मल्लले बताउनुभयो ।

कालीगण्डकी पुल २७ गतेसम्म सञ्चालन गर्ने लक्ष्य राखेको सडक विभागले राति र दिउँसो नियमित काम गरिरहेको छ । तर काम सकिएको छैन । बाढीले पुलको पुर्वी खण्ड बगेको थियो । अहिले पनि पानीको सतह पुरै घटेको छैन । २२ र २३ गतेको अविरल बर्षाले नदीको सतह अझै नघटेको हो ।

दसैँको अवसरमा कालीका मन्दिरमा पञ्चवलि दिनेकोसमेत भीड लाग्ने गर्छ । यो पटक भने धेरै घटना भएकोले पञ्चवलि समेत खासै नआएको मन्दिर व्यवस्थापन समितिका लेखापाल दुर्गा खत्रीले जानकारी दिनुभयो ।

चौबिसे राज्यको समयमा पर्वतका राजा प्रतापी नारायण मल्लले पाल्पाका राजा मणी मुकुन्द सेनकी राजकुमारी विश्रवादेवीसँग विवाह गर्दा राजकुमारीले पाल्पा माझकी देवी कालीकालाइ साथैमा ल्याएर विधिपूर्वक स्थापना गरेको किंवदन्तीअनुसार विसं १५९१ देखि मन्दिर स्थापना गरेर यहाँ पूजा गर्न थालिएको हो ।

यसैबिच गलकोट नगरपालिका–३ को कालीका मन्दिरमा पनि आइतबारदेखि दसैँको चहलपहल सुरु भएको छ । यो गलकोटे राज्यको कोतघर र कालीका मन्दिर रहेको क्षेत्रबाट हालको गलकोट नगरको सबै क्षेत्र देखिन्छ ।

स्थानीय तहले नेपाली सेनाको सहकार्यमा अघिल्लो वर्ष कोतघर मर्मत गरी आर्कषक बनाएको छ । कोतघरमा आइतबारदेखि घटस्थापना गरी पूजासमेत सुरु भएको छ । पुल मर्मतका लागि तीव्र गतिमा काम भइरहेको छ । सोमबारसम्म संचालनमा आउने बताइएको छ ।

Leave a Comment