म्याग्दी बहुमुखी क्याम्पसका विद्यार्थीले फुटबल खेलेर जितेको पुरस्कारको रकम भोजमा खर्च नगरी पहिरोपीडितको घाउमा मलम लगाएका छन्। क्याम्पस र स्वतन्त्र विद्यार्थी यूनियनको संयुक्त आयोजनामा सञ्चालित फाइभ ए साइड फुटबल प्रतियोगितामा बिजता बीबीएस र तृतीय वर्षका खेलाडीले प्रतियोगितामा प्राप्त पुरस्कारको रकमबाट बेनी नगरपालिका–३, छेपाराका पहिरोपीडित परिवारलाई १६ हजार रुपैयाँ नगद सहयोग गरेका छन् ।
प्रतियोगितामा प्रथम पुरस्कारबाट १० हजार र द्वितीय पुरस्कारबाट ६ हजार रुपैयाँ सहयोग गरेको स्वतन्त्र विद्यार्थी यूनियनका सभापति संगम घर्ती क्षेत्रीले बेनीअनलाइनलाई बताउनुभयो । सोही अवसरमा करिब १२ जना बालबालिकालाई पुग्ने लत्ताकपडा समेत वितरण गरिएको थियो ।
खेलकुदमार्फत प्राप्त पुरस्कारलाई विपद्मा परेका परिवारको सहयोगमा खर्च गर्ने यहाँहरूको उदार भावना प्रशंसनीय छ। खेलकुदसँगै मानवीय सेवा र सामाजिक उत्तरदायित्व निर्वाह गर्नुभएकोमा बीबीएस प्रथम तथा तृतीय वर्षका सम्पूर्ण खेलाडीलाई क्याम्पसका सहायक प्रमुख एवम् सूचना अधिकारी नारायण प्रसाद सुबेदीले धन्यवाद दिनुभएको छ ।











