---Advertisement---

मासिदै गए भर्दिबम मल्लका पुरातात्विक स्मृतिहरु

On: October 13, 2026 7:43 AM
Follow Us:

ध्रुवसागर शर्मा

खड्गभवानी कोत डाँडाको टुप्पोमा उभिएर वरिपरिका पहाड र बस्ती नियाल्दा अहिले पनि ज्यामरुककोटले आफ्नो पुरानो वैभवको कथा सुनाएजस्तो लाग्छ। कुनै समय तत्कालीन पर्वत राज्यको महत्वपूर्ण गढका रूपमा चिनिएको यो ठाउँ आज भने इतिहासका अवशेष, किंवदन्ती र संरक्षणको पर्खाइमा उभिएको छ।


बेनी नगरपालिका–२ मा पर्ने ज्यामरुककोटमा करिब पाँच सय वर्षअघिको इतिहास जोडिएको स्थानीयको भनाइ छ। तत्कालीन पर्वत राज्यको राजनीतिक तथा सामरिक गतिविधिसँग जोडिएको यो क्षेत्र अहिले ऐतिहासिक, पुरातात्विक र प्राकृतिक सम्पदालाई संरक्षण गर्दै पर्यटकीय गन्तव्य बनाउने प्रयासमा छ।


विकास पुगेको छ । पूर्वाधार थपिएका छन् । स्थानीय सम्पदा संरक्षणका लागि सचेत पनि छन् । तर समस्या के छ भने—इतिहास छ, कथा छ, किंवदन्ती छन् तर इतिहासलाई देखाउने भौतिक सम्पदा भने दिनप्रतिदिन हराउँदै गएका छन् ।


बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटका वडाअध्यक्ष यामबहादुर कार्कीका अनुसार यहाँका ऐतिहासिक तथा प्राकृतिक सम्पदाको खोज, अध्ययन र संरक्षणका लागि स्थानीयस्तरबाट पहल भइरहेको छ।उहाँका अनुसार ज्यामरुककोटका राजा भर्तिबम मल्लसँग जोडिएका थुप्रै ऐतिहासिक प्रसंग छन्। तर समयसँगै महत्वपूर्ण दस्तावेज तथा सम्पदाहरू हराउँदै जाँदा ज्यामरुककोटको इतिहासलाई प्रमाणसहित उजागर गर्न चुनौती थपिएको छ।


प्रेम,षडयन्त्र र युद्धको इतिहास बोकेको खड्गभवानी कोत
इतिहासका विभिन्न सन्दर्भमा ज्यामरुककोटको नाम पर्वत राज्यसँग जोडिएर आउने गरेको पाइन्छ।
स्थानीय इतिहासका जानकारहरूका अनुसार विक्रम संवत् १५४६ तिर धर्मराज थापा यहाँका राजा बनेपछि ज्यामरुककोटले पहिचान पाएको थियो । पछि विक्रम संवत् १७४३ मा मलेवम मल्ल पर्वत राज्यको राजा भएपछि ज्यामरुककोट राजनीतिक चर्चामा आएको बताइन्छ।

ज्यामरुककोटको इतिहासमा राजा भर्तिबम मल्लको नाम विशेष रूपमा जोडिन्छ। उनी ज्यामरुककोटका अन्तिम राजा रहेको स्थानीय इतिहासमा उल्लेख पाइन्छ।


खड्गभवानी कोत तत्कालिन पर्वत राज्य सामरिक विरासतसँग मात्रै होइन प्रेम,षडयन्त्र र युद्धसँग जोडिएको छ । भर्तिबम मल्लपछि राजा मलेवम मल्लका माइला छोरा अभिमर्दन मल्ल ज्यामरुककोटका राजा बनेको उल्लेख भेटिन्छ।अध्यक्ष कार्कीका अनुसार भर्तिबम मल्लसँग सम्बन्धित ऐतिहासिक दस्तावेजहरू हराउँदै जाँदा ज्यामरुककोटको इतिहासका धेरै पाटा अझै अनुसन्धानकै विषय बनेका छन् ।


ज्यामरुककोटको नाम कसरी रह्यो ?
ज्यामरुककोटको नामकरणबारे पनि विभिन्न भनाइ छन् । कसैले जमरुख हुँदै ज्यामरुक भएको बताउँछन् भने कसैले ‘ज्यामरुङ’बाट अपभ्रंश हुँदै ज्यामरुक नाम रहन गएको तर्क गर्छन् । इतिहाससम्बन्धी पुस्तकहरूमा पनि ज्यामरुङ तथा ज्यामरुकको उल्लेख भेटिन्छ। सोमध्वज विष्टद्वारा लिखित ‘नेपाल गढ’ पुस्तकमा म्याग्दीका दरबाङ, अर्थुङ्गे, मलकबाङ र ज्यामरुङलगायतका कोटको उल्लेख गरिएको छ। त्यसै पुस्तकमा ‘जोंगुर’ नामकरण हुँदै ज्यामरुङबाट अपभ्रंश भएर ज्यामरुक नाम रहन गएको हुन सक्ने संकेत गरिएको छ।तर नाम कसरी रह्यो भन्ने विषयमा ठोस प्रमाण भने अझै भेटिन सकेको छैन । अर्को स्थानीय किंवदन्तीले ज्यामरुककोटको नामलाई मगर भाषासँग जोड्छ।


मगर भाषामा ‘ज्या’को अर्थ खानु वा खाएर र ‘मराङ’को अर्थ खेल्नु वा रमाउनु भन्ने भएकाले तत्कालीन समयमा गाईवस्तु चराउने, खेल्ने र रमाउने ठाउँका रूपमा ‘ज्यामराङ’ भनिन थालिएको र कालान्तरमा अपभ्रंश भएर ज्यामरुक नाम रहन गएको स्थानीयको भनाइ छ।
अवशेषले इतिहास सम्झाइरहेछन्
ज्यामरुककोटको इतिहाससँग जोडिएका धेरै संरचना अहिले अस्तित्वमा छैनन् । स्थानीयका अनुसार यहाँ कुनै समय राजदरबार, सुरक्षाका संरचना, हतियार राख्ने स्थान तथा अन्य महत्वपूर्ण संरचनाहरू थिए। तर संरक्षणको अभावमा ती संरचनाका अवशेषसमेत हराउँदै गएका छन् ।


ज्यामरुककोटमा राजा भर्तिबम मल्लले प्रयोग गरेको भनिएका केही खुँडा, तरबारलगायतका ऐतिहासिक सामग्री रहेको खड्गभवानी कोत तत्कालीन राजदरबारको सुरक्षाका लागि बनाइएको पर्खालमा प्रयोग भएका इँटा तथा ढुंगाका अवशेषसमेत पहिचान हुन नसकेको स्थानीय बताउँछन् ।

इतिहाससँग जोडिएको ‘वञ्चरेढुंगा’ समेत अहिले अस्तित्वविहीन भएको स्थानीयको भनाइ छ। राजा भर्तिबम मल्लका अङ्गरक्षकले हातहतियार उद्याउने स्थानका रूपमा प्रयोग गर्ने भनिएको उक्त ढुंगा अहिले देखिँदैन ।राजाले पानी खाने गरेको भनिएको ‘राजकुवा’समेत जीर्ण अवस्थामा पुगेको छ। स्थानीय बुद्धिजीवी टीकाबहादुर काकीको पहलमा त्यसको संरक्षण प्रयास भए पनि पर्याप्त हुन नसकेको बताइएको छ।


राजा भर्तिबमको अन्त्यसँग जोडिएको अर्को कथा
ज्यामरुककोटको इतिहासमा राजा भर्तिबम मल्लको अन्त्यसँग जोडिएको कथा झन् रोचक छ।स्थानीय किंवदन्तीअनुसार राजा मलेवम मल्लले आफ्नो भाइ भर्तिबमलाई ज्यामरुककोटको शासन सुम्पेका थिए। पछि दुई भाइबीच मनमुटाव बढ्यो । मलेवमले भर्तिबमलाई हटाउने योजना बनाए।


भर्तिबम आफ्ना केही सहयोगीसहित भागेर लामगरा अर्थात् लुंग्दी पुगे । त्यहाँ मलेवमका सेनाले उनलाई पक्राउ गरी शिरोच्छेदन गरेको किंवदन्ती स्थानीयमा प्रचलित छ।भर्तिबमको शिर कालीगण्डकीमा बग्दै गलेश्वरनजिक पुगेको र त्यही घटनासँग जोडेर बेनीमा शिवालय स्थापना गरिएको कथनसमेत पाइन्छ।

अर्को किंवदन्तीअनुसार भर्तिबमको हत्या गरेपछि मलेवमलाई गोत्रहत्याको पाप लागेको थियो । त्यसपछि दूध र भात खान खोज्दा रगत तथा किरा देखिने भएपछि उनले प्रायश्चितका लागि भर्तिबमको शिर ल्याएर बेनीमा शिवालय मन्दिर स्थापना गरी पूजाआजा गरेको विश्वास गरिन्छ।यही घटनासँग जोडेर मलेवमले आफ्ना गुरु प्रेमनिधि पन्तलाई ‘प्रायश्चित प्रदीप’ नामक पुस्तक लेख्न लगाएको स्थानीय इतिहासमा उल्लेख छ।


पर्वत राज्यमा विलय भएपछि फेरियो ज्यामरुककोटको भूमिका
विक्रम संवत् १८४३ मा बहादुर शाहको नेतृत्वमा तत्कालीन पर्वत राज्यका राजा कीर्तिबम मल्ल पराजित भएपछि ज्यामरुककोट पनि विस्तारै विशाल नेपालको राज्य व्यवस्थामा समाहित भएको इतिहासमा उल्लेख छ।त्यसपछि यहाँको प्रशासनिक तथा राजनीतिक भूमिका परिवर्तन हुँदै गयो। स्थानीय सरकारको संरचनाअन्तर्गत आइपुग्दासम्म ज्यामरुककोट एउटा ऐतिहासिक स्थलका रूपमा सीमित हुँदै गएको छ।आज यहाँ पूर्वाधार निर्माणको काम भइरहे पनि इतिहास झल्काउने मौलिक संरचना भने देख्न कठिन छ।


‘सम्पदा हराउँदै जानु सबैभन्दा ठूलो चिन्ता हो’
करिब पाँच सय वर्षको इतिहास बोकेको ज्यामरुककोटमा ऐतिहासिक महत्वका संरचना संरक्षण हुन नसक्दा स्थानीय चिन्तित छन् ।
ज्यामरुककोटको खड्गभवानी कोतका पुजारी हरिप्रसाद शर्माका अनुसार राजा भर्तिबम मल्लले प्रयोग गरेका भनिएका केही हतियारबाहेक धेरै पुराना सामग्री हराइसकेका छन् । तत्कालीन दरबारको सुरक्षाका लागि बनाइएको पर्खालका इँटा र ढुंगा पनि अहिले पहिचान गर्न कठिन छ।इतिहासविद् तथा स्थानीय जानकारहरूका लागि यो सबैभन्दा ठूलो चुनौती बनेको छ—इतिहासको कथा बाँकी छ, तर त्यो कथा प्रमाणित गर्ने सम्पदा भने हराउँदै छन् ।


‘नासिएर गएका सम्पदालाई फर्काउन नसके पनि यहाँको इतिहाससँग जोडिएका बाँकी प्राकृतिक तथा सांस्कृतिक सम्पदाको संरक्षण गर्न सक्नुपर्छ,’ स्थानीय बुद्धिजीवी एवम् खड्ग भवानी कोत गुठी व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर सुवेदीले बताउनुभयो । उहाँका अनुसार तीन तहका सरकारले चासो दिएर संरक्षणको काम अघि बढाउनुपर्ने आवश्यकता छ।


ज्यामरुककोटलाई इतिहासबाट पर्यटनतर्फ लैजाने तयारी
इतिहासमा सीमित रहेको ज्यामरुककोटलाई अब पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने स्थानीयको योजना छ। सोही अनुसार पूर्वाधार निर्माणका कामहरु भइरहेका छन् । बेनी नगरपालिका–२ का वडाध्यक्ष यामबहादुर काकीका अनुसार ज्येष्ठ नागरिक तथा स्थानीय बुद्धिजीवीसँग छलफल गरी ज्यामरुककोटको इतिहास, यहाँसँग जोडिएका घटना र सम्पदाबारे जानकारी संकलन गर्ने तयारी भइरहेको छ।

‘ज्यामरुककोट ऐतिहासिक ठाउँ हो भन्ने कुरा सबैले मानेकै कुरा हो। तर यहाँ कुन–कुन ठाउँमा कस्ता ऐतिहासिक घटना भएका थिए भन्ने कुरा बाहिर आउन सकेको छैन,’उहाँले भन्नुभो, ‘अब ती ऐतिहासिक घटनाका विषय बाहिर ल्याएर ज्यामरुककोटलाई ऐतिहासिक पर्यटकीय स्थल बनाउने अभियानमा छौँ ।’स्थानीयले ज्यामरुककोटको वृत्तचित्र तथा प्रोफाइल तयार गर्ने योजना पनि बनाएका छन् ।

Leave a Comment